शनिबार, साउन ९, २०८३

सारै राम्रा मैयाँका पिँडुला

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- ‘मैजु या पिलाके गुली बाला!’ नेवारी समुदायमा चर्चित गीतको अंश हो यो। यसको नेपाली अर्थ हुन्छ- यो मैयाँको पिँडुला कति राम्रो! यो गीतसँग ‘हाकुपटासी’ को प्रसंग जोडिएको छ। ‘हाकु’ को नेपाली अर्थ कालो हो भने ‘पटासी’ भनेको फरिया वा सारी।

नेवारी समाजमा छोटो गरी हाकुपटासी लगाउने चलन पुरानो हो। युवतीहरूले पिँडुला देखिने गरी हाकुपटासी लगाएको देखिन्छ। कालो फरियामा देखिने त्यही आकर्षक पिँडुलाको बयान गर्दै माथिको गीत रचना गरिएको हुन सक्छ। धारामा पानी भर्न जाँदा भुस र पिठोले धोएको पिँडुला सफा देखिन्थ्यो। पिँडुलाको सरसफाइ हेरेर पनि कन्याको विवाह गर्नेहरू पनि थिए कुनै बेला। हाकुपटासी नेवार समुदायको पुरानो र विशेष पहिरन हो। यो कैँची आकारमा लगाइन्छ। नेवार समुदायको मौलिक पहिरन सबैको आकर्षण बन्न थालेको छ।



खेतमा काम गर्दा पानीले भिज्ने भएकाले युवतीहरूले छोटो गरी हाकुपटासी लगाउने गरेको बताउँछन् वरिष्ठ संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगः। उनका अनुसार अन्य पहिरनको तुलनामा हाकुपटासी न्यानो हुने भएकाले किसान युवतीको रोजाइमा परेको हुन्छ। 

विगत सम्पन्न परिवारले आयातित कपडा लगाउँथे भने विपन्नले आफ्नै घरको तानमा बुनेका हाकुपटासी लगाउँथे। हाकुपटासी जाडोमा न्यानो र गर्मीमा पसिना सोस्ने विशेष फाइबर कपडाले तयार पारिएको हुन्छ। 

पूर्व मिस नेवाः सुनिता डंगोल आफूले सानै उमेरदेखि हाकु पटासी लगाउने गरेको बताउँछिन्। उनी अहिले पनि विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी हुँदा नेवारी पहिरन  नै लगाउँछिन्। हाकुपटासी सधैं उनको प्राथमिकतामा पर्दछ। उनी भन्छिन्, ‘कहिलेकाहीं हाकुपटासीको डिजाइनलाई परिस्कृत गरेर लगाउँछु ।’ अहिले विभिन्न सांस्कृतिक अवसरमा अन्य समुदयका युवतीले पनि हाकुपटासी लगाउन थालेका छन्। 

खेतमा काम गर्दा पानीले भिज्ने भएकाले युवतीहरूले छोटो गरी हाकुपटासी लगाउने गरेको बताउँछन् वरिष्ठ संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगः। उनका अनुसार अन्य पहिरनको तुलनामा हाकुपटासी न्यानो हुने भएकाले किसान युवतीको रोजाइमा परेको हुन्छ।


भक्तपुर देकोचाकी नानीमैया कुम्बाखाले सात वर्षको उमेरदेखि हाकुपटासी लगाउँदै आएकी हुन्।  हाकुपटासीको तानमा काम गर्दै आएकी उनी सानैदेखि यस्तो पहिरन लगाउन पोख्त छिन्। आफ्नो विवाह हाकुपटासीमै भएको याद छ उनलाई।

भक्तपुरकै २२ वर्षीया मञ्जु दुवालले पनि सानैदेखि हाकुपटासी लगाउँदै आएकी छन्। परिवारका सबै सदस्यले हाकुपटासी लगाउँदा ‘राम्री’ भनेपछि आफू यो पहिरनमा आकर्षित भएको उनले बताइन्। 
ललितपुर लुभुकी सानु महर्जन पूजा र चाडपर्र्वजस्ता विशेष अवसरमा मात्र हाकुपटासी लगाउने गरेको बताउँछिन्। उनी भन्छिन्, ‘विगतमा धेरैले लगाउँथे। त्यतिबेला परिस्थिति नै बेग्लै थियो। तर अहिले खासै लगाउन मन लाग्दैन।’
 
हाकुपटासीका नयाँनयाँ डिजाइन मात्र लगाउन मन पराउने युवती हुन् भक्तपुरकी रिजु श्रेष्ठ। उनले भनिन्, ‘मलाई हजुरआमाले लगाएर जसरी त लगाउन मन पर्दैन तर, नयाँनयाँ डिजाइन भने मन पर्छ।’ आफ्नो संस्कृति चिनाउने र आधुनिक पनि देखिने भएकाले नयाँ डिजाइन मनपर्ने उनले बताइन्। ७० वर्षीया लक्ष्मी किलम्बु जाडोयाममा हाकुपटासी नै लगाउँछिन्। जाडोमा विशेष न्यानो हुने भएकाले हाकुपटासी छोड्नै नसक्ने उनको भनाइ छ ।


पुराना तानमा बुनेका हाकुपटासी निकै बाक्लो र वजनदार हुन्थ्यो। तर अहिले मेसिनमा बुनिने हाकुपटासी पातला हुन्छन्। आधुनिक डिजाइनमा बुनेका पातलो हाकुपटासी अहिले धेरैको रोजाइमा पर्दछ। 

विदेशमा झन् आकर्षण

उपमा फुयाँल अहिले अमेरिकामा छिन्। त्यहाँ आयोजना हुने विशेष सांस्कृतिक अवसरमा उनी हाकुपटासी लगाउन मन पराउँछिन्। उनले भनिन्, ‘यहाँ त हाकुपटासी नेवारको मात्र नभई सबै नेपालीको पहिचान भएको छ ।’ भक्तपुर गोलमढीस्थित कारखानाकी मीना तचामोले अचेल विदेश जान लागेका अधिकांश युवतीहरू हाकुपटासी अर्डर गर्न आउने गर गरेको जानकारी दिइन्। 

रोपाइँदेखि र्‍याम्पसम्म

कुनै समय खेतमा रोपाइँ गर्दा र घर बस्दा लगाइने हाकुपटासी अचेल सुन्दरीहरूले र्‍याम्पमा प्रस्तुत हुँदा पनि लगाउने गरेका छन्। सहरी क्षेत्रमा आयोजना हुने विभिन्न सौन्दर्य प्रतियोगिता, फेसन सो आदिमा हाकुपटासीलाई पनि प्राथमिकता दिएको पाइन्छ। 

अब हाकुपटासी नेवार समुदायमा मात्र सीमित छैन। यो चलचित्रका नायिका र डिजाइनरको रोजाइमा पनि पर्न थालेको छ। नेवारी समुदायको विशेष पहिचान बनेको हाकुपटासीको लोकप्रियता स्वदेशमा मात्र हैन, विदेशमा पनि बढ्न थालेको छ। तसर्थ यसको उत्पादनमा विशेष प्राथमिकता दिनुपर्दछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।