सुर्खेत-नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले देशका अर्काे विद्रोहको खतरा बढेको बताएका छन्। विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष बितिसक्दा पनि द्वन्द्व पीडितले न्याय नपाउँदा बिद्रोहको खतरा बढेको उनको भनाई छ ।
बुधवार सुर्खेतमा सञ्चारकर्मीसँग कुरागर्दै सिटौलाले भने ‘विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष बितिसक्यो तर पीडितले अझै न्याय पाउन सकेका छैनन ।’ लामो समयसम्म पनि पीडितले न्याय नपाउँदा अर्काे द्वन्द्व सिर्जना आउन सक्ने उल्लेख गर्दै सिटौलाले भने ‘पीडितले न्याय नपाउँदा बदलाको भावन आउन सक्छ र यसले विद्रोहको रुप लिन्छ ।’
तत्कालीन माओवादीलाइं शान्ति प्रक्रियामा ल्याउन महत्वपूर्ण भूमिका निभाएका सिटौलाले थपे, ‘अघिल्ला सरकार स्थायी भएन भनेर टार्ने काम भयो, तर अहिलेको सरकार द्वन्द्वपीडितको मुद्दामा गम्भीर भएन ।’
पीडितलाई न्याय दिलाउने गरी सरकार अगाडि बढे कांग्रेस सकारात्मक रुपमा सहयोग गर्न तयार रहेको उनको भनाई छ। ‘द्वन्द्व पीडितलाई न्याय दिलाउने कुरा कुनै एउटा दलले चाहेर पुरा हुनसक्दैन ।’ उनले थपे ‘तर पीडितका मुद्दामा सरकार गम्भीर भए, हामी सहयोग गर्न तयार छौँ ।’
तत्कालीन बिद्रोही नै सरकारमा सामेल हुँदा पनि पीडितका पक्षको न्यायका लागि सरकारले कुनै पहल नथालेको उनको आरोप थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४