चितवन- चितवनको बोस्टन इन्टरनेशनल कलेज र फ्रान्सको टेलिकम विजनेश कलेजबीच शैक्षिक सहकार्य र विद्यार्थीहरु आदानप्रदानको सम्झौता भएको छ।
बोस्टन इन्टरनेशनल कलेजकोतर्फबाट क्याम्पसका अध्यक्ष आनन्दबहादुर चन्द र इन्सिच्युट माइन्स टेलिकम बिजिनेस स्कुलकी प्रतिनिधि प्राडा भूमिका गुप्ताले मंगलबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
दुई कलेजको सम्झौताअनुसार बोस्टन इन्टरनेशनल कलेजमा अध्ययनरत विद्यार्थीहरुले व्यवस्थापन र डिजिटल प्रविधि क्षेत्रको नयाँ आविष्कार तथा रुपान्तरणको विषयमा युरोपमा गएर तालिम लिने अवसर प्राप्त गर्नेछन्।
कलेजका विद्यार्थीले तीन हप्तासम्म स्वीट्जरल्याण्डको जेनेभामा रहेको संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय दूरसञ्चार युनियनको मुख्यालय, बेल्जियममा रहेको युरोपियन कमिसन र युरोपियन युनियनको संसदमा शैक्षिक भ्रमणको अवसर प्राप्त गर्नेछन्। त्यसैगरी सम्झौताअनुसार दुवै क्याम्पसले शैक्षिक आदानप्रदान, विद्यार्थी र प्राध्यापकहरुबीचमा ज्ञानको आदानप्रदान पनि जनाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४