कठमाडौं– सरकारले विश्वविद्यालयको परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेशपत्र देखाएर कोभिड खोप लगाउने व्यवस्था मिलाए पनि त्यसले जोखिम नघट्ने भन्दै विद्यार्थीले परीक्षा स्थगित गर्न माग गरेका छन्।
परीक्षा केन्द्रमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नभएको र अहिले परीक्षा दिइरहेका विद्यार्थीले खोप लगाउँदा पनि कोभिड संक्रमण हुन सक्ने भन्दै विद्यार्थीले परीक्षा रोक्न सामाजिक सञ्जालमा अभियान चलाएरै माग गरेका छन्।
त्रिभुवन विश्वविद्यालय र यसका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा अध्ययरत विद्यार्थीले ‘आयु पुगे जान्छ रे! भौतिक परीक्षा रद्द गर, अनलाइन परीक्षा सञ्चालन गर’ जस्ता नारासहितको प्लेकार्ड बोकेको तस्विर सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्।
स्वास्थ्य मन्त्रालयले विश्वविद्यालयमा सञ्चालनमा रहेको परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई कोभिडविरुद्धको खोप उपलव्ध गराउने निर्णय गरेसँगै त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीले सरकारले यस्तो निर्णय गरेर त्रिविका परीक्षा सञ्चालनमा सहज बनाएको बताएका थिए।
त्रिभुवन विश्वविद्यालयले विद्यार्थी संख्या कम भएका परीक्षामात्र बाँकी रहेकाले भदौ ५ गतेसम्मका परीक्षा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै जारी राख्ने निर्णय गरेको छ। त्रिविलाई परीक्षा स्थगित गर्न चौतर्फी दबाब आए पनि विद्यार्थीको शैक्षिक वर्ष गुम्न सक्ने भएकाले सञ्चालनमा रहेका परीक्षा स्थगित गर्न नसकिने उनको भनाइ छ।
उता, जनस्वास्थ्यका विज्ञ शरद वन्तले भने खोप लगाउनै समस्या भएको र लगाउन पाए पनि अहिले नै जोखिम कम नहुने हुँदा परीक्षाकै क्रममा लगाइने खोपले समस्या समाधान नगर्ने बताए। भने, ‘विद्यार्थीले खोप लगाउन पाउनु आफैंमा राम्रो कुरा हो तर, परीक्षा केन्द्रित भएर लगाइएको खोपको कुनै अर्थ नै छैन। यसले त विद्यार्थीलाई झन् लापवबाही हुन प्रेरित गर्छ। खोप लगाए पनि शरीरमा एन्टीबडी बन्न समय लाग्छ। खोप लगाउनेवित्तिकै जोखिम कम हुने भन्ने हुँदैन।’
परीक्षा सञ्चालन हुँदा समस्या बढ्ने भन्दै जोखिम उच्च रहेकाले अहिले परीक्षाका कार्यक्रम स्थगित गर्न उनले सुझाव दिएका छन्।
त्रिविअन्तर्गत हाल स्नातक र स्नातकोत्तर तहका विभिन्न विषयको परीक्षा सञ्चालनमा छन्। यसअघि सामाजिक सञ्जालबाट चर्को विरोध भएपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा अनिश्चितकालका लागि स्थगित गरिसकेको छ। विद्यार्थी, विज्ञ तथा अभिभावकले भने सबै परीक्षा रोक्न दबाब दिने क्रम बढेको छ।
त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरिरहेको परीक्षा रोक्न सामाजिक सञ्जालमा #cancel_physical_exam भनेर अभियान चलिरहेको छ। ‘परीक्षा रोकौं, विकल्प खोजौं, ‘परीक्षा केन्द्रको भीड कोरोना महामारीको तेस्रो लहरको माध्यम नबनोस्’ भन्दै सरोकारवालाले दबाब दिइरहेका छन्।
-1628854677.jpg?p=480X320&s=6f38bf7cb9c843fef8bc8260fb19ec73)