काठमाडौं- उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण भ्रमण गरेका छन्।
डिजाइन फेज सम्पन्न हुने चरणमा रहेको उक्त आयोजनाको सोमबार सिन्धुलीको खुर्कोट पुगेर उर्जामन्त्री पुनले निरीक्षण गरेका हुन्। सिन्धुलीका प्रतिनिधिसभा सदस्य रहेका पूर्वकृषीमन्त्री हरिवोल गजुरेल र गणेश पहाडीसंगै खुर्कोट पुग्नुभएका मन्त्री पुनले आयोजनाको डिटेल सर्वे चार महिना भित्र सम्पन्न हुने जानकारी दिए।
उर्जामन्त्री पुनले आयोजनाको ड्यामस्थलको भ्रमण गर्नुका साथै परियोजनाका प्रमुख शुसिल आचार्यसहित स्थानीय जनप्रतिनिधीसंग समेत छलफल गरेका थिए।
उनले आयोजनाको लागी स्रोत जुटाउने काम जारी रहेको भन्दै यसै आर्थीक वर्षभित्र परियोजना अघि बढाउने बताए। मन्त्री पुनले सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजना राष्ट्रिय गौरवको आयोजना रुपमा अघि बढाउंने घोषणा समेत गरेका छन्।
मन्त्री पुनले भने, ‘यो बहुउद्देश्यिय परियोजना हो,तयारी अवस्थामा रहेकोले यो परियोजना सरकार,प्रधानमन्त्री र मन्त्रालयको प्राथमिकतामा रहेको छ।’
निर्माण अवधि ५ बर्ष लाग्ने अनुमान गरिएको उक्त आयोजनाको विद्युत गृह बनाउन ५२ अर्ब ८८ करोड र सिंचाईतर्फ ३२ अर्ब लागत अनुमान गरिएको छ ।
उहाले उक्त परियोजनालाई अघि बढाउन स्थानीय जनता र जनप्रतिनीधीहरुलाई समेत सहयोग गर्न आग्रह गरे। मन्त्री पुनले विकास र पुर्वाधारको माध्यमबाट सुनकोशी मरिन डाईभर्सन परियोजनाले हिमाल र पहाडलाई जोड्नुका साथै राष्ट्रिय एकता निर्माण गर्ने माध्यमको रुपमा समेत उपयोगि हुने धारणा राखे।
‘सुनकोशी मरिन डाईभर्सन परियोजना तरँई मधेषको कोर दुई नम्बर प्रदेश र पहाडको एक लाख २२ हजार हेक्टरमा सिंचाई सुविधा पुग्दा तरक्की नै हुन्छ, यसले हिमाल,पहाडलाई जोड्नुका साथै राष्ट्रिय एकता समेत निर्माण गर्छ’, मन्त्री पुनले कार्यक्रममा भने।
सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजनाबाट दुई नम्बर प्रदेशको १ लाख २२ हजार हेक्टर जमिनमा सिंचाई हुनुका साथै मरिन भ्यालीमा पनि सिंचाई सुविधा पुर्याउने लक्ष्य रहेको छ ।
त्यसका साथै उक्त आयोजनाबाट ४२.५ मेगावाट विजुली उत्पादन गर्ने सरकारको लक्ष्य रहेको छ। उक्त आयोजनाका प्रमुख शुसिल आचार्यले उक्त परियोजनाबाट दुई नम्बर प्रदेशलाई खानेपानीको लागी पानी उपलव्ध गराउने लक्ष्य समेत राखिएको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४