काठमाडौं- नेपालीमा उखान छ, १२ बर्षमा खोला पनि फर्कन्छ। तर यो उखानलाई चरितार्थ गर्न कांग्रेसमा विरासतको राजनीतिक गर्ने कोइराला परिवारसँगको बिग्रिएको सम्बन्ध सुमधुर बनाउन कांग्रेसका युवा नेता गगन कुमार थापालाई भने करिव १४ बर्ष पर्खिनु परेको छ।
तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले ९ जेठ २०५९ मा प्रतिनिधिसभा भंग गरी असार पहिलो साता नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेसँगै नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालासँग नेविसंघको महामन्त्रीको हैसियतले सुमधुर सम्बन्ध स्थापित गरेका गगन कुमार थापाको सम्बन्ध पुन जोडिन १४ बर्ष लागेको हो।
गिरिजापुत्री सुजाता कोइराला र युवा नेता थापाबीच शुक्रबार अपरान्ह ४ बजेदेखि करिव ४५ मिनेटसम्म गोप्य भेटघाटले सम्बन्ध सुमधुर बनाउने पहिलो खुड्किलोको रुपमा लिइएको छ। नेविसंघको महामन्त्री हुँदा तत्कालिन राजा ज्ञानेन्द्र र तत्कालिन प्रधानमन्त्रीहरु सूर्यबहादुर थापा र शेरबहादुर देउवा नेतृत्वको सरकारविरुद्धको आन्दोलनमा थापाले पार्टी नीति विपरित गणतन्त्रको नारा लगाएको भन्दै पार्टी नेतृत्व असन्तुष्ट बनेको थियो।
कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई दबाब दिन लगाएर गणतन्त्रको माग गर्ने उनै गगनलाई पदबाट राजिनामा दिन समेत दबाब थियो तर उनले राजिनामा दिन इन्कार गरेपछि तत्कालिन नेतृत्वसँग सम्बन्ध सुमधुर बनाएका अध्यक्ष गुरुराज घिमिरे नेतृत्वको नेविसंघलाई २०६१ साल असारमा पदमुक्त गरिएको थियो।
१९ माघ २०६१ मा तत्कालिन राजा ज्ञानेन्द्रले शाही शासन लागू गरेपछि कांग्रेसले गणतन्त्रको लाइन लिएको थियो। तर पनि थापासँग कोइराला परिवारका सदस्यको सम्बन्ध समदुरीमा रहेपनि सुमधुर बन्न सकेको थिएन। २०७२ सालमा फागुनमा भएको पार्टीको १३ औं महाधिवेशनमा बीपी पुत्र डा शशांक कोइरालाको महामन्त्रीमा दिएको उम्मेदवारीलाई थापाले चुनौति दिएपछि कोइराला परिवार उनीसँग झन रुष्ट बनेको थियो।
१४ महाधिवेशनबाट सभापति बनेका देउवाको कार्यशैलीप्रति युवा नेता थापाले फेरि असन्तुष्टी मात्र होइन, नेतृत्व परिवर्तनको अभियान नै चलाए। देउवाप्रति तठस्थ बसेको कोइराला परिवारका सदस्य समेत यतिबेला मोर्चाबन्दीमा लागेपछि युवा नेता थापा पुन कोइरालासँगको सहकार्य र सम्बन्ध सुधारमा लागेका हुन्।
देउवाकैविरुद्ध कुनै बेला कोइराला परिवारका सदस्यको विश्वास पात्र बनेका थापा १४ बर्षपछि उनै देउवाविरुद्धको मोर्चाबन्दीमा एकै ठाउँमा रहने सम्भावना घटनाक्रमले देखाउन थालेका छन्। दुई साताअघि मात्रै गिरिजाप्रसाद पुत्री सुजाताले सभापति देउवाइत्तरका प्रभावशाली नेतालाई दिवा भोजको आयोजना गरेकी थिइन्।
एक साताअघि मात्रै सुजाताले बिराटनगरमा गएर बीपी पुत्र डा शशांक, नोना पुत्र डा शेखर कोइरालासँगै बसेर कोइराला परिवारका सदस्यहरु पार्टीमा एकजुट भएर अघि बढ्ने घोषणा गरेका थिए। पिता गिरिजाप्रसादले अघि बढाएको सहमति, सहकार्य र एकताको नारालाई मूर्त रुप दिँदै गणतन्त्र र संघीयतालाई संस्थागत गर्न भन्दै सुजाताले भेटघाटलाई एक महिना यता तिव्र बनाएकी छन्।
पिताको नाममा खोलिएको गिरिजाप्रसाद कोइराला स्मृति प्रतिष्ठानको नाममा सुजाताले कांग्रेसको राजनीतिक गतिविधि र भेला नियमित गर्न थालेकी छन्। उनले यसअघि सभापति देउवाविरुद्ध खनिएका पूर्वमहामन्त्रीहरु प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलासँग एक्लै आफ्नै निवास मण्डिखाटारमा भेट गरिसकेकी छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४