जनकपुरधाम- भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले रामजानकी विवाह पञ्चमीको अवसर पारेर जनकपुर-जयनगर रेल खण्डको उद्घाटन गर्ने प्रकरण अहिले चर्चामा छ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगीले भारतीको आर्थिक र प्राविधिक सहयोगमा नवनिर्मित ब्रोडगेज रेल खण्ड उद्घाटन गर्ने खबर सञ्चारमाध्यममा सार्वजनिक भएलगत्तै मर्यादाक्रमका बारेमा प्रश्न उठ्न थालेका छन्।
यसअघि नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले समेत राष्ट्रिय महत्वको आयोजनाको उद्घाटन भारतको प्रान्तीय मुख्यमन्त्रीले गर्नु लज्जास्पद रहेको बताउँदै सरकारसँग जबाफ मागेका थिए। तर प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले भने उत्तर प्रदेशका मुख्यमन्त्री योगीले रेल उद्घाटन गर्ने कुरा अहिलेसम्म हावामात्र रहेको प्रतिक्रिया दिएका छन्।
प्रदेशसभा बैठकमा यसबारे स्पष्ट पार्न सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै कानुनमन्त्री यादवले भने,‘योगी जनकपुर आउनु, रेल उद्घाटन गर्नु यी सबै कुरा संघीय सरकारले तय गर्ने हो। परराष्ट्र मन्त्रालयले अहिलेसम्म हामीलाई केही जानकारी गराएको छैन्। जानकारी गराएपछि हामी सबै कुरा सार्वजनिक गर्छौं।’
योगीले रेल उद्घाटन गर्नेबारे बाहिर आएका सबै कुरा हावामात्र रहेको उनको भनाइ थियो। तर, केही दिनअघि मात्र उनले सञ्चारमाध्यमलाई भनेका थिए,‘योगीको जनकपुर भ्रमणको नेतृत्व प्रदेश सरकारले गर्दैछ। र, हालसम्म तय कार्यक्रम अनुसार उनको रेल उद्घाटन गर्ने कार्यक्रम छ।’
शुक्रबार प्रदेश २ को प्रदेशसभामा पनि नेपाली कांग्रेस र नेकपाका सांसदहरुले पनि यसबारे स्पष्ट पार्न प्रदेश सरकारसँग माग गरेका छन्। बैठकमा बोल्दै नेकपा सांसद शत्रुध्न महतोले जनकपुर-जयनगर रेल खण्डको उद्घाटन उत्तर प्रदेशका मुख्यमन्त्री योगीले गर्नु आपत्तिजनक रहेको बताए।
‘विवाह पञ्चमीमा पहिले भारतीय प्रधानमन्त्री मोदी त्यसपछि गृहमन्त्री राजनाथ सिंह आउने सुनियो,’ महतोले भने,‘अब योगी आउने कुरा सुनिँदैछ, प्रदेश सरकारले यसबारे यथार्थकुरा सार्वजनिक गर्नु पर्यो।’
जनकपुर-जयनगर रेल मुलुककै लागि ऐतिहासिक रहेको भन्दै सांसद महतोले भने,‘यसको उद्घाटन कमसेकम दुई देशका प्रधानमन्त्री वा संवद्ध मन्त्री अथवा परराष्ट्र मन्त्रीबाट हुनु पर्दछ।’
यो पनि पढ्नुहोस्, उत्तर प्रदेशका मुख्यमन्त्री योगीले रेल उद्घाटन गर्ने
यसैगरी कांग्रेस सांसद शिवचन्द्र चौधरीले उत्तर प्रदेशका मुख्यमन्त्री जनकपुर आउनु खुशीको कुरा रहेपनि रेलको उद्घाटन योगीबाट हुनु दुखद रहेको बताएका थिए। राष्ट्रिय गौरवको आयोजनाको उद्घाटन भारतको प्रान्तीय मुख्यमन्त्रीबाट हुनु मर्यादाक्रमविपरित रहेको उनको भनाइ थियो।
‘नेपाल कहिले पराधीन हुनु परेको छैन,’ सांसद चौधरीले भने,‘दुई देशको राष्ट्रिय महत्वको आयोजना मुख्यमन्त्रीले गर्ने कुरा अझै स्वाधीन हुन नसकेको अनुभूति दिन थालेको छ।’ उत्तर प्रदेशका मुख्यमन्त्रीले रेल उद्घाटन गर्ने कसरी बाहिर आएको भन्दै यसबारे सत्यतथ्य सार्वजनिक गर्न उनले माग गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४