जनकपुरधाम–नेपाल तथा विहारबीच बस सेवा सञ्चालन भएयता २० हजारभन्दा बढी यात्रु लाभान्वित भएका छन् । प्रदेश २ को राजधानी जनकपुरबाट पटना र काठमाडौं–बोधगयाबीच सञ्चालन भएको बस सेवा लिएर यतिको संख्यामा यात्रुहरु लभान्वित भएका हुन् ।
२८ भाद्रमा विहारका मुख्यमन्त्री नितिश कुमारले विहारको राजधानी पटनाबाट र ३१ भाद्रमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरबाट हरियो झण्डा देखाएर बस उद्घाटन गरेका थिए । नेपाल–भारतबीचको पारवहन सम्झौता अनुसार दुई स्थानबीच बस सेवा सञ्चालनमा आएको हो ।
यसअघि जनकपुरबाट पटनासम्म पुग्न सीमा कटेर बस समाउनु पर्ने बाध्यता रहेको अवस्थामा दुई स्थानबीच बस सेवा सञ्चालनमा आइसकेपछि पटना पुग्न यहाँका यात्रुहरुलाई सहज भएको छ ।
टिकट पाउनै कठिन हुनेगरेकोले दुई स्थानबीच आउजाउ गर्नेको संख्या धेरै रहेको पुष्टी हुन्छ । दुई स्थानबीच यात्रा गर्ने यात्री धेरै रहेकोले बस भरिभराउ नै रहने गरेको जनकपुरस्थित व्यवस्थापक सुमन्तकान्त ठाकुरले बताए । सञ्चालन भएको दुई महिनामा खाली बस पठाउने समस्या हालसम्म नभएको ठाकुरको भनाइ छ ।
ठाकुरका अनुसार जनकपुरबाट दैनिक ४ वटा बस पटनाको लागि छुट्ने गरेको छ । यसैगरी पटनाबाट पनि दैनि ४ वटा बस जनकपुरको लागि छुट्छ । यात्रुको माग अनुसार हालसम्म चारवटा बस सञ्चालन कुनै कठिनाइ नदेखिएको जनकपुर अञ्चल बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरीले बताए ।
पछिल्लो दुई महिनाको अवधिमा जनकपुर–पटनाबीच मात्रै १२ हजार भन्दा बढी यात्रु बस सेवाबाट लाभान्वित भएको चौधरीको भनाइ छ । उनले दुई देशबीचको बस सेवा अन्तर्गत काठमाण्डु–बोधगयालाई पनि हेर्दा यसअवधिमा १५ हजार यात्रु लाभान्वित भएको हुनुपर्दछ बताए । यात्रुको चाप यस्तै रहिरहने हो भने थप बसको आवश्यक्ता पर्न सक्ने उनले बताए ।
जनकपुर–पटनाबीच दैनिक डेढ सयदेखि दुई सय यात्रु आवत जावत गरिरहेको बस व्यवस्थापनको जनकपुरस्थित कार्यालयको तथ्यांकले देखाउँछ । नेपाल–भारत मैत्री बससेवा नाम दिइएको बससेवाका लागि नेपालको तर्फबाट काठमाण्डौस्थित स्वयंभु मञ्जुश्री प्रा.लि. र भारततर्फबाट विहार सरकारको विहार राज्य पथ परिवहन विभागले बस उपलब्ध गराएको छ ।
४० सिट क्षमताको वातानुकुलित बसमा यात्रा गर्न जनकपुर–पटनाबीचको भाडा ४४० र बोधगया–काठमाण्डुको भाडा दुई हजार नेपाली रुपैयाँ निर्धारण गरिएको छ । जनकपुरबाट पटनाको लागि बिहान ८ र १० तथा राति ८ र ८:३० बजे बस छुट्ने गरेको छ ।
दुई मुलुकबीचको पर्यटन प्रवद्र्धनका साथै सांस्कृति सम्बन्ध थप प्रगाढ बनाउने उद्देश्यले बस सेवा सञ्चालनमा ल्याइएको हो । बस सञ्चालनमा आइसकेपछि यहाँका सर्वसाधारणलाई भारत पुग्न सहज भएको छ ।
सीमामा समस्या
दुई मुलुकबीच बस सेवा सञ्चालनमा आइसकेपछि सर्वसाधारण यात्रुलाई आवतजावत सहज भएपनि सीमामा भने समस्या देखिएको छ । आवतजावतका लागि भारतीय सीमामा खासै समस्या नभएपनि नेपाली सीमामा समस्या भोग्नु परिरहेको जनकपुर अञ्चल बस व्यवसायी संघका अध्यक्ष चौधरी बताउँछन् । पटनाबाट जनकपुर पुग्ने बसलाई महोत्तरीको जलेश्वर भन्सारमा हरेक दिन बिहान दुई घण्टा कुर्नुपर्ने बाध्यता रहेको चौधरीले जानकारी दिए ।
भन्सार कार्यालयले बिहान ६ बजेअघि नेपाल प्रवेश गर्न अनुमति नदिँदा यात्रुहरुलाई दैनिक डेढदेखि दुई घण्टा अनाहकमा कुर्नुपर्ने समस्या देखिएको उनले बताए । यसैगरी राति १० बजेभित्र सीमा कटिसक्नुपर्ने भएकोले जनकपुरबाट सबेरै बस खोल्नु परेको उनको भनाइ छ ।
दुई मुलुकबीचको पारवहन सम्झौता अनुसार सञ्चालन भइरहेको बसलाई नाकामा सहज प्रवेशको लागि विभिन्न निकायमा आग्रह गरेपनि कुनै सुनवाइ नभएको अध्यक्ष चौधरी बताउँछन् ।
‘नाकाको समस्या सामाधानका लागि संघीय सरकार, प्रदेश सरकार, धनुषा तथा महोत्तरीका प्रमुख जिल्ला अधिकारी लगायतका स्थानमा आग्रह गरेका छौं,’ उनले भने,‘तर समस्या समाधान हुन नसकेपछि, यात्रुहरुलाई अनाहकमा समस्या भोग्नु परिरहेको छ ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४