काठमाडौं- पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आर्मीले नेपाल पुलिस क्लबविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । सातदोबाटोस्थित एक्फा कम्प्लेक्समा जारी खेलमा आर्मीले पुलिसविरुद्ध १-० को अग्रता लिएको हो ।
पहिलो हाफमा आर्मीलाई अग्रता दिलाउन टेक बहादुर बुढाथोकीले गोल गरेका थिए । उनले पहिलो हाफको ३० औं मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । उनले टंक बस्नेतको पास सदुपयोग गरेका थिए ।
उनी भर्खरै मात्र समय नेपाल आर्मीको शान्ति मिसनबाट फर्किएका थिए । दुई विभागिय टोली आर्मी र पुलिसको खेल निकै नै आकर्षकको रुपमा हेरिएको थियो । आज दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
लिगमा दुवै टोलीले २ खेलबाट समान ४-४ अंक जोडेका छन् । दुवै टोलीले यसअघि एक खेलमा बराबरी र एक खेलमा जित निकालेका थिए । आर्मी पहिलो खेलमा एनआरटीसँग २-२ को बराबरीमा रोकिएको थियो भने दोस्रो खेलमा च्यासललाई १-० ले हराएको थियो ।
यता पुलिसले पहिलो खेलमा जावलाखेललाई १-० ले हराएपनि दोस्रो खेलमा मछिन्द्रविरुद्ध गोलारहित बराबरीमा रोकियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४