डोल्पा- चिसो बढेसँगै डोल्पाको उत्तरी क्षेत्रका विद्यालयहरु बन्द भएका छन् । यस वर्षको शैक्षिक सत्र सकिएसँगै फोक्सुण्डो, डोल्पो बुद्ध र छार्कातासोङ् गाउँपालिकामा एक माध्यमिक, तीन आधारभूत (६–८) र २० वटा प्राथमिक गरी २४ वटा विद्यालय बन्द भएका हुन् ।
चिसो बढेसँगै बन्द भएका विद्यालय छ महीनापछि मात्रै खुल्छन् । प्रतिकूल मौसमका कारण जनजीवन कष्टकर हुने भएकाले कात्तिक अन्तिम साताभित्रै विद्यालय बन्द गरेर घर फर्केको क्रिष्टल माउण्टेन आधारभूत विद्यालयका शिक्षक गङ्गाराम कठायतले बताए।
'चिसोले बस्न नसकिने भएपछि प्रत्येक वर्ष कात्तिक अतिन्मतिरै त्यहाँका स्थानीय विद्यालय छ महीनाका लागि जाडो छल्न बेँशी झर्छन्', उनले भने।
शिक्षा विकास तथा समन्वय इकाइका इकाइ प्रमुख सिंहराज डाँगीले उपल्लो डोल्पामा कात्तिक लागेसँगै भारी हिमपातका कारण तापक्रम माइनसमा झर्ने र केही दिनसम्म हिमपात हुने भएकाले बालबालिका विद्यालयसम्म पुग्ने स्थिति नहुने बताए ।
अत्यधिक चिसोका कारण त्यहाँका स्थानीयवासी सबै बन्दोबस्तीका सामानसहित घरमा ताल्चा लगाएर जाडो छल्न बेंशी झर्ने र बालबच्चा पनि सँगै लैजाने गरेपछि सम्पूर्ण विद्यालय छ महिनाका लागि बन्द हुँदै आएका छन् । शैक्षिक सत्र सकिएसँगै उपल्लो डोल्पाका २४ विद्यालयका करीब दुई हजार ९०० विद्यार्थी घरमै रहेका छन् ।
आर्थिक हैसियत मजबुत भएका विद्यार्थी काठमाडौँ जाने गर्दछन् । जाडोयामको सदुपयोग गर्दै उतै विषयगत ज्ञान लिने गरेको शिक्षक कठायतको भनाइ छ ।
कमजोर आर्थिक अवस्था भएका विद्यार्थी अभिभावकसँगै तल्लो डोल्पाका दुनै, त्रिपुराकोट, लिकु, पहाडालगायतका विभिन्न स्थानमा जाडो छल्न झर्ने गर्दछन् । चिसो मौसम सकिएर गर्मी सुरु भएपछि चैत अन्तिमतिर मात्रै शिक्षक विद्यार्थीको जमघट हुने गर्दछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४