काठमाडौं- एउटा व्यक्तिले चाहेमा मानवको जीवन नै परिवर्तन गरिदिन सक्छ। यस्तै भयो समाजसेवी सरु सुवेदीको हकमा। बिना स्वार्थ एकले अर्कालाई हेरेर यसो फिक्का मुस्कान पनि नछर्ने अहिलेको समयमा सरुले एक मानसिक विकार भएका वरिष्ठ चिकित्सकलाई सडकबाट उठाएर आश्रय मात्रै दिइनन् उचित औषधपोचार र स्याहारले सद्दे बनाइ छाडिन्।
सुवेदीको अथक प्रयास र चिकित्सकहरुको उपचारले सडकमा माग्नेको अवस्थामा पुगेका वरिष्ठ चिकित्सक पुनः पहिलेजस्तै भएका छन्। तुलसालय आश्रमकी प्रमुख सञ्चालीक सरु सुवेदी सुनाउँछिन्, ‘डाक्टर साहेबले मलाई चिकित्सकीय प्राक्टिस गर्न देउ भन्नुहुन्छ तर त्यसो गर्न दिन त मिल्दैन। उहाँ अहिले एकदमै सामान्य अवस्थामा पुग्नुभएको छ, तर राम्रो स्याहार र नियमित स्वास्थ्य जाँचको आवश्यकता पर्छ।’
हुन पनि उमेर पुगेपछि नियमित स्वास्थ्य जाँचको आवश्यकता सबैलाई पर्छ। डा. श्रेष्ठसँग कुरा गर्दा उनी सामान्य रुपमै प्रस्तुत भए। उनले भने, ‘तुलसालयले मलाई जीवनदान दिएको छ।’
यसरी सडकमा पुगे वरिष्ठ चिकित्सक
मान्छेको जीवन क्षणभंगुर हो भन्ने कुराको प्रमाण थुप्रै छ। अझ सद्दे व्यक्ति कुनै पनि बेला सडकमा पुग्न सक्छ भने कुन व्यक्तिले कति बेला के भोग्नुपर्छ भन्ने कुरा सधैं अन्यौल हुन्छ। ठूलै ओहदामा पुगेका सज्जन व्यक्ति पनि बुढेसकालमा बिर्सिने रोग लागेर घरबाट हराउँछन् र सडकमा भेटिन्छन्। कतिपय अवस्थामा नभेट्ने पनि हुन्छन्।
यस्तै भयो पाटन मानसिक अस्पतालका वरिष्ठ चिकित्सक डा. भगवानभक्त श्रेष्ठसँग। उनले अनवरत २८ वर्ष नेपाल सरकारको सेवा गरे त्यो पनि वरिष्ठ मेडिकल अफिसर भएर। पाटन अस्पताल उनको अन्तिम दरबन्दी थियो। त्यसअघि उनले नेपालका धेरै जिल्लाहरुमा काम गरे। धनसम्पत्ति, पद र प्रतिष्ठा सबै थियो तर समयक्रमसँगै उनी मानसिक विकारको शिकार हुँदै गए। र अन्ततः सडकमा पुगे।
सरु सुनाउँछिन्, 'सडकमा पुगेका त्यस्ता प्रतिष्ठितलाई घर ल्याउने, फर्काउने कोही भएनन् र उनले ९ वर्षजति सडकको जीवन बिताए। धनकुटा बस्ने सुष्मा दाहालले पूर्व सचिव भीम उपाध्यायलाई एउटा वरिष्ठ चिकित्सक वर्षौंदेखि सडकमा अलपत्र परेको छ भन्ने लिंक पठाएकी थिइन्। पूर्व सचिवले त्यो पोष्ट आफ्नो फेसबुकमा राखेछन्। उनका लाखौं फलोअर छन्। एक जना अमेरिकामा बस्ने उनका फलोअरले उक्त पोष्ट देखेका रहेछन्। उनका लागि पछि व्यवस्थापन गरौंला भन्दै उनको उद्धारको कुरा उठेको रहेछ।
कोभिडकालमा राहत वितरण गर्दा मलाई सहयोग गर्ने एकजना दिदी हुनुहुन्थ्यो- उहाँले मलाई चिकित्सकको उद्धार गर्न भन्नुभयो। उनको विजोग रहेछ भन्नुभयो र उहाँले त्यो लिंक मलाई पठाउनु भयो। वास्तवमा त्यतिबेला डाक्टर साहेबको विजोग अवस्था थियो। सडकमा खानापिना छैन, एउटा वरिष्ठ चिकित्सक जस्तो मान्छे। बौद्धिक मान्छे जो देशको गहना हो तर उनको हविगत यस्तो छ। मैले उत्तिखेरै निर्णय लिएँ- डाक्टरलाई संरक्षण गर्ने र सक्दो औषधीउपचार गर्ने जिम्मा म लिन्छु। उनका आफन्त नभएका होइनन्। पत्नी र छोरी भएको मैले थाहा पाएकी छु। उनका दाजुका छोरा–बुहारीहरु सबै छन् तर उनलाई सहारा दिने कोही पनि अघि सरेनन्। न यतिबेला आएका छन्।'
डा. श्रेष्ठ फिदिममा थिए। त्यही थियो उनको क्लिनिक जहाँ उनी प्राक्टिस गर्थे। तर विस्तारै उनको मानसिक अवस्था बिग्रिँदै गयो। प्रत्यक्षदर्शीका अनुसार उनले गाईवस्तु, बाँदर र चराहरुलाई नांगो देख्न थाले र आफ्नै कार्यकक्षमा ल्याएर ती जनावरहरुलाई आफ्नै लुगा फुकालेर लाइदिन थालेका थिए। त्यसपछि विस्तारै सडकका छाडा पशुलाई कार्यक्रक्षमा ल्याएर राख्न थालेका थिए। मैले सुनेअनुसार मानसिक सन्तुलन गुम्दै गएपछि उनी सडकबाट गाईहरुलाई ल्याएर आफ्नो क्लिनिकमा राख्ने, आफ्नै लुगा लगाइदिने र उपचार गर्ने जस्ता कार्य गर्थे। मानसिक अवस्था झन् बिग्रेपछि उनी सडकमा पुगेका थिए। डा. श्रेष्ठलाई काठमाडौं ल्याउँदा विराटनगरसम्म स्थानीय तहसँग समन्वय गरेर गाडीमा ल्यायौं। त्यहाँबाट काठमाडौं ल्याउने र फर्कने मान्छेको समेत फ्लाइट टिकटको पैसा तुलसालय आश्रमले तिरिदिएर राखेको छ। देशको गहनालाई सडकमा कसरी छोड्नु।
हुन पनि डा. श्रेष्ठ अहिले उपचारपछि निको भएर आफ्नो सबै कर्म आफैं गर्न सक्ने भएका छन्। यो सरुको अठोटले मात्रै सम्भव भएको हो। सडकमा आएपछि उनलाई फर्काएर घर लाने पनि कोही भएन। सरु सुनाउँछिन्, 'डा. श्रेष्ठको मानसिक अवस्था विग्रनुभन्दा पहिले नै श्रेष्ठ दम्पति छुट्टिसकेका थिए। छुट्टा–छुट्टै बस्न थालेका थिए। छिमेकीहरुको भनाइअनुसार सडकमा जानुभन्दा १० वर्ष अघिदेखि श्रेष्ठ दम्पति छुट्टिएर बसेका थिए। ०६७–०६८ सालदेखि डा. श्रेष्ठ सडकमा थिए। उनकी श्रीमति अझै छिन् भने एक छोरी पनि छिन् तर परिवारलगायत कसैले पनि उनीहरु छुट्टिएको कारण बताउँदैनन्। न त उनकी श्रीमति आजसम्म सम्पर्कमा आउन खोजेकी छन्।
हामीले धेरै प्रयास गरेका थियौं। यदि उनकी श्रीमतिले दोस्रो विवाह गरिसकेकी छैनन् भने पुनर्मिलन गरौं। सम्बन्ध विच्छेदपछि पनि पुनर्मिलन गर्छन् नि मान्छेले। अहिले डा श्रेष्ठलाई न्यानो माया, तातो खाना, औषधि उपचार, सफा लुगा र केयर चाहिन्छ। यसको लागि पनि श्रेष्ठलाई पुनर्स्थापित गर्न पाए हुन्थ्यो भन्ने मेरो चाहना हो। मैले उनको श्रीमतिको नम्बर माग्दा पनि कसैले दिएनन्, उनलाई मतलब छैन मात्र भन्छन्। मानवियताको लागि पनि गर्नुपर्छ। उनकी श्रीमति पनि ६० वर्षको हुनुहुन्छ होला। अब पेन्सन बनाउ र बुढा–बुढी बसेर खाउ भन्ने मेरो चाहना हो। तर उनकी श्रीमति आएकी छैनन्। वकिल आए, छरछिमेकी आए तर साँच्चिकै नजिकका मान्छे कोही आएका छैनन्। अब उनलाई पेशामा फर्काउन त हुँदैन किनभने मानसिक स्वास्थय विग्रिसकेको मान्छेलाई चिकित्सक जस्तो पेसामा फर्काउनु नीतिगत कुरा होइन।
सरुका अनुसार डा. श्रेष्ठ प्रशस्त सम्पत्ति भएका मान्छे हुन् तर उनको रेखदेख गर्ने, स्याहार गर्ने कोही छैन। उनले आर्जेको सम्पत्तिले उनलाई सहारा नदिए पनि मनकारी साथहरुले वरिष्ठ चिकित्सक डा. श्रेष्ठलाई सहारा र सद्भाव दिइरहेको छ। त्यसैको मलमले उनी पुरानै लयमा फर्केका छन्। उनी अहिले ६४ वर्ष पुगेका छन्। अहिले सबै कुरा बोल्ने, भन्ने र बुझ्ने भएका छन्। सबैसँग गफ गर्ने भएका छन्।
सरुका अनुसार उनको उद्धार गर्दा सरला श्रेष्ठले १० हजार सहयोग गरेकी थिइन्। 'त्यसयता डाक्टरको नाममा एक रुपैयाँको सहयोग नआए पनि हामीले नियमित स्वास्थ्य जाँच र औषधोपचार गराउँदै आएका छौं। आश्रमको नाममा आएको सहयोगले नै सबैको भरणपोषण गरिरहेका छौं। महिनाको ३ हजार बढीको औषधि खानुपर्छ र बेलाबेला फलोअप गराइरहनु पर्छ। तर डाक्डर साहेबमा राम्रो सुधार आएको छ, अहिले औषधि पनि रोकिएको छ,' सरु बताउँछिन्।
सरुसँग तितो अनुभव पनि छ। भन्छिन्, 'डा श्रेष्ठलाई उद्धार गरिएको दिनदेखि नै जुकाका मुखजस्तै उनको पेन्सन बनाउन एउटा ठूलै समूह आयो। आजको दिनसम्म पनि पेन्सनको कागज बनाउने भन्दै मान्छे आउँछन् तर मैले रोकिदिएको छु। तेत्रो सम्पत्ति भएको मान्छेको मानसिक रोगको उपचार नगरेर सडकमा छोडिदिएका ति आफन्तहरु कताबाट आए मलाई थाहा छैन। मैले उनका त्यस्ता स्वार्थी आफन्तहरुबाट धेरै धम्कीहरु पनि पाएँ। उनको पेन्सनको कागज बनाउनुपर्छ। मलाई सबै कागज दिनुस् हामी नै यहीँबाट पनि प्रयास गरिदिन्छौं भन्दा मलाई कागजको एउटा चिर्कटोसम्म दिन मान्दैनन्। हाम्रो समाज कता तिर गइरहेको छ ?