कावासोती- नवलपरासीको नवलपुरमा भएकाे सवारीसाधन दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।
गैँडाकोट नगरपालिका- ४ मा ना २ ह ५७५१ नं को अटोरिक्सा रोकिराखेको ना २ ह ८८४ नं को अटोरिक्सासँग ठोक्किँदा लमजुङ सुन्दरबजारका ६० वर्षीया लुरी सार्कीको मृत्यु भएको हो । गम्भीर घाइते उहाँको उपचारको क्रममा भरतपुरस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।
दुई मोटरसाइकल ठोक्किँदा चार जना घाइते
कवासोती– १५ बरौलीको भित्री सडक खण्डमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा चार जना घाइते भएका छन् ।
लु ४० प २३३३ नं को मोटरसाइकल र ना २३ प ७८७१ नं को मोटरसाइकल एकापसमा ठोक्किँदा कावासोती–१२ का २५ वर्षीय राज गुरौ, कावासोती–१४ का २१ वर्षीय समिल थापामगर, सोही ठाउँका २० वर्षीय वीरेन्द्र महतो र १९ वर्षीय बिवेक थनेत घाइते भएका हुन् । उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४