काठमाडौं- प्रथम राष्ट्रपति डा रामवरण यादवले स्थानीय तह र संसदीय निर्वाचनमा लाखौं र कराडौं खर्चको स्रोत पारदर्शी नभएको र उम्मेदवार चयन गर्दा बिक्री नै हुने गरेको गुनासो गरेका छन्।
पत्रकार जगत नेपालद्वारा लिखित पुस्तक ‘बीपीको विद्रोह’को शुक्रबार राजधानीमा विमोचन गर्दै प्रथम राष्ट्रपति डा यादवले कांग्रेसले समानुपातिक उम्मेदवारको चयन गर्दा पैशा लिएको दाबी गरे।
‘आज कांग्रेसमा खाली गुटको राजनीति भएको छ। जुन प्रकारले अहिले चुनावमा खर्च भइरहेको छ, यसको स्रोत के हो?’, डा यादवले प्रश्न गरे, ‘वडा नम्बर २० देखि २५ लाख र संसदीय चुनावमा करौडौं रुपैयाको स्रोत के हो? समानुपातिक उम्मेदवार बनाउँदा पैशा किन लिएको?’उनले आफू विगतमा कांग्रेस भएकोले कांग्रेसमा देखिएको बेथिति हेरेर बस्न नसकेको बताए।
‘अब कांग्रेसले विभेदको राजनीतिलाई अन्त्य गर्नुपर्छ। संवैधानिक अंगलाई मिलाउन सक्नु पर्छ’ उनले भने, ‘पैशामा उम्मेदवार बनाएपछि मलाई पोल्छ। मैले यहाँ नबोलेर कहाँ बोलौं? म कांग्रेस भनेर यो बोलिरहेको छैन्।’ कांग्रेस महामन्त्री समेत रहेका बीपी पुत्र डा शशांक कोइरालाले आफूहरु भारतमा निर्वासित हुँदा चनाको झोल खाएर संगठन गरेको भने पनि हाल त्यस्तो दुख बिर्सिएको टिप्पणी गरे।
उनले कांग्रेसका नेताहरु काठमाडौं केन्द्रित भएको र जिल्लामा कार्यक्रममा उडेर जाने र एक दिन नबसी फर्कने गरेको गुनासो गरे। नेपाल विद्यार्थी संघको २०३६ सालमा जनकपुरमा भएको दोश्रो महाधिवेशनको बेला बीपी कोइरालाल १० दिनसम्म बसेको स्मरण गर्दै यादवले कांग्रेस महासमिति बैठक काठमाडौंमा राखेर नेतृत्वले पार्टीलाई काठमाडौंमै सीमित गरेको गुनासो गरे।
‘कांग्रेसको महासमिति बैठक काठमाडौंमा रे। वाफ रे वाफ। किन जनकपुर वा वीरगंजमा आयोजना हुन सकेन?’ उनले भने,‘गाउँको कार्यकर्तासँगको सम्वन्ध सुमधुर हुन नसक्ने र मधेशको कमजोर संगठन बलियो हुन सक्दैन।’ उनले मातृकाप्रसाद कोइरालालाई अध्यक्षबाट हटाउँदा समेत जनकपुरकै बैठकबाट भएको स्मरण गरे।
उनले बीपीलाई पञ्चहरुले समेत राष्ट्रबादी नेताको रुपमा स्वीकारेको बताए। भने ‘कालीकोटबाट आएको एक जना प्रधानपञ्चले १० हजार रुपैयाँ लिएर आएका थिए। बीपीलाई भेटेर म पञ्च छु तर राष्ट्रको लागि तपाई बाँच्नु पर्छ भनेर कालीको पुजा गरेर ल्याएको भनेर १० हजार रुपैयाँ उपचार खर्च भनेर दिएका थिए।’
आफू पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईभन्दा बढी क्रान्तिकारी भएको दाबी गरे। आफूले संविधान जारी गर्दा कांग्रेस भित्रैबाट रामवरणले पदमा बस्नको लागि समय लम्ब्याउन खोजेको आरोप लगाइएको गुनासो गरे। ‘मैले संविधानलाई सबैले स्वीकार्ने अवस्था बन्छ भने केही दिन पर्खौं भन्दा संविधान घोषणा गर्न ढिलाई गर्न खोजेको आरोप ममथि किन आरोप लगाइयो?’, डा यादवले प्रश्न गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४