राजस्थान - भारतको राजस्थान प्रान्तको अलवर सहरमा बेरोजगारीका कारण निराश भएका तीन युवाले गुडिरहेको रेलअगाडि हामफालेर आत्महत्या गरेका छन्। रेलले किचेर उनीहरूको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
रोजगारी नपाएपछि निराश भएका ६ जना युवाले आत्महत्या गर्ने निर्णय गरेका थिए । तर चारजनामात्र गुडिरहेको रेल अगाडि हामफालेका थिए। रेलले किचेर ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एकजना गम्भीर घाइते भएका छन्।
उनीहरुले आत्महत्या गर्नुअगाडि जागिर पाइँदैन भने जीवन जीउनुको के अर्थ भन्दै निराशा व्यक्त गरेका थिए । ‘राजस्थानको अलवर सहरमा बुधबार ६ जना युवाले जागिर नपाएर हैरान भएको भन्दै आत्महत्या गर्ने योजना बनाएका थिए’, समाचारमा भनिएको छ।’ तीमध्ये ४ जना एफसिआई गोदाम नजिकै गुडिरहेको ट्रेनअगाडि हामफालेका थिए। दुई जना भने आत्महत्या गर्ने योजनाबाट पछि हटेका थिए।
‘जागिर नै पाइने होइन, यस्तो अभावग्रस्त जीवन बाँच्नुको कुनै अर्थ छैन’ भन्ने निर्णय भएको बाँचेका दुई जनाले बताएका छन्। उनीहरुसँग प्रहरीले थप सोधपुछ गरिरहेको छ। आत्महत्या गरेका सत्यनारायण मिणाले घटनाभन्दा केही समयअघि आफ्नो फेसबुक वालमा ‘माही द किलर’ अपडेट गरेका थिए। यो भिडियोमा पनि युवकको हत्या गरिएको दृश्य छ।
एसपी राजेन्द्र सिंहका अनुसार २४ वर्षीय मनोज मिणा, २२ वर्षीय सत्यनारायण मिणा, १७ वर्षीय राज मिणा र २२ वर्षीय अभिषेक मिणा आफ्ना अन्य दुई साथी सन्तोष मिणा र राहुल मिणासँग श्याम रेलवे स्टेसन नजिकै कुरा गरिरहेका थिए। कुराकानीको सिलसिलामा जागिरबिनाको जीवन धान्न गाह्रो भएको भन्दै उनीहरूले मृत्यु रोज्नु उपयुक्त भएको निष्कर्ष निकालेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४