कञ्चनपुर- छोरी निर्मलाको हत्यारा पहिचान गरी कारबाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका यज्ञराज पन्तको मानसिक सन्तुलन गुमेको आशंका गरिएको छ।
धर्नामा बसिरहेका बेला शुक्रबार बिहानैदेखि असन्तुलित कुराकानी गर्दै आएका यज्ञराज अपराह्न धर्नास्थलबाट उठेर सडकमा निस्किएका छन्। असामान्य गतिविधि गर्दै हिँडेपछि उनको मानसिक असन्तुलन गुमेको आशंका गरिएको छ।
जिन्दाबाद, मूर्दाबाद भन्दै सडकमा हिँडिरहेका उनलाई केही महिलाले सम्हाल्न खोजे पनि उनी बरबराएजसरी हिँडेका थिए। प्रहरीको सहयोगमा उनलाई नियन्त्रणमा लिएको थियो। कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी कृष्ण ओझाका अनुसार चिकित्सकहरूले उनको गतिविधिबाट मानसिक अवस्था गुमेको आशंका गरेको बताएका छन्।
यज्ञराजलाई भीडभाडमा नराखी एकान्तमा राख्न सल्लाह दिएको जानकारी पनि डिएसपी ओझाले दिए। तर यज्ञराजको मानसिक अवस्थाबारे स्वास्थ्य परीक्षण भने गरिएको छैन।
कञ्चनपुरको भीमदत्तनगरपालिका-२ खोल्टीकी १३ वर्षीया निर्मलाको गत साउन ११ गते उखुबारीमा शव फेला परेको थियो। अघिल्लो दिन साथीकहाँ गृहकार्य गर्न गएकी उनको भोलिपल्ट शव भेटिए पनि अहिलेसम्म उनको हत्या कसले गर्यो भन्नेमा सत्य तथ्य बाहिर आएको छैन।
नेपाल प्रहरी, गृह मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग लगायतबाट हत्याका सम्बन्धमा छानबिन गर्न बनेका विभिन्न समितिले उनका हत्यारालाई पहिचान गर्न सकेका छैनन्। प्रहरीबाटै हत्याको प्रमाण नष्ट गरेको आरोप लागेपछि सरकारले कञ्चनपुरका तत्कालीन एसपी डिल्ली बिष्टलाई लिनम्बन गरेको छ। हत्याको झन्डै चार महिना पूरा हुन लाग्दा पनि छोरीले न्याय नपाएपछि यज्ञराज दम्पती जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४