इलाम- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याउने भनिएको पानी जहाजमा आफू पनि यात्रा गर्न आतुर भएको भन्दै व्यङ्ग्य गरेका छन्।
नेता डा कोइरालाले भने, ‘प्रधानमन्त्रीले पानीजहाज यही पुस भित्र ल्याउँछु भन्नु भएको थियो। त्यो पानी जहाजमा तपाईसँगै म पनि जान चाहन्छु।’
कोइरालाले आफूलाई पानीजहाज चढ्न आतुरी भएको जनाउँदै २ बर्षमा रेल ल्याउँछु भन्ने प्रधानमन्त्री ओलीको घोषणा पुरा होस भन्ने कामना समेत गरे। ‘रेल त ल्याउनुस हामी पनि चढौंला तर नेपालीलाई ऋणको भारी नबोकाउनुस’, कोइरालाले भने, ‘दण्डहिनता बढीरहेको, नीतिगत भ्रष्टाचार भइरहेको र त्यसको नमुनाको रुपमा वाइडबडी जहाज खरिद प्रकरणलाई लिन सकिन्छ।’
इलामको दानाबारीमा कांग्रेस संस्थापक बीपी कोइरालाको शालिक अनावरण गर्दै उनले वाइड बडी जहाज खरिद गरेको वा भाडामा ल्याएको भन्ने बिषयमा विभागीय मन्त्री नै प्रष्ट हुन नसकेको र कागजात नै फेला नपरेको घटनाले भ्रष्टाचार भएकोले देखिन आएकोले छानबिन जरुरी भएको बताए। नीजगढ अन्तराष्ट्रिय विमानस्थल निर्मणको लागि एउटा मन्त्रीले २४ लाख रुख काट्ने भन्दा बन मन्त्रीले ३ लाख रुख काटे हुन्छ भन्नुमा पनि अनियमितताको षडयन्त्र रहेको बताए।
कोइरालाले आफैले भ्रष्ट भनेको महाप्रवन्धकलाई फेरि सोही पोष्टमा नियुक्ति दिएको र देशलाई नै खोक्रो बनाउन वर्तमान सरकार लागि परेको आरोप लगाए। देशको प्रधानमन्त्रीले नै आफ्नो कुरा प्रहरी, प्रसशासन र कर्मचारीले नसुनेको गुनासो गर्ने प्रधानमन्त्रीले न्यायपालिकाले समेत नमानेको भनेर गुनासो गर्नु लाजमर्दो भएको कोइरालाले टिप्पणी गरे।
निर्मला पन्तको हत्यारा पत्ता लागाउन अझै १२ बर्ष लाग्नसक्छ भनेर प्रधानमन्त्री ओलीले अमेरिकामा गएर अभिव्यक्ति दिनुलाई कोइरालाले संकास्पदको संज्ञा दिए । प्रधानमन्त्री केपी शर्मा ओली शक्तिको भोको भएको भन्दै डा कोइरालाले कम्यु्निस्टहरु सँधै शक्तिको भोको हुनु उनीहरुको संस्कार भएको दाबी गरे।
‘राजश्व अनुसन्धान विभाग, राष्ट्रिय अनुसन्धान विभाग, एनजीओ आइएनजीओको अनुगमन प्रधानमन्त्रीले आफ्नै मातहत राखेका छन्, कोइरालाले भने, ‘२५ अर्ब माथिको प्रोजेक्ट आफै हेर्छु भनेर राख्नु शक्तिको भोक कति रहेछ भन्ने स्पस्ट हुन्छ ।’ उनले अन्य मन्त्रालयको जिम्मेवारी लिएका मन्त्रीहरुलाई समेत प्रधानमन्त्री ओलीले विश्वास गर्न छोडिसकेको दावी गरे।
संघीय सरकारले स्थानीयलाई १०देखि १५ प्रतिशत, प्रदेशलाई ९ देखि १० प्रतिशत र वाँकी बजेट सबै आफ्नैमा राखेको, प्रहरी र प्रशासन संघीय सरकारको मातहतमै राख्नुले सरकार संघीयता चाहँदैन भन्ने प्रष्ट भएको दाबी गरे। उनले भने भने ‘शान्ति सुरक्षा हेर्ने सिडिओ र प्रहरी प्रमुख संघीय सरकारको मातहत भएपछि प्रदेश सरकारको गृह मन्त्रीको के काम हो?’
कर्मचारी समेत प्रदेश सरकारलाई नदिएर संघीय सरकारले केन्द्रीकृत शासन चलाइरहेको आरोप लगाए। कोइरालाले एमाले र माओवादी मिलेका कारण मात्र कांग्रेसले गत निर्वाचनमा पराजित नभएको जनाउँदै कांग्रेसको संगठन कमजोर भएको नदेखि एमाले र माओवादीलाई मात्र दोष दिन नमिल्ने बताए। दुई तिहाईको सरकारले लोकतन्त्र समाप्त पार्छ भन्ने भ्रम नराख्न उनले आग्रह गरे।
कांग्रेसमा बिबाद भएको मुख्य कारण गुट र उपकुट मात्र नभएको जनाउदै उनले संवादहिनताले गर्दा कांग्रेस कमजोर भएको दबाी गरे। उनले भने ‘बैचारिक गुट सानो तिनो हुन्छ । गुटलाई जव प्रतिष्ठाको बिषय बनाईन्छ अनि यो बिबाद बढेर जान्छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४