काठमाडौं- विप्लव नेतृत्वको नेकपाले आज काठमाडौंमा जनसभा गर्दै छ।
काठमाडौंको भृकुटीमण्डपमा हुने जनसभाका लागि देशैभरबाट कार्यकर्ता काठमाडौं भेला भएका छन्। जनसभामा ५० हजार नागरिकको सहभागिता रहने नेकपाले जनाएको छ। दिउँसो साढे १२ बजेदेखि लैनचौर, बबरमहल र कालीमाटीबाट र्याली निस्कने जनाइएको छ।
जनसभामा प्रमुख वक्ताका रूपमा खड्गबहादुर विश्वकर्माले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। त्यस्तै नेकपाका अध्यक्ष ऋषि कट्टेल, नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले सम्बोधन गर्ने नेकपाका केन्द्रीय सदस्य चिरन पुनले जानकारी दिए।
‘सम्पूर्ण कम्युनिस्ट, वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्ति एक होऔं, वैज्ञानिक समाजवाद स्थापनाका लागि संघर्ष गरौं’ भन्ने मूल नाराका साथ जनसभा गर्न लागेको हो। सभामा पार्टीको भावी कार्यदिशासमेत सार्वजनिक गरिने नेकपाका केन्द्रीय सदस्य पुनले बताए।
आफ्नो पार्टी भूमिगत नभई खुलमखुला राजनीति गर्दै आएको नेकपाले जनाएको छ। विप्लव माओवादीले (नेकपा) र कांग्रेसलाई दलाल पुँजीवादका मतियार भएको भन्दै जनता र देशलाई धोका दिएको आरोप लगाएको छ।
यसैबीच सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीचको वार्ता अलमलमा परेको छ। सरकारले अधिकारसम्पन्न राजनीतिक वार्ता समितिमार्फत विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ताका लागि प्रयास गरे पनि अहिलेसम्म सफल हुन सकेको छैन।
सरकारले अधिकार सम्पन्न वार्ता समिति भने पनि नेपाल कम्युनिस्ट पार्टीले समितिलाई पत्याउन सकेको छैन। सरकारले समितिलाई अगाडि सारेर आफूहरूसँग वार्ताको नाटक गरिरहेको नेताहरूको आरोप छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४