शनिबार, साउन ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उत्तर प्रदेशका मुख्यमन्त्री योगीले रेल उद्घाटन गर्ने

उत्तर प्रदेशका मुख्यमन्त्री योगीले रेल उद्घाटन गर्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम-भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आउँदै छन् । रामजानकी विवाह महोत्सवको अवसर पारेर योगी जनकपुर आउन लागेका हुन् ।

यसअघि रामजानकी विवाहोत्सवमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने कार्यक्रम थियो । तर, मोदीको जनकपुर भ्रमण रद्द भएको छ । विवाहोत्सवमा सहभागी हुने क्रममा मोदीले भारतको आर्थिक सहयोगमा निर्माण गरिएको जनकपुर-जयनगर ब्रोडगेज रेल उद्घाटन गर्ने बताइएको थियो ।

मोदीको जनकपुर भ्रमण रद्द भएपछि भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंह विवाहोत्सवमा सहभागी हुने र रेलको उद्घाटन गर्ने कार्यक्रम थियो । तर, गृहमन्त्री सिंहको पनि भ्रमण रद्द भएपछि अब उत्तर प्रदेशका मुख्यमन्त्रीले नवनिर्मित रेलखण्डको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

रामजानकी विवाहोत्सवमा सहभागी हुने क्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगीले रेल उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले बताएका छन् ।

२६ मंसिरमा रामजानकी विवाहोत्सवमा जन्ती बनेर आउने क्रममा मुख्यमन्त्री योगीको रेल उद्घाटन गर्ने कार्यक्रम तय भएको मन्त्री यादवले बताए ।

'जनकपुर-जयनगर रेल खण्ड तयारी अवस्थामा छ,' कानुनमन्त्री यादवले नेपाल समयलाई भने, 'अहिलेसम्म तय कार्यक्रम अनुसार उहाँको रेल उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । पछि के हुन्छ भन्न सकिन्न ।'

योगीको जनकपुर भ्रमणको नेतृत्व स्थानीय तहसँगको समन्वयमा प्रदेश सरकारले गरिरहेको बताउँदै कानुनमन्त्री यादवले रेल उद्घाटनको कार्यक्रम लगभग तय रहेपनि उद्घाटनस्थलको बारे टुंगो लाग्न नसकेको बताए । 

'योगीले रेल उद्घाटन गर्ने लगभग तय छ,' उनले भने,'सुरक्षा व्यवस्थालाई ध्यानमा राखेर उद्घाटनस्थल बारे निर्णय लिन्छौं ।' योगी भारतको जयनगर पुगेर उद्घाटन गर्ने संभावनाबारे समेत कुनै टुंगो लाग्न नसकेको उनले बताए ।

विवाहोत्सवमा सहभागी हुन आउने उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई वासका लागि जनकपुरमा रोक्ने तयारी प्रदेश सरकारले गरेको छ । जनकपुर वसाइको क्रममा योगीलाई रात्री भोजको व्यवस्था गर्ने प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको तयारी छ ।

'योगीज्यूलाई हामीले एक दिन जनकपुरमा बस्न आग्रह गरेका छौं,' यादवले भने,'एक रात वास बसेर उहाँलाई रात्री भोजमा बोलाउने सोच सरकारले बनाएको छ ।' रात्रीवास नभएको अवस्थामा उहाँको सम्मानमा दिवा भोजको व्यवस्था गरिने उनले बताए ।

यसका साथै रामजानकी विवाहोत्सवको अवसरमा भारतको अयोध्याबाट जन्ती बनेर आउने साधुसन्तलाई समेत प्रदेश सरकारले दिवा भोजको व्यवस्था गर्ने तयारी गरेको छ । साधुसन्त सहभागी हुने दिवा भोजको दुबै मुख्यमन्त्रीले संयुक्त रुपमा निरीक्षण गर्ने हालसम्मको कार्यक्रम तय भएको मन्त्री यादवको भनाइ छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।