बलिउडका निर्माता-निर्देशक महेश भट्टको फिल्म ‘अर्थ’ हिन्दी चलचित्र क्षेत्रको ल्यान्डमार्क मानिन्छ। बलिउडमा जहाँ प्रायः पुरुषप्रधान चलचित्र मात्रै लेखिन्थ्यो र निर्माण हुन्थ्यो- यस्तोमा अर्थले जुन संवेदनशिलता, जुन सफाइ र साहसका साथ महिलाको संवेदना र उसको यात्रालाई केलाएको छ । त्यो १९८० को दशकको लागि ठूलो कुरा थियो। जहाँ 'डिस्को डान्सर'देखि लिएर 'मर्द' जस्तो मेन स्ट्रिम चलचित्र बन्ने गरेको थियो। यस्तोमा अर्थले तरंग नै ल्याइदिएको थियो।
यसमा दुई सम्बन्ध र दुई महिलाहरुको कथा छ, जसको जीवनले आफ्नै अर्थ खोज्ने प्रयास गरेको छ। चलचित्रमा पूजाको भूमिकामा शवाना आजमीको सशक्त अभिनय हेर्न सकिन्छ। पूजा बाल्यकालदेखि अनाथ थिइन् र बिहेपछि श्रीमान् इन्दर नै उनको संसार हुन्छ। अर्की महिला कविताको भूमिकामा स्मीता पाटिलको अभिनय पनि उत्तिकै सशक्त छ। कविता जो सुपरस्टार छिन्, तर भित्रबाट आफूलाई एकदमै असुरक्षित र कमजोर महसुस गर्छिन्। उनको जीवनमा प्रेम छ तर त्यो सबैको नजरमा नाजायज छ।
यी दुवै महिलालाई तोड्ने र जोड्ने धागो हो इन्दर (कुलभूषण खरबंदा) जो पत्नी पूजालाई धोका दिएर पनि आफ्नो सफाइ दिदैँ भन्छन्, 'मैले तिमीलाई प्रेम गर्न छोडेको छैन तर फरक यति भयो कि म कवितालाई पनि प्रेम गर्छु।'
सम्बन्धहरुको यस भूमरीमा जीवनको अर्थ खोज्ने यी दुई महिलाको कथा हो अर्थ, जो ४० वर्ष अघि १९८२ मा आएको थियो। त्यतिबेला यस्तो नारी प्रधान चलचित्रको लत बसेकै थिएन बलिउडमा। यसमा नायक भनेकै महिला पात्र हुन्। चलचित्रमा न नायक छ न त खलनायक। भनिन्छ- यो महेश भट्टको आफ्नै जीवनमा आधारित कथा हो, जब उनी लरेन ब्राइटसँग विवाहपछि पनि बलिउडकी चर्चित अभिनेत्री परवीन बॉबीसँग नजिकिए। पछि यी दुईको सम्बन्ध समाप्त हुन पुग्यो।
चलचित्रमा शबानाले एउटी यस्ती महिलाको चरित्र निभाएकी छन् जो अन्य थुप्रै महिलाको जस्तै भावनात्मक, मानसिक र आर्थिक रुपमा पूर्णत आफ्नो श्रीमानमाथि निर्भर हुन्छिन्। जब उनले थाहा पाउँछिन् उनको श्रीमानको सम्बन्ध अर्की महिलासँग छ यस्तोमा उनले श्रीमानलाई नराम्रो भन्नु, गालीगलौच गर्नु जस्तो केही गर्दिनन्। बरु भन्छिन् - मसँग त्यस्तो के गल्ती भयो इन्दर ! जे कमी छ म त्यो पूरा गर्ने प्रयत्न गर्छु, मलाई एक मौका देउ।
पूजा मल्होत्रा (शबाना) को जीवनको अर्थ यही हो कि सम्भवतः कमी उनैमा होला। तर यो चलचित्रले के देखाउँछ भने विस्तारै उनी जीवनको अर्थ बुझ्दै जान्छिन् र कसरी त्यो सम्बन्धबाट बाहिर निस्किन्छिन्। यहाँसम्म पुग्नको लागि उनले थुप्रै आरोह अवरोहबाट गुज्रिनुपर्छ। यही पाइला र पडावहरु नै अर्थ चलचित्रको असली अर्थ हो। परिवर्तन रातारात नभएर त्यसको पूरै संघर्ष र अभ्यास छ जसलाई चलचित्रको महत्वपूर्ण पक्ष मान्न सकिन्छ।
शबानाको यात्राको पहिलो पडावमा उनी आँशु चुहाउँछिन् र आफ्नो अहमलाई बिर्सेर कविता (स्मिता पाटिल) को अगाडि पति फर्काइदिन अनुनयविनय गर्छिन्। रिस, हतास र रक्सीको मातमा पार्टीमा कविता (स्मिता)सँग जस्तो व्यवहार गर्छिन् र जुन शब्दको प्रयोग गर्छिन् त्यसमाथि उनलाई स्वयं विशवास लाग्दैन। यी दुई नायिकाबीचको झडपको दृश्य नै चलचित्रको महत्वपूर्ण दृश्य रहेको मानिन्छ। जहाँ घरभन्दा बाहिर बोल्न नसक्ने पूजा ठूलो स्वरमा आफ्नो रिस पोखिरहेकी हुन्छिन्।
अर्थ वास्तवमा पूजाको कथा हो तर दोस्रो महिलाको रुपमा रहेकी कविताको कथालाई उसैको दृष्टिकोणबाट भन्ने प्रयत्न गरिएको छ। खासमा उनको असुरक्षाको भावना र उनको इमोशनल स्थितिलाई दर्शाउने प्रयास गरिएको छ।
चलचित्र अर्थमा दोस्रो महिलाको डर, उभित्रको असुरक्षा र बिग्रिँदै गएको मानसिक स्वास्थ्यलाई संवेदनशीलताको साथ पर्दामा उतारिएको छ।
मनोचिकित्सकको सल्लाह अनुसार पूजा कविताको घर उनीसँग भेट्न पुग्छिन् ताकि उनले आफ्नो मनमा भएको काल्पनिक डरको सामना गर्न सकुन्। दुवैको बीचमा भएको संवाद एकदमै मार्मिक छ, जसमा कविताले पूजालाई भन्छिन्, 'म इन्दरलाई मन पराउँछु तिम्रो श्रीमानलाई होइन। म मेरो घर बसाउन चाहन्छु, तिम्रो उजाड्न खोजेको होइन।' जवाफमा पूजाले भन्छिन्, 'मेरो कुनै घर नै कहाँ थियो र तिमीले केही उजाडेको छैनौं।' यहाँ कविताको भित्रको अपराधवोधले उसलाई भित्रभित्रै पीडा दिइरहेको हुन्छ। त्यही पूजा अब विस्तारै त्यो स्थानमा पुगेकी छन् जहाँ उनले कवितारुपी सत्य र जीवनको सामना हिम्मत र शालीनताका साथ गर्न तयार छिन्।
एक पत्रमा श्रीमानलाई साँचो र पैसा छोडेर तिम्रो कविताको जीवनबाट म जाँदैछु भन्दै पत्र पठाउँछिन् अर्थात् अब अनुनय गर्ने परिस्थितिबाट बाहिर निस्केर उनी स्वाभिमानका साथ लड्न तयार छिन्। पूजालाई अबको बाटो स्वयं बनाउनु छ तर उनको असल मित्रको रुपमा एक गजल गायकको रुपमा राजकिरणको पदार्पण हुन्छ जो स्वयं बेरोजगार भए पनि पूजालाई हिम्मत र हौसला प्रदान गरिरहन्छ।
चलचित्रको संवाद पनि उत्तिकै सशक्त छ। चलचित्रको एक सीनमा कविताले प्रेमी इन्दरलाई भन्छिन्, ‘जो विहे सात वर्षमा पूजालाई कुनै सुरक्षा दिन सकेन भने मलाई के दिन्छ ?’ चलचित्रको अन्तिम दृश्य र संवाद थुप्रै कुराको लागि महत्वपूर्ण मानिएको छ। श्रीमानसँगको सम्बन्धको अन्त्य होस् अथवा राजकिरणसँगको मित्रताको प्रारम्भ जसमा पूजाले श्रीमानलाई त्यागिदिएपछि प्रेम र सहानुभूतिको बीच आफ्नो स्थान खोजिरहेकी हुन्छिन्। यस्तोमा राजकिरणले उनलाई भन्छन् - तिम्रो जीवनको कुनै अर्थ छ कि छैन भन्ने कुरा फैसला तिमीले आफ्नो लागि गर्नुपर्छ।
अर्थ चलचित्र पूजा र कविताको कथा मात्रै नभएर ती सबै महिलाको कथा हो जो कुनै न कुनै स्तरमा आफ्नो युद्ध लडिरहेका छन्। जसमा पूजाको घरमा काम गर्ने महिलालाई उसको पतिले रक्सीको मातमा पिट्छ जसको लागि पूजाले आवाज उठाउँछिन्। आजित भएर पतिको हत्या गर्न पुगेकी उनकी काम गर्नेकी छोरीलाई पनि उनले सहारा दिन्छिन्।
यस्तै कविताले इन्दरलाई परित्याग गरेपछि उनी पुनः पहिली श्रीमति पूजासँग आफूलाई स्वीकार गर्न आग्रह गर्दा पूजा भन्छिन्, यदि म तिमीजस्तै कुनै परपुरुषसँग बसेर आएको भए के तिमीले मलाई अपनाउँथ्यौ ? यस्तो कडा जवाफ र तिखो प्रश्न गर्ने नायिकालाई बलिउडले यसअघि देखेको थिएन। जुन भूमिकालाई पूजा अर्थात् शवानाले जीवन्त बनाइदिइन् जो आजको समयमा पनि उत्तिकै अर्थ राख्छ।
पूजा श्रीमानलाई यति भनेर आश्रय दिएकी छोरीलाई काखमा लिएर अगाडि बढ्छिन्। यो नै चलचित्रको सबैभन्दा बलियो क्लाइमेक्स सिन हो। जसमा अब एउटी महिलाले आफ्नो लागि एक्लै यात्रा तय गर्ने संदेश प्रवाह गरेको छ। यो नै हो अर्थको कथा। चलचित्रको महत्वपूर्ण पक्ष यसको गीतसंगीत पनि रहेको छ। चलचित्रको अधिकांश गीत कैफी आजमीले लेखेका छन्। जगजीत सिंह र चित्रा सिंहको गजल चलचित्रको महत्वपूर्ण पक्ष हो।
-बीबीसी हिन्दीबाट