अमेरिका – अमेरिकाले पाकिस्तानलाई प्रदान गर्दै आएको १६६ करोड डलर सैन्य सहायतामा रोक लगाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशपछि यस्तो निर्णय लिइएको अमेरिकी प्रतिरक्षा विभागको मुख्यालय पेन्टागनले जनाएको छ। पाकिस्तानले आफूसँग लिइमात्रै रहेको तर अमेरिकाका पक्षमा कुनै सहयोग नगरेको भन्दै ट्रम्प प्रशासनले यस्तो निर्णय लिएको हो ।
रक्षा मन्त्रालयका प्रवक्ता कर्नल राब मैनिङले भनेका छन्, ‘पाकिस्तानलाई दिइँदै आइएको १६६ करोडको सुरक्षा सहायतामा रोक लगाइएको छ।’ यस विषयमा थप जानकारी दिइएको छैन।
पूर्वराष्ट्रपति बाराक ओबामाको कार्यकालमा अफगानिस्तान, पाकिस्तान र मध्यएसियाका लागि उपसहायक रक्षा मन्त्री रहेका डेबिड सिड्नीले भने, ‘सन्य सहायतामा रोक लगाउनु अमेरिकाले पाकिस्तानप्रति देखाएको निराशाको महत्त्वपूर्ण संकेत हो।’पाकिस्तानले पनि अमेरिकी निराशालाई कम गर्न केही कदम चालेको छैन।
सैन्य सहायता रोक्ने संकेत राष्ट्रपति ट्रम्पले यसअघि नै ट्वीटरमार्फत दिएका थिए। उनले लेखेका थिए, ‘हामी ओसामा बिन लादेनलाई केही पहिले नै पक्रिहाल्थ्यौं। मैले यो कुरा वल्र्ड ट्रेड सेन्टरमा भएको आक्रमणभन्दा केही पहिले नै आफ्नो किताबमा लेखेको थिएँ। हामीले पाकिस्तानलाई अर्बौं रुपैयाँ दियौं तर उनीहरूले लादेन आफ्नो देशमा छन् भनेर कहिल्यै भनेनन् ।’
ट्रम्पले यसपछि फेरि ट्वीटमा लेखेका छन्, ‘अब हामी पाकिस्तानलाई अर्बौं रुपैयाँ दिनेवाला छैनौं, किनभने उसले हाम्रो पैसा त लियो तर हाम्रा लागि केही गरेन। उसकाले हामीसँग गरेको बेइमानीमा बिन लादेन ठूला उदाहरण हुन् भने अफगानिस्तान अर्को उदाहरण हो। पाकिस्तान यस्तो देश हो जसले हामीसँग लिइमात्र रह्यो, हामीलाइै केही दिएन।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४