काठमाडौं- आइएमई ग्रुपका अध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा हालै जारी श्रम सम्बन्धी दुई छुट्टाछुट्टै कानुनका कारण देशमा लगानीको वातावरण बनेको बताए। श्रमिकहरुको वर्तमान आर्थिक अवस्था विषयमा जापानको टोकियोमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले श्रम र श्रमिकहरुको सामाजिक सुरक्षा सम्बन्धी कानुनमा भएको नयाँ व्यवस्थाबाट देशमा लगानीको वातावरण बनेको बताए।
‘देशमा उद्योग धन्दाको स्थापना र विकासका साथै वैदेशिक लगानीको लागि बनेको पछिल्ला कानुनले नयाँ वातावरण सिर्जना गर्ने देखिएकोछ,’ उनले भने‘श्रमसँग जोडिएका विविध समस्या हल गर्न सघाउ पुग्ने अपेक्षा निजी क्षेत्रले गरेको छ।’
पछिल्लो कानुनी व्यवस्थाले श्रमिकसँग जोडिएका विभिन्न समस्या सम्बोधनका लागि समन्वय गर्न महासंघलाई पनि सहयोग पुग्ने उनको धारणा छ। उनकाअनुसार सरकार, रोजगारदाता, श्रमिकहरु आबद्ध ट्रेड युनियन प्रतिनिधि, महासंघसँगको परामर्शपछि नयाँ व्यवस्था बमोजिम श्रमिकलाई दिने सेवा, सुविधाका लागि रोजगारदाताहरु पनि सहमत भएकोले नेपालको श्रम क्षेत्रमा र यसका कारण सिंगो अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने देखिन्छ।
योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा रोजगारदाताकातर्फबाट कामदारको शुरु तलबको २० र श्रमिक आफैको ११ प्रतिशतका दरले काटेर सामाजिक सुरक्षा कोषमा जम्मा गरी श्रमिकलाई दिने प्रावधान गरिएको उनको भनाइ छ।
श्रमिकका समस्याका विषयलाई पनि सम्बोधन गर्ने गरी श्रम सम्बन्धी कानुन निर्माण भएका र देशमा राजनीतिक स्थिरता पनि आएकोले नेपालका कैयौँ सम्भावनाका क्षेत्रहरुमा लगानी गर्न अब विदेशी लगानीकर्ताका लागि राम्रो र सकारात्मकवातावरण बनेको उनको भनाइ छ। सम्मेलनमा विश्वका १४ देशका रोजगारदाता कम्पनी तथा प्रतिष्ठानका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४