काठमाडौं- तुलसालय आश्रमको विषयमा सामग्री तयार गर्न सञ्चालक सरु सुवेदीसँग दिउँसो १ बजे भेट्ने समय तय भएको थियो। त्यसदिन उनकी आमा तुलसादेवी, जसको नाममा आश्रम सञ्चालित छ, उनको पुण्यतिथि परेको रहेछ। त्यसैले बच्चाहरु विद्यालयबाट चाँडै फर्कंदै थिए। त्यही भएर पनि सोही दिन हामी भेट्दै थियौं। खासमा बच्चाहरुकै स्टोरीलाई फोकस गर्ने विचार थियो।
'ललितपुर महालक्ष्मीस्थान चोकको सिधै तलको बाटो खोला छेउ पार्दै डोल्को पुल पुग्नुपर्छ,' सरुले बताएको बाटो पछ्याएँ। तर डोल्को पुलबारे चोकतिरका बासिन्दालाई खासै थाहा नभएको लगोपछि मैले सोध्न छोडेँ र सरासर खोला छेउको बाटो समातेँ। निकै तल पुगेपछि भने डोल्को पुलको लोकेसन बताउने मान्छे भेटिन थालिए। अनि बल्ल अब धेरै छैन र म सही बाटोमा छु भन्ने लाग्यो।
‘डोल्को’ शब्द भारीभरकम लागेर पुल पनि विशाल होला भन्ने लागेको थियो- कम्तिमा थापाथलीको बागमती पुलजत्रो त होला भन्ने थियो तर मेरो सोचविपरीत यो सानो खालको पुल थियो। पुलछेउ पुगेर पनि अपत्यार लागेर मेले त्यही उभिरहेका एकजना भाइलाई डोल्को पुल यही हो ? भनेर सोधेको थिएँ। उनले हो भनेपछि बल्ल राहत महसुस भएको थियो। पुलपारी पुगेपछि सडकबाटै तुलसालयको सानो बोर्ड देखिन्छ। पहिलो दिन सोध्दै जाँदा निकै परको ठाउँजस्तै लागे पनि त्यति टाढा चाहिँ होइन। आश्रम वरिपरिको वातावरण शान्त थियो।
आश्रमकी सञ्चालक सरु सुवेदी काममा व्यस्त थिइन्। आमाको पुण्यतिथि परेको हुँदा पारिवारिक पाहुनाहरु आएका थिए भने विद्यालयबाट फर्किने साना नानीहरुको लागि खीर–पुरीको भोजको तयारी हुँदै थियो।
म आश्रमको बैठक कोठामा पुग्दा उनी भन्दै थिइन् - हेर्नु न मैले त लुगा पनि फेर्न पाएको छैन। बिहान नुहाएर यत्तिकै व्यस्त भएँ। मैले नियालेँ- उनी सामान्य कुर्तासुरुवालमा थिइन्। मलाई एकैछिन बैठक कोठामा छोड्दै उनी हतारहतार लुगा फेर्न गइन् र उनको पछि दुई लालाबाला पनि लागेर गए। भित्र छिर्दै उनले भित्र रहेका दुई–तीनजना बच्चाहरुलाई तिमीहरु एकैछिन बाहिर बस म लुगा फेर्छु भन्दै बोकेरै बैठकमा ल्याइन् र भनिन्, ‘हेर्नु न मेरो निजी भनेको त आफ्नो बेडरुम पनि छैन। सबै यिनीहरुको आमा–बुवाको हो।’ आमा अर्थात् सरु र बुवा अर्थात् उनको श्रीमान् विमल काफ्ले। उनी भन्दै थिइन् - आश्रमका सबै बच्चाहरु मलाई आमा र मेरो श्रीमानलाई बुवा भनेर नै बोलाउँछन्।
हुन पनि कर्तव्यले पनि आमाबावु नै त हुन् नि। यो शब्दले पनि घाउमा मल्हमको काम गर्छ। बैठकमा बसेर ठीक त्यतिबेलै मैले तुलना गरेँ- ढोकासम्म आएका पाहुना वा छिमेकीलाई ढोकाबाटै कुरा गरेर फर्काइदिने काठमाडौंबासी र सरु सुवेदीको व्यवहारमा कति अन्तर छ। उनको ओच्छयान पनि अब उनको निजी रहेन र यहाँका निजी घरबालहरुले सडक र गल्ली पनि निजीजस्तै गर्छन्। उनमा आमाको माया नभएको भए उनको ओच्छयानभरि र उनको घरभरि कसरी अटाउँथे होला त्यत्रा बालबालिका, त्यत्रा मान्छे ? हो उनी फरक छिन्। असाधारण छिन्।
एकै छिनमा उनी लुगा फेरेर आइन् र हामी बाहिर लनमा बसेर कुरा गर्न थाल्यौं। बच्चाहरुको ओहोरदोहोर उस्तै थियो। यी विद्यालय नजाने उमेरका बच्चाहरु थिए, जो घरमै थिए। बाँकी विद्यालयबाट फर्किसकेका थिएनन्। उनले ती साना नानीहरुलाई थुप्रै पटक डिस्टर्ब नगर्न भने पनि पुतलीजस्तै झ्याम्मिन छोडेनन् अनि सबैलाई तल कोठामा लाने निर्देशन दिइन्। मलाई खासै डिस्टर्ब महसुस भएको थिएन। पत्रकारहरु चारैतिर लाउडस्पिकर बजेको ठाउँमा पनि सुन्ने क्षमता राख्छन्।
हामी कुरा गर्न थाल्यौं। उनलाई आश्रमको बारेमा सोध्ने थुप्रै आउँछन् होला। मैले पनि सोधें। त्यहाँ आश्रय पाएका वरिष्ठ चिकित्सक जो अहिले उपचार पाएर ठीक भएका छन्। भाइरल बेबीको अहिलेको अवस्था बुझ्यौं र यस्तै थुप्रै कुराहरु गर्यौं। लामो समय बस्यौं हामी। उनको निजी जीवनबारे पनि प्रश्न गर्दै गएँ।
सबैकी आमा सरु
सरु सुवेदीमा सानैदेखि सहयोगी भावना थियो। बच्चैदेखि व्यवहारिक पक्ष आफ्नै घरपरिवार र परिवेशबाट सिक्दै र जान्दै–बुझ्दै आएको उनी बताउँछिन्। एक दिन विद्यालयबाट घर फर्कंदै गर्दा बाटोमा एउटा बुढा बा भेटिए जसले आफ्नो घर बिर्सेका थिए। विद्यालयबाट फर्कंदै गरेकी किशोरी सरुलाई के लाग्यो भने यत्रो बुढो मान्छे भएर पनि कसरी घर बिर्सन सक्छ ? घर त सानो बच्चाले पो बिर्सन्छ त।
मनमा त्यस्तो विचार आए पनि सरुले आफ्नो स्कुलको ब्याग साथीहरुको हातबाट घर पठाएर स्वयं बुढा बाको घर खोज्न हिँडिन्। तर टोलमा कुनै घर उनको थिएन। बा पनि आफ्नो टोलमा देखेको जस्तो सरुलाई लागेन अनि सरुको दिमागमा क्लिक गर्यो। उनले त्यतिबेलाका वडाध्यक्षको घरमा लगेर ती बुढाबालाई छोडेर आइन्। उनलाई के थाहा थियो भने वडाध्यक्ष टोलकै बा हुन्। उनले ती बुढा बालाई घरसम्म पुर्याउँछन्।
किशोर मनलाई के थाहा मान्छे बुढो हुँदै गएपछि बिर्सने रोगले च्याप्छ। पार्किन्सन्स भनिने बिर्सने रोगले कसैलाई अलि बढी नै दुःख दिएपछि आफ्नै जीवनसंगीनीदेखि जन्म दिएका छोरा–छोरी र दुःख गरी बनाएका घरसमेत बिर्सन पुग्छ मान्छे।
तुलसालय अनाथाश्रमकी सरु सुवेदी अहिले स्वयं त्यस्ता घर बिर्सेका, घरबारबाट परित्याग गरिएका, सडकमा अलपत्र परेका र पारिएका थुप्रै बाल–वृद्धकी अभिभावक भएकी छन्। सबैकी ‘आमा’ भएकी छिन्।
एउटा आश्रमको सञ्चालक हुनु उनको उद्देश्य भने थिएन। उनी कवि हृदयकी कलात्मक विचार र सहयोगी स्वाभावकी हुन्। उस्तै पर्यो भने न्यायको लागि लड्ने र सबैभन्दा अगाडि उभिने निर्भिक पनि हुन्। तर यसै गुणले उनलाई तुलासालय जन्माउन बाध्य बनायो।
बाध्यताले तुलसालय आश्रमको जन्म भएको सुनाउँदै सरु भन्छिन्, 'पहिलो लकडाउनमा केही परिवारलाई राहत वितरणको काम सुरु गरेका थियौं तर यो सिलसिला लकडाउनको अन्त्यसम्म गरिरह्यौं हामीले। आफ्नो जमा पुँजी, सहयोग मागेर, साथीभाइ डाकेर सबे गरेर हामी सहयोगमा जुट्यौं र यसरी सबै कोभिड पीडित भयौं। त्यसपछि मनमा विचार आयो, यसरी कहिलेसम्म चुलोमा पकाएर राहत वितरण गर्ने ? खाद्यान्न, लत्ताकपडा कहिलेसम्म घर–घर गएर बटुलेर बाँडिरहने वा सुत्ने ओछ्याउने कहिलेसम्म वितरण गर्ने ?
अनि विचार भयो, सडकमा अलपत्र परेका बाल-वृद्ध, अनाथलगायतको लागि व्यवस्थित आश्रमहरु छन् नेपालमा जसलाई सरकारले सहयोग गरेको छ। देशविदेशबाट मन र धन भएकाहरुले सहयोग गरेका छन्। बरु सडकमा अलपत्र रहेका बालबालिकाहरुलाई व्यवस्थित बालआश्रममा पुर्याउँ, वृद्धवृद्धालाई उद्धार गरेर वृद्धाश्रममा पुर्याउँ, मनोरोगीलाई संरक्षण गर्ने ठाउँमा त्यस्तालाई पुर्याउँ।
यसै उद्देश्यका साथ सडकमा भेटेका, प्रहरीले उद्धार गरेर ल्याइदिएका सबैलाई गाडीमा हालेर सम्बन्धित आश्रमहरुमा पुर्याउन जाँदा कसैले राख्न मानेनन्। उनीहरुको जवाफ थियो, हाम्रो अहिले उद्धार कार्य रोकिएको छ। किन रोकिएको छ सोध्दा हामीभित्र भएको बाआमा बिरामी छन्। हामीसँग श्रोतसाधन प्रशस्त छैन, हामी नै बिरामी छौं जस्ता उत्तर आए। जति वटा ठाउँमा चहारे पनि कसैले राख्न मानेनन्।
उनी भन्छिन्, हामीले उद्धार त गर्यौं तर त्यसको व्यवस्थापन भएन। सडक बाट ल्याइसकेका वृद्धवृद्धा र आशक्तलाई फेरी सडकमै पुर्याउनलाई हाम्रो नैतिकताले दिएन। हामीमा अमानवियता भएन। अनि मैले सोचें- आफ्नै आमाबाबुको नममा खोलेको संस्था तुलसादेवी हरिहर फउण्डेसन हामीसँग छँदैछ अनि आफ्नै घरमा ति सडकबाट उद्धार गरेर ल्याएकालाई संरक्षण दिनुपर्यो। यसरी बाध्यतामा तुलसालयको जन्म भएको हो।
साहित्य रुचिको विषय
सरु सुवेदी कलात्मक छिन्। उनलाई सानैदेखि अभिनय गर्न, नाटक खेल्न मन पर्थ्यो। विद्यालय पढ्दाताका उनले आफैंले लेखेर, निर्देशन र अभिनय गरेर पुरस्कार पाएकी थिइन्। उनी सुनाउँछिन्, त्यो पुरस्कार म कहिल्यै पनि भुल्न सक्दिनँ। दमक १५ मा रहेको पाणिनी विद्यालयबाट कक्षा ७ सम्म पढेर पछि उर्लाबारी राधिका माविबाट उनले एसएलसी उतिर्ण गरिन्।
अध्ययन र लेखनमा पनि रुचि रहेको बताउँदै उनले २०७१ सालमा नियात्रा संग्रह ‘जीवन बाँचेकै छ’ प्रकाशित भएको बताइन्। जसको लागि उनलाई अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) ले नव प्रतिभा पुरस्कारबाट पुरस्कृत गरेको थियो।
उनी सुनाउँछिन् - म अलिअलि कविता कोर्छु। मुक्तक र कथा पनि लेख्छु। यसो मुड चलेको बेला लेख्छु र फेसबुकमै पोष्ट गर्छु। हुन त सरुले ०५५ सालतिर वातावरण पत्रकारिता समूहबाट १८ महिने तालिम लिएर केही समय कलम चलाइन्। तर त्यतिबेला उनले उपयुक्त अवसर नै पाइनन् र पत्रकारितामा विराम लाग्यो। उनलाई टेलिभिजन एकदमै पन पर्थ्यो। यद्यपि लेख्न भने उनले छोडेकी छैनन्।
२०५२ साल फागुनमा सरुको विवाह झापा दमक निवासी विमल काफ्लेसँग भयो। उनी त्यतिबेला १७ वर्षकी थिइन्। सरुका श्रीमान लेखापाल थिए। ३६ वर्ष काम गरेर अहिले विश्राम लिएका काफ्ले अडिट गर्ने काम अझै जारी राखेका छन्। सरुकी एक छोरी हृदया छिन् जो क्यानडामा छिन्।
आमाको नाममा संस्था
सरु सुनाउँछिन् - २०५० साल साउन ९ गते आमा बित्नुभयो। उहाँलाई क्यान्सर थियो जो हामीलाई थाहा थिएन। आमाको पूरै स्याहारसुसार मैले गरेको थिएँ। १७ महिना उहाँको ओछ्यानमै सेवा गरे। वुवा हरिहर सुवेदी ७९ वर्षको हुनुभयो। बुवाको माया अझै पाइरहेकी छु। तीनजना दिदीबहिनी उनी माहिली हुन्।
सरुले आमा र बुवाको नाममा तुलसादेवी हरिहर फउण्डेसन खोलेकी छिन्। पहिले सामाजिक कार्यको लागि भनेर खोलिएको उक्त संस्था अहिले असहायहरुका सहारा बनेको छ।
सरु सुनाउँछ्नि्, ‘सडकमा पुग्नुभन्दा अगाडि नै म सयौं बच्चाको संरक्षण गर्न सकुँ भन्ने मेरो विचार छ। कुनै पनि कारणले तिनीहरु अलपत्र नपरुन्। बाँच्ने अधिकार तिनीहरुको पनि छ। मसँग प्रसश्त पैसा नहोला तर सबैको सहयोगले ति बच्चाहरुलाई जीवन दान दिन सकिन्छ।’ हमीले गफको बिट मार्दा विद्यालयबाट सबै २२ जना बालबालिका फर्किसकेका थिए।