काठमाडौं- पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत जावलाखेल र हिमालयन सेर्पाबिचको जारी खेलको पहिलो हाफ गोल गरिह बराबरीमा सकिएको छ । हल्चोकस्थित एपीएफ क्लबको खेल मैदानमा जारी खेलमा दुबै टोलीबाट गोल हुन नसक्दा पहिलो हाफ गोलरहित सकिएको हो ।
दुबै टोलीले निकैनै आक्रमक खेल प्रस्तुत गरेका थिए । आक्रमक खेल प्रस्तुत गर्दा गर्दै पनि टोलीका कुनै पनि खेलाडी गोल गर्न सकेनन् । लिगको तेस्रो चरणको खेल जारी रहदा जावलाखेल निकै कमजोर देखिएको छ ।
किनकि जावलाखेलले अघिल्ला दुई खेलमा पराजय व्यहोरेको छ । लिगको सुरुवाती दुई खेलमा अपेक्षा अनुसार प्रदर्शन गर्न नसकेको जावलाखेल पहिलो खेलमा विभागीय टिम नेपाल पुलिस क्लबसँग १-० ले पराजित हुँदा दोस्रो खेलमा संकटासँग २-० ले पराजित भएको थियो ।
यता, हिमालयन शेर्पा भने दोस्रो जितको खोजीमा हुनेछ । हिमालयन शेर्पा दोस्रो जितका लागि खराब लयबाट गुज्रिरहेको जावलाखेललाई शिकार बनाउने योजनामा हुनेछ ।
हिमालयन शेर्पाले पहिलो खेलमा विभागीय टोली एपीएफसँग बराबरी खेल्दै अंक बाडेको थियो । यस्तै दोस्रो खेलमा सरस्वती युथ क्लबलाई १-० ले हराएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४