काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीको बैठक बिहीबार पनि स्थगित भएको छ।
बैठक शुक्रबार दिउँसो फेरि बस्ने जनाइएको छ। बैठकमा महासचिव विष्णु पौडेल र नेता रामबहादुर थापा सदस्य रहेको कार्यदलले आफ्नो प्रतिवेदन बुझाएका छन्।
पार्टीभित्रका २१ केन्द्रीय सदस्यले ज्ञापनपत्र बुझाएको आन्तरिक विवाद चुलिएकै अवस्थामा बिहीबार हाइकमान्ड बोलाइएको थियो। पटक-पटक बस्दै र सर्दै आएको हाइकमान्ड बैठक कुनै निष्कर्ष विना नै स्थगित गरिएको हो।
बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, जनसङ्गठनको एकता, स्थायी समिति बैठकको मिति तथा कार्यसूची र पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल गरिने बताइएको थियो।
पार्टीमा तल्लो तहसम्मको एकता प्रक्रियाले गति नलिएको, स्थायी कमिटीको बैठक नबसेको तथा सरकार र दलबीच समन्वय नभएको विषयमा आवाज उठ्दै आएको छ। यसबीचमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य भएको तथा तिहार र छठ पर्व परेकाले लामो समयदेखि बैठक बस्न सकेको थिएन। नेकपाको पछिल्लो सचिवालय बैठक गत कात्तिक ८ गते बसेको थियो।
पार्टीले प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी तोकिसकेको छ। तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच गत जेठ ३ गते एकता भएपछि तीन महिनाभित्र सकिने भनिएको तल्लो तहको एकता हालसम्म हुन सकेको छैन।
नेकपाका माधव नेपाल पक्षधर २१ केन्द्रीय सदस्यले बुधबार सरकार र पार्टी सञ्चालन प्रक्रिया वैज्ञानिक, पारदर्शी र समन्यायका आधारमा नभएको आरोप लगाउँदै नेतृत्वसमक्ष ज्ञापनपत्र बुझाएका थिए।
अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सचिवालयका नाममा भइरहेको एकलौटी निर्णयसँगै पार्टी एकता प्रक्रियामा विलम्ब, जिम्मेवारी बाँडफाँटमा मनोमालिन्य, योग्यताका आधारमा भूमिका र जिम्मेवारी वितरणमा न्याय नभएको ती केन्द्रीय सदस्यहरूको गुनासो छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४