जितपुर- गत वर्ष सम्पन्न प्रदेशभाको निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रदेशसभा सदस्यको स्वतन्त्र उम्मेदवार ३० वर्षीय दीपेन्द्रकुमार चौधरी (राजाबाबु) को गोली प्रहार गरी हत्या गरिएको छ।
जिल्लाको शुद्धोधन गाउँपालिका-४ मोतीभारीस्थित घर नजिकैको सडकमा अज्ञात समूहले शुक्रबार राति ९ बजे चौधरीलाई गोली प्रहार गरेको थियो। गोली लागेर गम्भीर घाइते भएका उहाँको लबनीस्थित स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका क्रममा भैरहवा पुर्याउँदा मृत्यु भएको पकडी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष पोख्रेलले जानकारी दिए।
गोली प्रहार भएको स्थानमा गोलीका तीन/चार खोका भेटिएको र केही शंकास्पद व्यक्तिलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको उनले जानकारी दिए। आन्तरिक झगडाका कारण तीन जनाको समूहमा आएका व्यक्तिले गोली हानी फरार भएको हुनसक्ने अनुमान गरिएको र खोजी कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ।
यसअघि सुनसरीको दुहबी नगरापालीका ९ छाताबेलीमा रहेको जयबाबा इट्टा उद्योगका म्यानेजर फिदा हुसेनको हत्या गरिएको थियो। दुर्इ महिनाअघि दक्षिणी सुनसरीको भुटाहा बजारमा मुस्लिम अगुवा खुर्सिद अन्सारीलाइ गोली हानी हत्या गरिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४