जनकपुरधाम- लोकतान्त्रिक प्रक्रियामा प्रतिपक्षी दलले सरकारको विरोध र आलोचना गर्नु सामान्य मानिन्छ। सरकारको गलत निर्णय तथा कार्यशैलीप्रति प्रतिपक्षी दलले प्रश्न उठाउनु र विरोध गर्नु लोकतान्त्रिक प्रणालीको गहना नै हो।
तर, सरकारको कामकारबाहीप्रति सत्ता साझेदार दलकै सांसदहरुले आलोचना गर्नु पक्कै पनि सामान्य कुरा होइन्। प्रदेश २ का सत्ता साझेदार दलका सांसदहरुले सरकारको काम कार्यबाहीप्रति तिखो आलोचना गर्न थालेका छन्।
सरकारले समृद्धि र विकासको नारा दिएपनि व्यवहारमा उतार्न नसकेको भन्दै सत्ता साझेदार दलका सांसदहरुले प्रदेश सरकारको तिखो आलोचना गरेका हुन्। सरकारको पछिल्लो कामकार्यबाहीका कारण जनता सामु झुटो बोल्ने अवस्था आइसकेको उनीहरु बताउँछन्।
झण्डै एक महिना दश दिनपछि शुक्रबार बसेको प्रदेश २ को प्रदेशसभामा बोल्दै सत्तासाझेदार दलका सांसदहरुले प्रदेश सरकारको चर्को आलोचना गरेका छन्। रौतहटबाट निर्वाचित राजपाका सांसद बाबुलाल साह कानुले सरकारको कामकार्यबाहीको बारे जिज्ञासा राख्दा झुटो बोलेर टार्ने अवस्था उत्पन्न भइसकेको बताए।
‘विकास निर्माणदेखि सरकारको अन्य कामकार्यबाहीबारे मतदाताले सोध्न थालेका छन्,’ कानुले भने,‘एक वर्षभित्र नयाँ घर पनि तयार हुन्छ। तर प्रदेश सरकारले चुक गरेको छ। ’
‘क्षेत्रमा पुगेपछि सरकारले के के गर्यो भन्दै प्रश्न तेस्र्याउन थालेका छन्,’ उनले भने,‘झुटो बोलेर उहाँहरुलाई भुल्याउनु पर्ने अवस्था आएको छ। कहिले सचिवको सरुवा त कहिले नयाँ योजनाहरु बन्दै छ भनेर वहाना बनाउनु परेको छ।’
प्रदेश २ का नागरिकले सरकार भएको आभास गर्न नसकेको बताउँदै सांसद कानुले शिलान्यास र पूजापाठ जस्ता कार्यक्रमहरुमा सहभागिता कम गर्न सरकारका मन्त्रीहरुलाई सुझाए। ‘शिलान्यस र उद्घाटनजस्ता कार्यक्रममा नगएर जनतालाई अनुभूति हुनेगरी कार्यक्रम ल्याउनुस,’ उनले मन्त्रीहरुलाई सुझाए।
चालु आर्थिक वर्षको प्रथम चौमासिक बितिसकेपनि प्रदेश सरकारले विकास निर्माणको कुनै योजना अगाडी बढाउन नसकेको भन्दै उनले भने,‘यस्तै गतिमा हिँडे प्रदेशको समृद्धि नारामै सीमित रहने पक्का छ।’
मालपोतदेखि ऋण लिन बैंकहरुमा कमिसनको खेल चलिरहँदा समेत प्रदेश सरकारले आफ्नो अधिकार प्रयोग गरेर रोक्न नसकेको अवस्था देखिएको उनले बताए। यसैगरी राजपाका अर्का सांसद रानीशर्मा तिवारीले पनि प्रदेश २ को समृद्धिको आधार कृषि रहेपनि हालसम्म सरकारले यस क्षेत्रमा केहि गर्न नसकेको आरोप लगाइन्।
‘किसानहरु अहिले खेतमा धान काट्दै छन्,’ तिवारीले भनिन्,‘धान काटिरहेका किसानहरु गहुँको बिउ नपाएर विचल्लीमा छन्। तर, सरकारलाई चिन्ता लागेको जस्तो देखिँदैन्।’ मल खाद्यमा हुने कालाबजारी नियन्त्रण गर्नसमेत सरकार असफल भएको उनको आरोप थियो।
दोस्रो चौमासिकसम्म आइपुग्दासमेत सरकारले कार्यविधि तयार गर्न नसक्दा फेरीपनि अषाढे विकासमा रकम खर्च हुने निश्चित प्रायः रहेको भन्दै तिवारीले यस्तै गतिमा सरकार अगाडी बढे समृद्धि कुनै हालतमा संभव नरहेको बताए।
शहरी विकास कार्यालयमार्फत भइरहेका विकास निर्माणका कार्यहरुमा ठेकेदारले व्यापक लापारबाही गरिरहँदा समेत प्रदेश सरकारले केहि बोल्न नसकेको उनको आरोप थियो।
राजपाका सांसद जानकी रमण साहले रातु नदीले महोत्तरीमा वर्षायाममा बितण्डा मचाइरहेकोले नियन्त्रणतर्फ ध्यान दिन पटकपटक आग्रह गरेपनि प्रदेश सरकारले सुनवाइ नगरेको आरोप लगाए। ‘पप्पु’ कन्स्ट्रक्सनको लापारबाहीले तीन वर्षमा पनि रातु नदीमा पुल निर्माण हुन नसकेको भन्दै कारबाही गर्न उनले प्रदेश सरकारसँग माग गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४