एजेन्सी- रुस विश्वकपपछि टोलीमा नफर्किएका अर्जेन्टिनाको राष्ट्रिय टोलीका कप्तान लियोनल मेस्सी आफ्नो राष्ट्रिय टोलीमा फर्किने भएको छन् । उनी अर्को वर्ष ब्राजिलमा हुने कोपा अमेरिका फुटबल प्रतियोगिताका लागि राष्ट्रिय टोलीमा फर्किने रिपोर्ट सार्वजनिक भएको हो ।
सन् २०१९ को जुन १४ देखि जुलाई ७ सम्म चल्ने यो प्रतियोगिता ४६ औं संस्करणको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यम ‘डायरियो स्पोर्ट’का अनुसार मेस्सीले अर्जेन्टिनी फुटबल संघसँग छलफल गरी राष्ट्रिय टोलीबाट विश्राम लिएको उल्लेख गरेको छ ।
उनले राष्ट्रिय टोलीका अन्तरिक्त प्रशिक्षक र संघसँग समझदारी अनुसार नै टोलीबाहिर रहेको बताइएको छ । केही समयअघि मात्रै अर्जेन्टिनी टोलीका प्रशिक्षक लिओनल स्कालोनीले मेस्सी ढिला-चाँडो राष्ट्रिय टोलीमा फर्किने बताएका थिए ।
उनले मेस्सीको चाहनाअनुसारै उनलाई टोलीमा नबोलाइएको बताएका थिए । विश्वकपमा प्रभावशाली प्रदर्शन गर्न नसकेका मेस्सीको टिम अन्तिम १६ मा फ्रान्ससँग पराजित हुँदै बाहिरिएको थियो । विश्वकपमा अपेक्षित रूपमा प्रदर्शन गर्न नसकेपछि मेस्सीको आलोचना भएको थियो ।
त्यसपछि मेस्सीले राष्ट्रिय टोलीबाट सन्यास लिन सक्ने अनुमान गरिए पनि उनले हालसम्म सन्यास लिएका छैनन् । न त राष्ट्रिय टोलीमै फर्किएका छन् । यसअघि कतिपयले मेस्सी राष्ट्रिय टोलीमा नफर्किने दाबी गर्दै आएका थिए भने कतिपयले उनी ढिलो-चाँडो टोलीमा फर्किने बताउँदै आआएका थिए ।
मेस्सीले अहिले विश्वकपपछि आराम गर्न चाहेको र बार्सिलोनालाई समय दिने चाहेको बताइन्छ । ‘डायरियो स्पोर्ट’ ले बार्सिलोनाको फुटबल संघको स्रोत उदृत गर्दै मेस्सी ब्राजिलमा हुने कोपा अमेरिका खेल्न टोलीमा फर्किने बताएको छ । यो प्रतियोगिताको अघिल्लो संस्करण चिलीले जितेको थियो ।
चिली पछिल्ला दुई संस्करणको लगातारको विजेता हो । अघिल्लो संस्करण चिलीले फाइनलमा अर्जेन्टिनालाई नै पेनाल्टीमा हराएर उपाधि जितेको थियो । सो खेलमा अर्जेन्टिनाका मेस्सीले फाइनलमा पेनाल्टी मिस गरेका गरेका थिए । त्यसपछि उनले तुरुन्तै राष्ट्रिय टोलीबाट सन्यास घोषण गरे पनि पछि फिर्ता लिएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४