काठमाडौं- सही योजना र बजेट निर्माण हुनु भनेको आधा काम सम्पन्न हुनु हो भनिन्छ। राष्ट्रिय योजना आयोगद्वारा आयोजित दिगो विकास लक्ष्यमैत्री योजना, बजेट तर्जुमा एवं अनुगमन सम्वन्धी जनकपुरमा गरिएको कार्यशाला गोष्ठीमा उक्त धारणा राखिएको हो।
गोष्ठीको उद्घाटन गर्दै प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले दिगो विकास लक्ष्य हासिल गर्नको लागि सही योजना तथा बजेट निर्माण हुनु आवश्यक रहेको बताए।
‘सही योजना र बजेट निर्माण हुनु भनेको ५० प्रतिशत काम सम्पन्न हुनु हो,’ उनले भने ‘हालको नयाँ संघीय संरचनामा अवसर र चुनौती दुवै छ।’ सबै तहका सरकारका काममा समन्वय र सहकार्य भएमा राष्ट्रको समृद्धिको परिकल्पना पुरा हुन सक्ने उनको बुझाइ छ।
त्यस्तै विकास प्रक्रियामा भ्रष्ट्राचार प्रमुख बाधकको रुपमा रहेको उनले बताए। ‘यस कारण भ्रष्ट्राचार नियन्त्रण गर्दै विकास प्रयासहरुलाई द्रुत गतिमा अगाडि बढाउनु आजको आवश्यकता हो,’ उनले भने ।
कार्यक्रममा अयोगका सदस्य डा. उषा झा, प्रदेश नं. २ का उद्योग पर्यटन, बन तथा वातावरण मन्त्री रामनरेश राय, सामाजीक विकास मन्त्री नवलकिशोर साह लगायत उपस्थिति थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४