काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले राजधानीमा विशेष जिल्ला कमिटी बनाउने निर्णय गरेको छ ।
नयाँ बन्ने विशेष जिल्ला कमिटीहरु अबदेखि छुट्टै विशेष प्रदेश कमिटीको हैसियतमा कमिटी गठन गरी त्यसको मातहतमा परिचालन गर्ने निर्णय बैठकले गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न सचिवालय बैठकमा प्रदेश कमिटीको एकीकरण र गठनको पूर्णताका लागि सुझाव दिन गठित कार्यदलको प्रतिवेदनमाथि छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए ।
त्यसैगरी नेकपाले विशेष प्रदेश कमिटी पनि निर्माण गर्ने भएको छ । नेकपाले सातवटा प्रदेशबाहेक राजधानीमा छुट्टै ‘विशेष प्रदेश कमिटी’ पनि बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । मजदुर, विद्यार्थी, बुद्धिजीवी लगायतका संगठनका काम हेर्नेगरी विशेष प्रदेश कमिटी बनाउन लागिएको हो । यसअघि विशेष जिल्ला कमिटीमात्र बनाउने निर्णय गरेको थियो । अब प्रदेशमा छुट्टै कमिटी रहनेछ ।
नेकपाका महासचिव विष्णु पौडेल र नेता रामबहादुर थापा सदस्य रहेको कार्यदलले बिहीबारको बैठकमा सो प्रस्ताव पेश गरेको थियो। प्रवक्ता श्रेष्ठले भने, “प्रतिवेदनमाथि छलफल भयो। छलफल र सुझावका आधारमा आवश्यक पुनर्विचार गरी प्रतिवेदनलाई टुङ्गो लगाएको छ । टुङ्गो लागेको प्रतिवेदनलाई सचिवालयका तर्फबाट स्थायी समितिमा प्रस्तुत गर्ने निर्णय भयो ।”
प्रवक्ता श्रेष्ठले प्रदेश कमिटीको एकीकरणको विषयलाई टुङ्गो लगाएपछि साङ्गठनिक एकीकरण र कार्यविभाजन हुने जानकारी दिनुभयो । साथै अगामी बैठकमा सरकार, पार्टी र संसद् सञ्चालनसम्बन्धी समीक्षा गरी नयाँ कार्ययोजना बनाउने उनले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४