काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र र स्वर्गीय राजा वीरेन्द्रले राजनीतिक र कूटनीतिक भेटघाटका लागि निजी कार्यालयका रुपमा प्रयोग गर्दै आएको नारायणहिटी संग्रहालयभित्रका गणेश हिमालतर्फका ९ वटा कक्ष खुलेका छन् । पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको उपस्थितिमा शुक्रबार ती कक्षहरू खुला गरिएको हो।
गणेश हिमालतर्फका सप्तरी, सुनसरी, सिरहा, धनुषा, पर्सा, कपिलवस्तु, झापा, इलाम, सिन्धुली कक्ष कक्ष खुला गरिएको हो। लामो समयको प्रयासपछि पुरातत्त्व विभागले ती कक्ष खुला गरेको हो। देशमा विषम परिस्थिति हँुदा पूर्वराजा ज्ञानेन्द्रले समेत गणेश हिमाल तर्फका विभिन्न कक्षमा अति गोप्य भेटघाट गर्दथे।
कार्यालय समयपछि खुला हुने ती कक्षमा गोप्य कुराकानीका लागि प्रयोग गर्ने गरिएको थियो । गणेश हिमाल कक्ष नजिक गोप्य रुपमा सवारीसाधन प्रवेश गरेपछि कुन समयमा कोसँग भेटघाट गर्ने भन्ने विषय अन्य कसैलाई जानकारी हुँदैन थियो।
देशमा २०६२-२०६३ सालको आन्दोलन चर्किएको बेला पूर्वराजा ज्ञानेन्द्रले गणेश हिमाल कक्षको विभिन्न कोठामा विभिन्न निकायका उच्च राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रमुख, राजदूतलगायतका उच्च अधिकारीसँग विशेष भेटघाट गर्ने गरेका थिए।
झापा र इलाम कक्षमा पूर्वराजाको अति गोप्य भेटघाटका रुपमा प्रयोग गरिन्थ्यो। पुर्वराजाले ती कक्षहरुमा आफ्ना केही निजी कर्मचारी बाहेक अन्यलाई प्रवेशमा पूर्ण रोक लगाइएको थियो ।
इलाम कक्षमा पूर्वराजाले हरेक साता बिहीबार प्रधानमन्त्रीसँग गोप्य भेटघाट गर्थे।

सुनसरी कक्षमा छाया दर्शन र जनैपूर्णिमामा रक्षा बन्धन लगाउन प्रयोग गरिन्थ्यो। सिन्धुली कक्ष तत्कालीन रानी ऐश्वर्यको शृंगार कक्षका रुपमा प्रयोग गरिएको थियो । सप्तरी कक्ष पूर्व राजा वीरेन्द्र र ज्ञानेन्द्रको जन्मोत्सवमा आमा रत्नलाई सँगै राखेर भोजन गराउने कक्ष हो।
सिरहामा आराम गर्ने र धनुषामा खाना खाएपछि आराम गर्ने कक्ष रहेको थियो । नारायणहिटी संग्रहालय खुलेको करिब एकदशक पछि थप ९ वटा कक्षसहित २४ कक्ष खुला भएको पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहालले बताए।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०६५ साल असार १ गते नारायणहिटी दरबारलाई संग्रहालय बनाउने घोषणा गरेलगत्तै २०६५ फागुन १५ देखि संग्रहालयका रुपमा सर्वसाधारणका निम्ति खुला गरिएको थियो।


प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४