काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक डाकेको छ। पार्टीभित्रका २१ केन्द्रीय सदस्यले अध्यक्षद्वयलाई ज्ञापनपत्र बुझाएको भोलिपल्ट नेकपाले पार्टी हाइकमान्डका रुपमा चिनिने सचिवालयको बैठक बोलाएको हो ।
झण्डै एक महीनादेखि नबसेको नेकपाको सचिवालय बैठक अपराह्न ४ बजे बालुवाटारमा जनाइएको छ। बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, जनसङ्गठनको एकता, स्थायी समिति बैठकको मिति तथा कार्यसूची र पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल गरिने जनाइएको छ।
पार्टीमा तल्लो तहसम्मको एकता प्रक्रियाले गति नलिएको, स्थायी कमिटीको बैठक नबसेको तथा सरकार र दलबीच समन्वय नभएको विषयमा आवाज उठ्दै आएको छ । यसबीचमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य हुनुभएको तथा तिहार र छठ पर्व परेकाले बैठक बस्न नसकेको जनाइएको छ।
नेकपाको पछिल्लो सचिवालय बैठक गत कात्तिक ८ गते बसेको थियो। सो बैठकले केन्द्रीय सदस्यको कार्यविभाजन र प्रदेश कमिटीको पूर्णताका लागि सिफारिश गर्न महासचिव विष्णुप्रसाद पौडेल र गृहमन्त्री तथा नेकपाका सचिवालय सदस्य रामबहादुर थापा रहेको कार्यदल गठन गरेको थियो ।
पार्टीले प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी तोकिसकेको छ। ती पदाधिकारीले जिल्लामा काम गर्नका लागि संयन्त्र गरेका छन्। दुई सदस्यीय उक्त कार्यदलले निश्चित मापदण्डका आधारमा प्रदेश कमिटीमा रहने सदस्यको नाम सिफारिश गर्न निर्देशन दिएको थियो ।
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच गत जेठ ३ गते एकता भएपछि तीन महीनाभित्र सकिने भनिएको तल्लो तहको एकता हालसम्म हुन सकेको छैन।
नेकपाका माधव नेपाल पक्षधर २१ केन्द्रीय सदस्यले बुधबार सरकार र पार्टी सञ्चालन प्रक्रिया वैज्ञानिक, पारदर्शी र समन्यायका आधारमा नभएको आरोप लगाउँदै नेतृत्वसमक्ष ज्ञापनपत्र बुझाएका हुन्। अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सचिवालयका नाममा भइरहेको एकलौटी निर्णयसँगै पार्टी एकता प्रक्रियामा विलम्ब, जिम्मेवारी बाँडफाँटमा मनोमालिन्य, योग्यताका आधारमा भूमिका र जिम्मेवारी वितरणमा न्याय नभएको ती केन्द्रीय सदस्यहरूको गुनासो छ ।
थप पढ्नुस्, नेकपाभित्र चुलियो असन्तुष्टि : २१ केन्द्रीय सदस्यले दिए नेतृत्वलाई
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४