काठमाडौं- विधान संशोधन मस्यौदा समितिले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आइतबार बोलाएको छ।
आगामी २८ मंसिरदेखि ३ पुससम्म काठमाडौंमा हुने पार्टीको महासमिति बैठकमा पेश हुने विधान संशोधन मस्यौदा समितिको प्रतिवेदनमा छलफल गर्न बैठक बोलाइको प्रवक्ता विश्वप्रकाश शर्माले बताए। बैठकमा महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित समितिमा सदस्यहरुबीच सहमति जुट्न नसकेपछि फरक मतसहितको प्रतिवेदन पेश हुने भएको छ।
समितिका सदस्यहरुबीच केन्द्रीय कार्य समिति र पदाधिकारीको संख्या बढाउने, पदाधिकारी र केन्द्रीय सदस्यहरु निर्वाचित गर्ने, चार तहमा गठन हुने अनुशासन समितिमा सबै सदस्य निर्वाचित गर्ने र सदस्यता एकै प्रकारको हुने विषयमा विवाद भएपछि फरक मतसहित प्रतिवेदन पेश हुन लागेको हो।
विधान संशोधनको मस्यौदामा एक सय २१ देखि एक सय ३१ जनासम्म केन्द्रीय कार्य समिति हुने प्रस्ताव गरिएको छ। तर सभपाति शेरबहादुर देउवा पक्षधर केन्द्रीय सदस्यहरुले त्यस्तो प्रस्तावप्रति असहमति जनाउँदै ८५ सदस्यीय केन्द्रीय कार्यसमिति यथावत राख्नु पर्ने अडान राखेका छन्।
आइतबार बस्ने केन्द्रीय कार्य समिति बैठकमा विधान संशोधन मस्यौदा समितिको प्रतिवेदनफरक मत सहित प्रस्तुत भएपछि त्यसलाई अध्ययनको लागि एक दिन छुट्याएर पुन केन्द्रीय समिति बैठकमा पेश गर्ने योजना भएको सहमहामन्त्री डा प्रकाशशरण महतले जनाए।
केन्द्रीय समिति बैठकमा उपसभपाति विमलेन्द्र निधिले पेश गर्ने राजनीतिक प्रतिवेदन, महामन्त्री डा शशांक कोइरालाले प्रस्तुत गर्ने पार्टीको सांगठनीक प्रतिवेदन, सहमहामन्त्री डा महतले पेश गर्ने आर्थिक नीति, कोषाध्यक्ष सीतादेवी यादबले प्रस्तुत गर्ने आर्थिक प्रतिवेदनमाथि छलफल हुनेछ।
महासमिति पेश हुने हरेक प्रस्तावहरु केन्द्रीय कार्य समितिले बहुमतबाट पारित गरेको हुनुपर्ने छ। त्यस्तो पारित प्रस्ताव महासमितिको दुई तिहाई बहुमतबाट पारित हुनु पर्छ। दुई तिहाईबाट पारित नभएका प्रस्ताव कार्यान्वयनमा आउन सक्दैन।
विधान मस्यौदा समितिका सदस्यबीच नै विधानमा कस्तो प्रावधान राख्ने भन्ने बिषयमा सहमति नजुट्दा महासमिति बैठकबाट दुई तिहाईले पारित हुने सम्भावना रहँदैन। त्यस्ता प्रस्तावलाई सर्वसम्मतले पारित गर्ने वातावरण बनाउने केन्द्रीय समिति बैठकमा विधान संशोधनको मस्यौदामा करिव २ सातासम्म छलफलको लागि छुट्याइएको सहमहामन्त्री डा महतले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४