काठमाडौं- राजधानीबाट प्रकाशित बुधबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई पहिलो प्राथमिकतामा पारेका छन् ।
कसैले शान्ति सम्झौता भएको आज १२ वर्ष पुगेको विषयमा स्टोरी लेखेका छन् भने कसैले सामाजिक सञ्जालको सामाजिक आन्दोलनलाई मुख्य समाचार बनाएका छन् । वाइडबडी खरिद प्रकरण संसद्को लेखा समितिमा पुगेको, राजपाको नेतृत्व फेरिएको विषयलाई पनि आजका पत्रपत्रिकाहरुले विशेष महत्वका साथ छापेका छन् ।
आजको नागरिक दैनिकले शान्ति प्रक्रियाका १२ वर्षः राहतमा मात्र १८ अर्ब खर्च शीर्षकमा मुख्य समाचार छापेको छ । सशस्त्र द्वन्द्वमा मारिएका ब्यक्तिका परिवार, बेपत्ता ब्यक्तिका हकदार, विस्थापित घाइतेलगायतका नाममा साढे १७ अर्ब रुपैयाँ बाँडिएको समाचारमा उल्लेख छ । यस्तै उसले लडाकुबाट सेनामा रुपान्तरण, शान्ति सम्झौता आत्मसमर्पण उपशीर्षकमा पनि उसले खबर लेखेको छ ।
राजपाको नयाँ संयोजक राजेन्द्र महतो बनेको विषयलाई एङ्कर न्यूज बनाएको आजको नयाँ पत्रिकाले सामाजिक सञ्जालः सामाजिक आन्दोलन शीर्षकमा मुख्य समाचार छापेको छ ।
उसले सामाजिक र राजनीतिक न्यायका लागि विश्वभरि विद्रोही विगुल बन्न सामाजिक सञ्जाल सफल भएको दावी गरेको छ । नेपालमा नाकाबन्दीदेखि बलात्कारविरुद्धको अभियान चलाउनसम्म सामाजिक सञ्जालले ठूलो भूमिका खेलेको समाचारमा उल्लेख छ ।
आजको अन्नपूर्ण पोस्ट्ले भने सबैभन्दामाथि काकाकुल काठमाडौं शीर्षकमा फोटो फिचर छापेको छ भने नेपाली क्रिकेटर सन्दीप लामिछाने ५७ लाखमा पाकिस्तान सुपर लिगमा अनुबन्ध भएको विषयलाई प्राथमिकतामा पारेको छ ।
यस्तै उसले वाइड बडी प्रकरण लेखा समितिमा शीर्षकको खबरलाई विशेष महत्वका साथ छापेको छ । समितिको मंगलबारको बैठकमा दुबै वाइड बडी विमान ल्याउँदा व्यापक अनियमितता भएको ठहर गर्दै सरोकारवाला मन्त्रालयसहित निगमका पदाधिकारीलाई बोलाउने निर्णय गरेको छ । समितिले आवाश्यक परे छानविन गर्न उपसमिति गठन हुन सक्ने समाचारमा जनाइएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४