काठमाडौं- रुपन्देहीको मर्चवारी गाँउपालिकाका एक किसानको माछापोखरीमा अज्ञात समूहले विष हाल्दा करिब १२ हजार माछा मरेका छन। ती माछालार्इ सस्तोमा बजारमा वितरण गरिएपछि उक्त क्षेत्रमा सन्त्रास फैलिएको छ।
मर्चवारी गाँउपालिका-६ श्रीनिवास बढुको माछापोखरीमा बिहीबार बिहान अज्ञात समूहले विष हाल्दा १२ हजार माछा मरेका हुन्। यसरी ठूलो संख्यामा माछा मरेको सूचना पाएपछि प्रहरी टोली श्रीनिवासको पोखरीमा पुगेको थियो। तर, प्रहरी त्यहाँ पुग्दा माछा बजार पुर्याइसकेको थियो।
प्रहरीले बजारमा पुगेर माछा वितरणमा रोक लगाउन खोजेपनि माछा बिक्रि भइसकेका थिए। प्रहरी श्रीनिवासको पोखरीमा कसले विष हाल्यो भन्ने विषयमा अहिलेसम्म पत्ता लगाउन सकेको छैन।
श्रीनिवासको एक रोपानीमा फैलिएको माछापोखरीमा विष हालिएको जिल्ला प्रहरी कार्यालयले रुपन्देहीले जनाएको छ। प्रहरीका अनुसार तरकारीमा हाल्ने थाईडान विषादी पोखरीमा हालिएको अनुसन्धानबाट खुलेको छ। विष खाएर मरेका १२ हजार माछा सस्तोमा व्यापारीले उठाएको स्थानीयले नेपाल समयलाई बताएका छन्।
विषादीका कारण मरेका व्यापारीले स्थानीय बजारदेखि काठमाडौंसम्म ल्याउने तयारी गरेको स्रोतले दाबी गरेको छ। बजार मूल्यभन्दा दश गुणा सस्तो मुल्यमा मरेका माछा पोखरीमै पुगेर व्यापारीले माछा खरिद गरेको स्थानीयले बताएका छन्।
विषका कारण मरेका ठूलो परिमाणका माछा स्थानीय बजारमा एक किलोको ४० रुपैयाँ दरले बजारमा बिक्रि वितरण गरिएको स्थानीयले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४