एजेन्सी- केहि साताको विश्रामपछि आज (शनिबार) बाट इन्ग्लिश प्रिमियर लिग फुटबल पुनः सुरु हुँदा आज विभिन्न सात खेलहरु संचालन हुँदैछ । युईएफए नेसन्स कप र मैत्रीपूर्ण खेलको कारण रोकिएको प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी, लिभरपुल, चेल्सी, म्यानचेस्टर युनाइटेड, टोटेनहम लगायतका शीर्ष तथा ठुला क्लबहरुले प्रतिस्पर्धा गर्दैछन् ।
शनिबार राति नेपाली समय अनुसार ८:४५ मा ठुला तीन खेल हुँदै छन् । साविकको विजेता सिटीले वेष्ट ह्याम युनाइटेड, वाट्फोर्ड र लिभरपुल र म्यानचेस्टर युनाइटेडले क्रिष्टल प्यालेससँग प्रतिस्पर्धा गर्दै छ ।
वेष्ट ह्यामविरुद्ध मैदान उत्रदा सिटी आफ्नो शीर्ष यात्रालाई कायम राख्न चाहन्छ । अपराजित सिटीले १२ खेलमा ३२ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । १२ अंक जोडेको वेष्ट ह्याम सिटीलाई घरेलु मैदानमा स्तब्ध बनाउने लक्ष्यमा हुनेछ ।
त्यस्तै लिगको दोस्रो स्थानमा रहेको लिभरपुलले वाट्फोर्डसँग उसैको मैदानमा खेल्दैछ । लिभरपुल वाट्फोर्डलाई हराएर अंक तालिकामा सिटीलाई दबाबमा राख्न चाहन्छ । लिभरपुलले १२ खेलबाट ३० अंक जोडेको छ ।
२० अंक जोडेको वाट्फोर्ड लिभरपुललाई रोक्दै अंक तालिका सुधारको लक्ष्यमा हुनेछ । म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा क्रिष्टल प्यालेससँग खेल्नेछ । यस सिजन खराब लयमा रहेको युनाइटेड क्रिष्टललाई पराजित गर्दै अंक तालिकामा सुधार गर्न चाहन्छ ।
युनाइटेड २० अंक जोडेर लिगको आठौं स्थानमा छ । क्रिष्टल ८ अंक जोडेर लिगको १६ औं स्थानमा छ । त्यस्तै लिगको अर्को ठुलो खेल नेपाली समय अनुसार राति ९:१५ मा सुरु हुनेछ ।
जहाँ चेल्सीले टोटेनहमको मैदानमा टोटेनहमसँग प्रतिस्पर्धा गर्दैछ । आज दुवै टोली जित्ने लक्ष्यसहित मैदान उत्रनेछन् । चेल्सी १२ खेलबाट २८ अंक जोडेर लिगको तेस्रो स्थानमा छ । यस्तै टोटेनहम २७ अंक जोडेर चौथो स्थानमा छ ।
प्रिमियर लिग अन्तर्गत नै अन्य खेलमा ब्राइटनले लेष्टर सिटी, एभर्टनले कार्डिफ सिटी र फुलहमले साउथह्याम्पटनसँग खेल्नेछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४