काठमाडौं-नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकार गैर सरकारी संस्थाले आयोजना गर्ने कार्यक्रममा सहआयोजक बन्न व्यस्त रहेको आरोप लगाएका छन् । अन्तर्राष्ट्रिय गैर सरकारी संस्था आइक्यापको आयोजनामा आगामी मंसिर १५ र १५ गते काठमाडौंमा आयोजना गर्न लागिएको ‘एसिया प्यासिफिक समिट–२०१८’प्रति लक्षित गर्दै प्रवक्ता शर्माले गैर सरकारी संस्थाको पछि लागेर सरकार निरिह बनेको प्रमाण पेश गरेको आरोप लगाए ।
शनिबार काठमाडौंमा विशेष पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता शर्माले भने, ‘सुन्नमा आएको छ आइक्याप भन्ने अन्तर्राष्ट्रिय संस्थाले धर्म प्रचार गर्छ भन्ने छ। धर्म निरपेक्ष राज्य नेपालमा कुनै एक धर्मको प्रचार गर्न संविधानले पनि दिँदैन यस्तो अवस्थामा सरकार चाँही एनजिओको पछि लागेर सहआयोजक बन्दै हिँडिरहेको रहेछ ।’
‘विश्वका धेरै देशको उदाहरण लिन सक्छौं । जहाँपनि एनजिओ, आइएनजिओ देशको मातहतमा हुन्छ । तर, अहिले वर्तमान सरकार त आइएनजिओको मातहतमा रहेर कार्यक्रम सञ्चालन गर्न थालेको छ,’ प्रवक्ता शर्माले भने, ‘मैले पहिले पनि सोधेको थिएँ सरकार कहाँ छ भनेर, सरकार त सह आयोजक बन्न कार्यक्रम आयोजना गर्ने आइएनजिओको खोजिमा पो रहेछ ।’ उनले सरकारका यस्ता गतिविधि खेद जनकरहेको पनि बताए ।
न्यायका लागि जनताहरु अनशन बस्दा नबोल्ने सरकार, दिनदहाडै हत्या हुँदा मौन रहने सरकार आइएनजिओले गर्ने कार्यक्रमको सहआयोजक हुनु गम्भीर रहेको भन्दै प्रवक्ता शर्माले सरकार यति धेरै कमजोर भएको हो भन्दै प्रश्न गरे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४