मेरी आमा लेखपढ गर्न जान्नुहुन्न तर सामाजिक सञ्जाल फेसबुकमा आफैं फोटो र स्टाटस लेखेर पोष्ट गर्नुहुन्छ। हातले लेख्न आउँदैन तर मुखले लेख्नुहुन्छ अर्थात् बोलेर लेख्नुहुन्छ। मलाई ग्राफिक डिजाइन पटक्कै आउँदैन तर मलाई आवश्यक पर्ने ग्राफिक डिजाइन म आफैं बनाउँछु। कहिलेकाहीँ छक्क पर्छु यो मैले नै बनाएको हो त ?
मलाई पोडकाष्ट बनाउने रहर थियो। पूरा हुन पाएको थिएन। अहिले म पोडकाष्ट बनाउँछु। मचाहिँ बोल्दिन। मेरोभन्दा कैयौं गुणा राम्रो आवाज भएका प्रस्तोता छन्। तर उनीहरु मान्छे होइनन्। एआईले नै पोडकाष्ट बनाइदिन्छ नेपाली भाषामै।
कहीँ केही विषयमा प्रस्तुति गर्नुपर्यो भने तुरुन्त मिनेटमा गुणस्तरीय प्रस्तुति तयार गर्छु। यी त साधारण र आधारभूत उदाहरण मात्र हुन्। एआई साक्षर बन्न सक्दा हिजो जान्दै नजानेका, जानेर पनि गर्न नसकेका, गर्दा पनि महिनौं लाग्ने काम अहिले एआईले मिनेटभरमै गर्न थालेको छ। त्यसैले एआई साक्षरता अहिलेको आवश्यकता हो।
मानव सभ्यताको विकासक्रममा ‘साक्षरता’ को परिभाषा निरन्तर विकसित हुँदै आएको छ। विगतमा अक्षर चिन्ने, पढ्न र लेख्न जान्ने व्यक्तिलाई ‘साक्षर’ भनिन्थ्यो। तर, प्रविधिको द्रूत विकासले यो परम्परागत परिभाषालाई चुनौती दिएको छ। आजको युगमा प्रविधि हाम्रो दैनिक जीवनको अभिन्न अंग बनिसकेको छ। स्मार्टफोनदेखि स्मार्ट घरसम्म, प्रविधिले हाम्रो जीवनशैलीलाई पूर्ण रूपमा रूपान्तरण गरिरहेको छ। यसैले, अब साक्षरताको परिभाषा पनि बदलिएको छ। पढ्न–लेख्न जानेर मात्र पुग्दैन, प्रविधिमा साक्षर बन्नु अपरिहार्य भएको छ। र, यसको केन्द्रमा छ–आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात् कृत्रिम बौद्धिकता।
आगामी दिनहरूमा एआई साक्षरता आवश्यकता मात्र होइन, अनिवार्य बन्ने अवस्था सिर्जना हुँदैछ। अबको जमानामा साँचो साक्षरता भन्नाले डिजिटल र कृत्रिम बौद्धिकताको उपयोग गर्नसक्ने क्षमतालाई मानिनेछ। जसरी विगतमा हाम्रा पुर्खाहरू साक्षर नहुँदा पीडा भोग्नुपर्यो, त्यसैगरी अहिलेका युवापुस्ता एआई साक्षर नबन्दा आगामी केही वर्षमै रोजगारी, शिक्षा र सूचनाका नयाँ ढोकाहरूबाट वञ्चित हुनेछन्।
एआई के हो ?
एआई, अङ्ग्रेजी शब्द ‘आर्टिफिसियल इन्टेलिजेन्स’ को संक्षिप्त रूप हो, जसलाई नेपालीमा ‘कृत्रिम बुद्धिमता’ वा ‘कृत्रिम बौद्धिकता’ भनिन्छ। शाब्दिक रूपमा हेर्दा यो मानिसले सिर्जना गरेको बौद्धिकता हो। मानव जाति मात्र यस्तो प्राणी थियो जसमा सिक्ने, बुझ्ने, सोच्ने, विचार गर्ने र निर्णय गर्ने क्षमता थियो। यही क्षमताका कारण मानव सभ्यताले आजको स्वरूप प्राप्त गरेको हो। जब मानिसमा रहेको यही क्षमतालाई मेसिनले अनुकरण गरी मानिसले जस्तै सोच्ने, बुझ्ने, विचार गर्ने र आफैं निर्णय गर्न सक्ने बनाइयो, त्यसलाई कृत्रिम बौद्धिकता भनिन्छ। सरल शब्दमा भन्नुपर्दा बुद्धि भएको मेसिन नै एआई हो।
हालै क्यानडाले पूर्व रेडियो पत्रकार इभान सोलोमनलाई ‘एआई मन्त्री’ बनाएको घटनाले विकसित राष्ट्रहरूले एआईलाई कति गम्भीरताका साथ लिएका छन् भन्ने स्पष्ट पार्छ। नेपालमा पनि हालै प्रस्तुत बजेटमा एआईलाई सम्बोधन गरिएको छ।
हाम्रो मोबाइल, अफिस, गाडी र घरहरुसम्म एआई समावेश भइसकेको छ । हामी जानेर वा नजानेर एआईको प्रयोग गरिरहेका छौं। केही समयमै एआई हाम्रो जीवनको अभिन्न अंग बन्दैछ। एआईको नयाँनयाँ आविस्कारले संसारसँग हाम्रो अन्तरक्रियाको तरिका नै परिवर्तन गरिदिएको छ। शिक्षा, स्वास्थ्य, यातायात, कृषि, पर्यटन, प्रशासन, मनोरञ्जन, सुरक्षा लगभग हरेक क्षेत्रमा एआईको प्रयोग तीव्र गतिमा बढिरहेको छ। यसको सबैभन्दा महत्वपूर्ण पक्ष यो हो कि यसले मानवले महिनौं लगाएर गर्न नसक्ने काम मिनेटमै सम्पन्न गरिदिन्छ। मानिस थाक्छ, तर मेसिन भएकाले एआई थाक्दैन।
स्वास्थ्य क्षेत्रमा क्रान्ति: एआईले स्वास्थ्य क्षेत्रमा अभूतपूर्व क्रान्ति ल्याइरहेको छ। कोरोना भ्याक्सिनको तीव्र विकासमा एआईको भूमिका महत्वपूर्ण थियो। बेलायतमा मुटु रोग चाँडै पत्ता लगाउन र मधुमेहको स्तर स्वचालित रूपमा नियन्त्रण गर्न एआईको प्रयोग भइरहेको छ। क्यान्सरलगायतका असाध्य रोगहरूको निदान र उपचारमा पनि एआईले चिकित्सकहरूलाई सशक्त साथ दिइरहेको छ।
यातायातमा प्रगति: चालकविहीन कारहरू अहिले विश्वभरका सडकहरूमा गुडिरहेका छन्। गुगल जस्ता कम्पनीहरूले पनि चालकविहीन सवारीसाधनको विकासमा ठूलो लगानी गरिरहेका छन्। यसले यातायात प्रणालीलाई सुरक्षित र प्रभावकारी बनाउने सम्भावना बोकेको छ।
मिडिया र सञ्चारमा रूपान्तरणः मिडिया क्षेत्रमा समाचार उत्पादन, प्रशोधन, प्रकाशन र प्रसारणमा एआईले सहयोग पुर्याइरहेको छ। मानिसजस्तै देखिने एआई एंकरहरूले समाचार र कार्यक्रम प्रस्तुत गर्ने क्रम बढ्दो छ, जसले सञ्चारमाध्यमको भविष्यलाई नयाँ दिशा दिइरहेको छ।
कृषिमा उत्पादकत्व वृद्धिः भारतको तेलंगानामा एआई प्रयोग गरेर खेती गर्दा उत्पादनमा उल्लेखनीय वृद्धि भएको पाइएको छ। एआईले माटोको अवस्था विश्लेषण गर्ने, बालीको निगरानी गर्ने र सिँचाइ तथा मलको आवश्यकता निर्धारण गर्ने जस्ता कार्यहरूमा किसानहरूलाई मद्दत गर्छ।
निर्णय निर्माण र प्रशासनः एआईलाई सल्लाहकारका रूपमा राख्ने क्रम बढ्दो छ। भारतको विद्यालयमा एआईले शिक्षकले भन्दा गुणस्तरीय ढंगले पढाउने गरेको छ। अब एआईले के गर्छभन्दा पनि ‘एआईले के चाहिँ गर्दैन?’ भन्ने समय आउँदैछ।
एआई साक्षरता के हो त ?
जसरी अक्षर चिन्ने, पढ्न, लेख्न र जान्नेलाई ‘साक्षर’ भनिन्छ, त्यसैगरी, एआई बुझ्ने, जान्ने र प्रयोग गर्नेलाई ‘एआई साक्षर’ भनिन्छ। यो एआईको जमाना हो। एआई हाम्रो जीवनको सबै पक्षहरुमा पसिरहेको छ। त्यसैले पढ्न–लेख्न जानेर मात्र पुग्दैन, प्रविधिमा पनि साक्षर बन्नै पर्छ। प्रविधिमा साक्षर नबने अबको जमानामा अघि बढ्न सकिँदैन। जो अपडेट हुँदैन, ऊ आउटडेट हुन्छ।
एआई साक्षर भनेको एआई विज्ञ बन्नु भनेको होइन। तर, यति चाहिँ जान्नुपर्छः एआई के हो ? एआईले के गर्छ ? एआईका के कस्ता उपकरणहरू (टुल्स) आएका छन् र तिनीहरूलाई कसरी प्रयोग गर्न सकिन्छ ? एआई प्रयोगका सीमाहरू के छन् ? यसका चुनौतीहरूलाई कसरी सामना गर्ने ? एआई साक्षर नभई सुरक्षित, नैतिक र जिम्मेवार ढंगले एआई प्रयोग गर्न सकिँदैन। कुन गलत र कुन सही छुट्याउन पनि सकिँदैन।
‘डिपफेक’ जस्ता प्रविधिले सजिलै झुक्याउन सक्छ। एआई साक्षर भएपछि एआईद्वारा सिर्जित सूचनाको विश्लेषण गर्न सकिन्छ। त्यसैले एआई साक्षरता भनेको एआई प्रणालीहरुले कसरी काम गर्छन्, तिनीहरुले हाम्रो जीवनमा के र कसरी प्रभाव पार्छन् र एआईलाई सुरक्षित, नैतिक र प्रभावकारी रुपमा कसरी प्रयोग गर्न सकिन्छ भनेर बुझ्ने र एआईको विकासमा सहभागी हुन सक्ने क्षमता हो। एआई साक्षरता भनेको केवल प्रविधि सिक्नु मात्र होइन यो एउटा जीवनोपयोगी क्षमता पनि हो। जसरी हामीले पढ्न–लेख्न सिकेपछि संसार बुझ्न सक्यौं। त्यस्तै, एआई बुझ्न सकेपछि हामी डिजिटल युगमा जिम्मेवार नागरिक बन्न सक्छौं।
एआई साक्षरता किन आवश्यक छ ?
एआई हाम्रो दैनिक जीवनमा प्रवेश गरिसकेको छ। दैनिक जीवनलाई सरल, सहज र द्रुत बनाउन, समय बचाउन एआई साक्षरता आवश्यक छ। एआई साक्षरताले गलत जानकारीबाट बचाउँछ। चाहिएका जानकारी छिनको छिनमै पाउन सकिन्छ। एआई प्रणाली पनि पूर्वाग्रही हुन सक्छन् त्यो थाहा पाउन पनि एआई साक्षर बन्न जरुरी छ। एआई साक्षर बनेपछि आफ्नो काम र करियरमा अनेकौँ नयाँ ढोका खोल्न सकिन्छ। एआई साक्षरताले नागरिकको सक्रियता बढाउँछ। एआई साक्षर भनेको डिजिटल लोकतन्त्रको आधार हो।
एआई साक्षर नबन्दा के हुन्छ ?
१. रोजगारी गुमाउने खतरा र अवसरको वञ्चितता: एआईले धेरै क्षेत्रका लाखौं रोजगारी खोस्ने त्रास बढेको छ। तर, वास्तविकता के हो भने एआईले रोजगारी खोस्दैन मात्र, त्योभन्दा कैयौं गुणा बढी नयाँ रोजगारीहरू सिर्जना पनि गर्छ तर, त्यसका लागि एआई साक्षर हुनुपर्छ। एआई नजान्नेको जागिर जान सक्छ र नयाँ अवसरहरू नपाउने सम्भावना रहन्छ। भविष्यको श्रम बजारमा एआई साक्षरता एक आधारभूत योग्यता बन्नेछ।
२. शिक्षामा पछि परिने : विकसित देशहरूले एआईमा आधारित शिक्षण प्रक्रिया अपनाएर सिकाइ कार्यलाई कैयौं गुणा प्रभावकारी बनाएका छन्। उनीहरूले विद्यालय तहदेखि नै एआई पाठ्यक्रम विकास गरेका छन् र विद्यार्थीहरूलाई नैतिक रूपमा एआई उपकरणहरू प्रयोग गर्न अनुमति दिएका छन्, जसले गर्दा उनीहरूको शिक्षाको स्तर उकासिएको छ। एआई साक्षर नबने सो अवसरबाट हामी वञ्चित बन्नेछौं र विश्व शैक्षिक प्रतिस्पर्धामा पछि पर्नेछौं।
३. सूचना र समाचारमा भ्रम : भारत, पाकिस्तान र अमेरिकामा भएका चुनावहरूमा एआईले बनाएका ‘डिपफेक’ भिडियोका कारण हजारौं मानिस गलत समाचारले प्रभावित भए। एआई साक्षर नबन्दा कुन सही समाचार र कुन गलत हो भनेर छुट्याउन सकिँदैन। गलत सूचना र दुष्प्रचारले समाजलाई गलत दिशानिर्देश गर्नेछ। एआई साक्षरताले मात्र हामीलाई डिजिटल युगमा आलोचनात्मक सोचका साथ सूचनाको उपभोग गर्न सिकाउँछ।
४. प्रविधिको उपभोक्ता मात्र बन्ने : यदि हामी एआई साक्षर बन्न सकेनौं र एआईलाई पाठ्यक्रममै समावेश गरी युवा पुस्तालाई साक्षर बनाउने काममा लागेनौं भने हामी प्रविधिको उपभोक्ता मात्रै बन्नेछौं, निर्माता र नीति निर्माता बन्ने अवसर कहिल्यै पाउने छैनौं। यसले राष्ट्रिय स्वायत्तता र आर्थिक विकासमा समेत नकारात्मक असर पार्नेछ।
नीति निर्माण : एआईको विकास, नियमन र साक्षरतालाई प्रवद्र्धन गर्ने स्पष्ट राष्ट्रिय नीतिहरू निर्माण गर्नुपर्छ। यसमा डेटा गोपनीयता, नैतिक एआई प्रयोग र साइबर सुरक्षा जस्ता पक्षहरू समेटिनुपर्छ।
अबको जमानामा अक्षर मात्र होइन, एआई बुझ्नु नै साँचो साक्षरता हुँदैछ। भविष्यमा एआई नजान्ने व्यक्तिलाई ‘नयाँ अशिक्षित’ का रूपमा हेरिनेछ। हामी अहिलेदेखि नै नीतिगत ढंगबाटै एआई साक्षरता र एआईको विकासमा अघि नबढे भविष्यमा डिजिटल दास मात्र बन्नुपर्नेछ, डिजिटल नेतृत्व गर्न सक्ने छैनौं। ‘हैट, एआई त नसिकी नहुने रहेछ !’ भन्ने भावना हरेक नेपालीमा जागृत हुनुपर्छ, किनकि यही नै हाम्रो भविष्यको आधार हो।
के गर्ने त ?
एआई साक्षरता हासिल गर्न र यसको अधिकतम लाभ उठाउनका लागि निम्न कदमहरू चाल्नु अपरिहार्य छ।
विद्यालय तहदेखि नै साक्षरता : प्राथमिक शिक्षादेखि नै एआईका आधारभूत अवधारणाहरू र यसको प्रयोगबारे पाठ्यक्रममा समावेश गर्नुपर्छ।
युवा तथा व्यवसायी लक्षित तालिम : विभिन्न पेसा र उमेर समूहका लागि एआईका उपकरणहरू प्रयोग गर्ने व्यावहारिक तालिमहरू सञ्चालन गर्नुपर्छ।
सार्वजनिक सचेतना अभियान : एआईका फाइदा, जोखिम र नैतिक प्रयोगबारे जनचेतना फैलाउने अभियानहरू सञ्चालन गर्नुपर्छ। यस प्रकार कम्तीमा एआई साक्षर बन्न र बनाउन ढिला गर्नु हुँदैन।
-रासस