जनकपुरधाम- प्रदेश २ को राजधानी जनकपुरधाममा मठमन्दिर तथा गुठीको जग्गा अतिक्रमण गरिनु सामान्य मानिन थालिएको छ। धार्मिक तथा सांस्कृतिक सहर जनकपुरस्थित विभिन्न मठमन्दिर र गुठीका जग्गाहरु वर्षौंदेखि अतिक्रमण भइरहँदा समेत सरोकारवाला निकाय मौन बसेपछि सामान्य झैँ लाग्न थालेको छ।
उसो त मठमन्दिर तथा गुठीका जग्गा अतिक्रमण रोक्न यस कार्यमा संलग्न व्यक्तिलाई कारबाही गर्न आवाज नउठेका पनि होइनन्। तर ठुलाबडा नै यस्ता कार्यमा जुटेपछि कारबाही कसलाई गर्ने। महन्तदेखि गुठी कर्मचारीको निशानामा पर्न थालेपछि, अतिक्रमण हुँदैछ, अर्बौ मूल्य बराबरको मठमन्दिरको जग्गाहरु।
पछिल्लो पटक जनकपुरस्थित एक मन्दिरका पुजारी गुठीको जग्गा किर्ते गरेको आरोपमा पक्राउ परेका छन्। नेपाल संस्कृत विश्वविद्यालयको आंगिक क्याम्पस हजारी जनक विद्यापीठले भोगचलन गर्दै आइरहेको जग्गा किर्तेगरी हडपेको आरोपमा पुजारी पक्राउ परेका हुन्।
नक्कली लालपुर्जा बनाई विद्यापीठको अढाइ बिघा जग्गा हडपेको आरोपमा प्रहरीले जनकपुरस्थित रत्नसागर मन्दिरका पुजारी अशोक शर्मालाई पक्राउ गरेको छ। शर्मामाथि सरकारी किर्ते मुद्दा चलाइएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताएका छन्।
विद्यापीठका प्राचार्य विजय चौधरीले रत्नसागर मन्दिरका महन्त बैकुण्ठ दास वैष्णवको योजनामा पुजारी शर्माले नक्कली लालपुर्जा बनाएको आरोप लगाएका छन्। प्राचार्य चौधरीले धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेललाई भेटेरै यस्तो आरोप लगाउँदै महन्त र पुजारी दुबैलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन्। विद्यापीठको जग्गा किर्ते गरी बेच्ने मनसायले नक्कली लालपुर्जा बनाइएको चौधरीको दाबी छ।
साविक नापीमा गुठी संस्थान अधिनस्त वराही कुट्टीको नाममा रहेको त्यो जग्गासँगै सडक पश्चिमतर्फका अन्य जग्गासहित कुल ६ बिघा ३ कठ्ठा ५ धुर जग्गा विद्यापीठलाई भोगचलन गर्न उपलब्ध गराएको अभिलेख छ। २०५० जेठ १३ गतेको मन्त्रिपरिषद बैठकले यी जग्गा विद्यापीठलाई भोगचलनका लागि उपलब्ध गराउने निर्णय गरेको थियो।
केन्द्रीय गुठी संस्थानले विद्यापीठलाई उपलब्ध गराएको सडक पूर्वको साढे दुई बिघा जग्गामा क्याम्पस व्यवस्थापनले घेराबेरा गरी सडक छेउको दक्षिणतर्फको भागमा भौतिक संरचनासमेत निर्माण गरिसकेको छ।
तर पछिल्लो पटक सार्वजनिक भएको लालपुर्जामा जग्गाधनी महलमा रत्नसागर मन्दिरका महन्त बैकुण्ठ दासलाई संरक्षक महलमा र मोही महलमा पुजारी शर्माको नाम राखिएको छ।
किर्तेगरी नक्कली लालपुर्जा बनाइएको भन्दै विद्यापीठका प्राचार्यले कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका छन्। मुद्दा छानबिनको क्रममा मोही महलमा नाम उल्लेख गरिएका शर्मा पक्राउ परेपनि संरक्षक महलमा नाम रहेका रत्नसागर मन्दिरका महन्त दासलाई भने कारबाहीको दायरामा ल्याइएको छैन्।
कारबाहीको दायरामा मोहीमात्र नभइ संरक्षणकर्तासमेत हुनुपर्ने प्राचार्य चौधरीको भनाइ छ। चौधरीका अनुसार २०५० सालदेखि विद्यापीठले भोगचलन गर्दै आइरहेको सिट नम्बर १३५४÷१४ को कित्ता नम्बर ६२ को २ कठ्ठा ११ धुर तथा सिट नम्बर १३५४-१५ को कित्ता नम्बर १, २, २८ र ४९ को २ बिघा ८ कठ्ठा १४ धुर जग्गा फर्जीलालपुर्जा बनाइ पुजारी शर्माले बेच्न खोजेका थिए।
यसअघि २०६८ सालमा पनि रत्नसागर मन्दिरका महन्त दासले गुठी कार्यालयका तत्कालीन प्रमुख राजाबाबु पाण्डे र मालपोत कार्यालयको मिलोमतोमा त्यो जग्गाको आफ्नो नाममा लालपुर्जा बनाएको प्राचार्या चौधरी बताउँछन्। तर, त्यतिबेला विद्यापीठ प्रशासन तथा नागरिक समाजको पहलमा फर्जी लालपुर्जा बदर गराइएको प्राचार्य चौधरीले बताए। जनकपुरधाम उपमहानगरपालिका–८ स्थित रहेको उक्त जग्गा धुरको २० लाखसम्म बिक्रि हुँदै आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४