काठमाडौं- पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत मनाङ मस्र्याङ्दी क्लबले रुस्लान थ्री स्टार क्लबलाई पराजित गर्दै लगातार तेस्रो जित निकालेको छ । लिगको तेस्रो खेलमा मनाङले प्रतियोगिताको दाबेदार मानिएको थ्री स्टारलाई २-१ ले पराजित गर्दै लिगमा लगातार तेस्रो जित निकालेको हो ।
मनाङको जितका लागि अन्जन बिष्टले एक गोल गरेका थिए भने एक गोल आत्मघाति उपहार पाएको थियो । मनाङले दुबै गोल पहिलो हाफमा गरेको थियो । खेलको ११ औं मिनेटमा अन्जन विष्टले मनाङलाई अग्रता दिलाए । उनले हेमन गुरुङको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए ।
१८ औं मिनेटमा मनाङले अग्रता दोब्बर पार्यो । एलन न्यौपानेले क्लियर गरेको बल विजय धिमाललाई लाग्दै गोलमा परिणत भएको थियो । विक्रम लामाले अन्तिम समयमा गोललाइनबाट बचाउ गर्न खोजेपनि उनको प्रयास सफल हुन सकेन । पहिलो हाफ निकै नै रोमाञ्चक भएको थियो । दुबै टोलीले पहिलो हाफमा केही मौकाहरु गुमाएका थिए ।
दोस्रो हाफमा थ्री स्टार थप आक्रामक रुपमा प्रस्तुत भयो । थ्री स्टारले खेलको ८५ औं मिनेटमा गोल फर्कायो । पेनाल्टी क्षेत्रभित्र मोहमद आसिफले अजायी मार्टिन्सलाई लडाएपछि थ्री स्टारले पेनाल्टी पाएको हो ।
रञ्जित धिमालले उक्त पेनाल्टीमा गोलमा परिणत गरे । थ्री स्टारले अन्तिम समयमा आक्रमणलाई थप जोड दिएपनि गोल फर्काउन नसक्दा तीन अंक गुमाउन पुगेको हो । यस जितसँगै मनाङ ३ खेलमा ९ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४