शुक्रबार, असोज ३, २०८२

विश्व बैंकको अनुदानमा बागलुङका तीन सडक कालोपत्रे गरिने

 |  सोमबार, असोज १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज १, २०८०

गलकोट- विश्व बैंकको अनुदानमा  बागलुङ नगरपालिकाका तीन सडक कालोपत्रे गरिने भएको छ। विसं २०७७ मा विश्व बैंक र बागलुङ नगरपालिकाबीच अनुदानका लागि सम्झौताका गरिएको थियो। 

Kumaribank

सम्झौता अनुसार रु ५८ करोड रकम अनुदानमार्फत पूर्वाधार र सामाजिक विकासमा खर्च गरिने भएको हो। सम्झौताअनुसार उक्त अनुदान नगरपालिकाले भौतिक पूर्वाधार र सामाजिक कार्यमा खर्च गर्नुपर्नेछ। नगरपालिकाले भौतिक पूर्वाधारमा सडकको विकास नै पहिलो विकास भएको भन्दै उक्त अनुदानमार्फत तीन सडक कालोपत्रे गर्ने गरी काम अघि बढाएको हो।

सम्झौता तीन वर्षपछि कार्यान्वयनमा आउन थालेको हो। जसअनुसार दुई वर्षभित्र ती सडकहरु कालोपत्रे भइसक्ने गरी बागलुङ नगरपालिकाले डिपिआरको काम सुरु गरेको छ। नगरपालिकाअन्तर्गतका तीन सडकहरु आठ मिटर चौडा बनाइनेछ भने १३ किलोमिटर लम्बाइमा कालोपत्रे गरिने भएको हो। 

डिपिआर सक्दासाथ ठेक्कामा लैजाने गरी सडकको स्थल अनुगमन, नाप जाँच तथा विश्व बैंकका प्रतिनिधिले समेत अनुगमन गरिसक्नु भएको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिए। 

‘दुई वर्षभित्रै तीन सडक कालोपत्रे गर्नेगरी डिपिआरको अन्तिम तयारी छ, एक महिनापछि डिपिआरको काम सकिन्छ त्यसपछि तत्कालै ठेक्कामा जान्छ र सडक कालोपत्रे गरिन्छ’ श्रेष्ठले भने, ‘यस्तो अनुदान देशभरका जम्मा १७ नगरपालिकाले मात्रै पाएको बताउँदै नगरपालिकाभित्रका तीन सडक कालोपत्रेले नगरलाई विकासमा टेवा पुग्न निकै सहज हुनेछ।’

Metro Mart

तीन वर्ष अघिदेखि थालिएको बागलुङ नगरपालिकाले सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रममार्फत डेढ वर्षभित्र तीनवटा स्तरीय सडक बनाइने उनको भनाइ छ। 

नगरपालिकाका अनुसार वडा नं ७ को मूलपानीदेखि तितौरेसम्म साढे आठ दशमलव छ  किमि, ओडारचौरदेखि ढोडेनीसम्म साढे दुई किमि र गणेशघुम्तीदेखि नीरयघाटको डेढ किमि सडक कालोपत्रे गर्न लागिएको बागलुङ नगरपालिकाका इन्जिनियर त्रिलोचन गिरीले जानकारी दिए। 

ट्रयाकमात्रै खुलेका उक्त तीन सडकहरू स्तरोन्नतिको पर्खाइमै थिए। सङ्घ र प्रदेश सरकारको प्राथमिकतामा नपरेका र स्थानीय सरकारले निर्माण गर्न नसक्ने सडक विश्व बैंकको अनुदानमार्फत पक्की बनाउन थालिएको हो।

ती सडकहरू अत्यन्तै सुविधा सम्पन्न हुने र नवीनतम प्रविधि प्रयोग गरेर उक्त सडकहरू निर्माण गरिने छ। नगरपालिकाले मुकामदेखि तीनवटा वडामा कालोपत्रे सडकले जोड्न पाउनेछ।

विश्व बैंकको सहयोग निकायका प्रतिनिधि, परामर्शदाता, शहरी विकास मन्त्रालयको प्रोजेक्ट संयोजक रवीन्द्र बोहरा, सिटुटेक विधान जेभी कन्सल्ट्यान्ट तथा जिल्ला परामर्शदाताको टोली संयोजक रितु बस्नेतसहितको समूहले कालोपत्रे गरिने तीनवटै सडकको स्थलगत अनुगमन गरेर फर्कीसकेको बागलुङ नगरपालिकाले जनाएको छ। उक्त सडकहरु छ मिटरदेखि आठ मिटरसम्म चौडा हुनेछन्।

सडकमा पर्ने घर तथा अन्य टहरा र संरचना हटाउने काम नगरपालिकाले गर्नुपर्ने छ। बैंकले नेपालभर १७ वटा नगरपालिकामा शहरी शासकीय सुधार तथा पूर्वाधार विकास कार्यक्रममा सहयोग गरेको छ। बागलुङ नगरपालिकालाई यसअघि समेत अनुदानमा सडक निर्माण गरेको थियो। 

उक्त अनुदान सहयोगमा बागलुङ नगरपालिका–४ कुडुँले हुँदै मुलपानीतर्फको चक्रपथ निर्माण गरिएको थियो। अहिले उक्त सडकलाई टुङ्गोमा पुर्‍याइने छ। स्थलगत अध्ययन अनुसार मुलपानीदेखि कालीमाटी जाने सडकमा छ वटा घरटहरा हटाउनुपर्ने देखिएको हो भने ओडारचौर सडकमा १३ घरको केही भाग हटाउनुपर्ने देखिएको छ।

प्रकाशित: Sep 18, 2023| 20:21 सोमबार, असोज १, २०८०
प्रतिक्रिया दिनुहोस्