काठमाडौं–राजधानीबाट शुक्रबार प्रकाशित दैनिक पत्रिकाले डडेलधुरामा भएको दुर्घटना, गाईगोरुको जन्मदर्ता गराउन एप सार्वजनिक, अस्पतालले कोमाका बिरामीलाई सुटुक्क ल्याउन थालेकोलगायतका समाचारलाई प्राथमिकताका साथ छापेका छन् ।
अन्नपूर्ण पोस्ट दैनिकले भारतले नेपालका खोला बेचेको खबरलाई मुख्य बनाएको छ । समाचारमा लेखिएको छ, भारतले नेपालको एउटा खोला चिनियाँ कम्पनीलाई बेचेको छ ।
भारतीय कम्पनी जीएमआरले माथिल्लो मस्र्याङदी २ जलविद्युत आयोजनाको लाइसेन्स ११ वर्ष होल्ड गर्दै थियो । सोही आयोजना उसले अहिले तीन अर्ब रुपैयाँमा चिनियाँ कम्पनीलाई बेचेको छ । ६ सय मेगावाटको यो आयोजना हङकङमा मुख्यालय रहेको सिचुवान इन्भेस्टमेन्ट ग्रुपलाई बेचेको हो।
त्यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली प्राय विदेशमै रहेको खबर पनि उच्च प्राथमिकतामा छ । परराष्ट्रमन्त्रालयको जिम्मेवारी सम्हालेका ज्ञवालीले आठ महिनाको अवधिमा ६४ दिन बिदेसमै बिताएका छन् । त्यस्तै वाइड बडी किन थन्किएभन्दै प्रधानमन्त्रीले राखेको चासोलाई प्राथमिकताका साथ छापिएको छ ।
कान्तिपुर दैनिकले अस्पतालहरुले कोमाका बिरामीलाई सुटुक्क ल्याउने गरेको खबरलाई मुख्य बनाएको छ । आर्थिक लाभका लागि ओम समाज अस्पतालले परिवारलाई नै थाहा नदिई कतारबाट कोमाका बिरामी ल्याउने गरेको छ । त्यस्तै सर्वोच्च अदालतले फेवातालमाथि केबलकार नबनाउन आदेश दिएको छ । सर्वोच्चले ६ महिनाभित्र फेवातालको चार किल्ला कायम गर्न, व्यक्तिका नाममा दर्ता भएको जग्गा एक वर्षभित्र बदर गर्न र तालको ६५ मिटरभित्र कुनै संरचना नबनाउने आदेश दिएको छ । त्यस्तै गाई गोरु पाल्नेका लागि जन्मदर्ता गराउ नयाँ एप्स सार्वजनिक गरिएको छ ।
नागरिक दैनिकले होलसेलमा तरकारी किनेर अर्गानिक भन्दै बिक्री गर्ने गरेको समाचारलाई मुख्य रुपमा छापेको छ । सहकारी संस्थामार्फत सञ्चालनमा रहेको कृषि फ्रेस काठमाडौंमा अर्गानिक तरकारी उपलब्ध गराउने पसलका रुपमा ९ वर्षदेखि परिचित संस्थाले होलसेलका तरकारी किनेर अर्गानिक भन्दै आएको खुलेको छ । त्यस्तै जनसत्ताका लिखत द्वन्द्वको बिउ फैलिँदै गरेको समाचार पनि मुख्य रुपमा छ ।
नयाँ पत्रिकाले फेसबुकले मात्र वर्षमा १३ अर्ब लैजाने गरेको समाचारलाई मुख्य रुपमा छापेको छ । सुन भरियालाई तीन वर्षमा जेलसहित ४३ करोड जरिवाना भएको खबर, तेलदेखि रेलसम्म नै सरकार असफल भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आरोप रहेको खबरलाई मुख्य बनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४