बलिउडका सदावहार अभिनेता शम्मी कपुरका सुरुवाती १९ वटा चलचित्र लगातार असफल भएपछि चलचित्र संसारबाट उनको मोह भंग भएको थियो। चार वर्षको संघर्ष र लगातारको असफलताले उनमा यस्तो निराशा जन्माएको थियो कि उनले अभिनय छोडेर असमको चिया बगानमा म्यानेजरी गर्ने मन बनाइसकेका थिए।
भनिन्छ नि १२ वर्षपछि खोलो फर्किन्छ। शम्मी कपुरको हकमा पनि यो आहान लागू भयो। १९ चलचित्रको असफलतापछि सन् १९५७ मा नासिर हुसैनको निर्देशनमा बनेको चलचित्र ’तुमसा नहीँ देखा’ बाट शम्मीले हंगामा नै मच्चाइदिए।
शम्मीलाई सबैभन्दा ठूलो चुनौति त आफ्नो घरमै थियो। उनका पिता पृथ्वीराज कपुर ठूला अभिनेतामा गनिन्थे भने दाइ राज कपुरले आफ्नो कलात्मकताले सानो उमेरमा नै आफूलाई स्थापित गरिसकेका थिए। शम्मी सन् १९५१ मा ‘जीवन ज्योति’ चलचित्रबाट आफ्नो करियरको सुरुवात गर्दै थिए भने त्यसै वर्ष राज कपुर आवारा चलचित्रबाट सफलताको शिखरमा पुगिसकेका थिए।
शम्मीको पहिलो चलचित्र १९५३ मा प्रदर्शन भयो र त्यसछिको ४ वर्ष लगातार उनी असफल भइरहे। असफलताको बीच नै उनले त्यतिबेलाकी सुपरस्टार मानिने गीता बालीसँग सन् १०५५ मा बिहे पनि गरे। गीता चलचित्र क्षेत्रमा शम्मीभन्दा वरिष्ठ थिइन् भने उमेरमा पनि उनीभन्दा जेठी थिइन्। तर यी दुईको प्रेम सम्बन्ध भने निकै प्रगाढ थियो।
सजिलो थिएन स्थान बनाउन
शम्मीले एक अन्तर्वार्तामा भनेका छन्- चलचित्र क्षेत्रमा मलाई आफ्नो स्थान बनाउन निकै सकस भएको थियो। म पृथ्वीराज कपुरको छोरा, राज कपुरको भाइ र गीता बालीको पति पनि थिएँ। दर्शकहरु मेरो तुलना राज कपुरसँग गर्न लागेका थिए। तर चलचित्रमा त्यो छवि बनाउन मेरो लागि गाह्रो भइरहेको थियो।
त्यस समयमा चलचित्र क्षेत्रमा राज कपुर, दिलीप कुमार र देव आनन्दका चलचित्रहरुको बोलवाला थियो। अथवा भनौं यी तीनलाई ध्यानमा राखेर चलचित्र र त्यसको भूमिका लेखिन्थ्यो। यसै कारण पनि शम्मी कपुर कुनै राम्रो भूमिका पाइरहेका थिएनन्।
शम्मीलाई सन् १९५७ मा ‘तुमसा नहीँ देखा’ चलचित्र हात लाग्यो। पहिले त निर्देशक नासिर हुसैनले उनलाई लिन मानेका थिएनन्। चलचित्रको लागि पहिले देव आनन्दलाई भनिएको थियो तर उनीसँग समय थिएन। दोस्रो रोजाइमा परेका सुनील दत्तसँग पनि छायांकनको लागि समय मिलेन। अनि बल्ल पालो आयो शम्मीको।
बलिउड टप २० सुपरस्टार्स अफ इन्डियन सिनेमामा शम्मी कपुरमाथि छापिएको लेख, ‘द स्टार लाइक नो अदर’मा नसरीन मुन्नी कबीरले लेखेका छन्, शशीधर मुखर्जीले नासिर हुसैनलाई भनेका थिए- यो चलचित्रको लागि तिमी शम्मी कपुरलाई ट्राइ गर, उसमा सम्भावना छ। त्यो चलचित्रमा काम गर्ने बेलामा नै शम्मीले फिल्म इन्डस्ट्रीलाई अलविदा भन्ने निर्णय गरिसकेका थिए। तर चलचित्र तुमसा नहीं देखामा उनले यस्तो चमत्कार गरे जसले उनलाई ठूलो स्टार बनाइदियो। वास्तवमा उक्त चलचित्रबाट शम्मीको स्टाइल र अन्दाजको यस्तो सयम सुरु भयो जसले उनलाई एक दशकसम्म सफलताको शिखरमा टिकाइराख्यो।
वास्तवमा तुमसा नहीँ देखा चलचित्र रिजिल हुनुअघिसम्म भारतीय चलचित्रका नायक प्रायः गाउँदै गरेका देखिन्थे, नृत्य गर्थेनन्। गरे पनि उभिएर हल्का नाच्नु अथवा डुलेको जस्तो गरेर हातखुट्टासम्म हल्लाउँथे। यो चलचित्रबाट एउटा यस्तो हिरो अगाडि आयो, जसको हातखुट्टा सबै बिजुलीको जस्तो चल्थ्यो। उसको हिँडाइमा स्टारको जस्तो अन्दाज थियो। उनी मज्जाले नृत्य गर्ने, आफ्नो अनुहारबाट हरेक प्रकारको भाव अभिव्यक्त गर्थे भने उनको डाइलग डेलिभरीमा पनि एक रिदम देखिन्थ्यो।
उनको लुगा र हेयस्टाइलले पनि अरुभन्दा विशेष बनाएको थियो। उनी पहिलो यस्ता कलाकार थिए जसले भारतीय फिल्मी पर्दामाथि युवाहरुको मनको भावना र चाहनालाई खुलस्त रुपमा अभिव्यक्त गरेका थिए। तुमसा नहीँ देखाको एउटा गीत, ’जवानिया ये मस्त मस्त बिन पिए, जलाती जा रही है राह मे दिए’ ले युवा पिँढीको लालसालाई नयाँ आयाम दियो र बक्स अफिसमा चलचित्रले जादू नै गर्यो। शम्मी पनि यहाँबाट स्टारमा दरिए।
द स्टार लाइक नो अदर
नसरीन मुन्नी कबीरले आफ्नो लेख ‘द स्टार लाइक नो अदर’मा लेखेअनुसार शम्मीभन्दा पहिलेका भारतीय हिरोहरु पर्दामा मैनजस्तै देखिन्थे जोे प्रायः घरपरिवारको जिम्मेवारीको बोझ उठाइरहेका हुन्थे। नभए संस्कारमा बाँधिएका देखिन्थे। तर शम्मीले उक्त बन्धनलाई तोडेका थिए। उनलाई पर्दामा हेर्नु भनेको एक युवकलाई हेर्नु थियो। यो अन्तर उनले केवल एक चलचित्रको माध्यमले तोडिदिएका थिए।
उक्त चलचित्रको सफलतापछि उनको घर बाहिर निर्माताहरुको लाइन लाग्न थालेको थियो। शम्मी कपुरको जीवनी ‘शम्मी कपुरः द गेम चेन्जर’ मा रऊफ अहमद लेख्छन्, 'तुमसा नहीं देखाको सफलतापछि त्यसको सफलतालाई भजाउनेहरुको भीड थियो। तर उनकी श्रीमती गीता बालीले सल्लाह दिइन् विचार पुर्याएरमात्र चलचित्र साइन गर्न। यसको लागि एउटा सजिलो बाटो पनि उनले सुझाइन्- १ लाखभन्दा कम पैसामा कुनै चलचित्र साइन नगर।
त्यस समयमा १ लाख रुपैयाँ भनेको निकै ठूलो रकम थियो। उनका पिता र दाइले पनि त्यति ठूलो पारिश्रमिक पाइरहेका थिएनन्। तर उनलाई निर्माताले १ लाखसम्म दिनको लागि तयार भए। तर पनि उनले त्यसपछिको ६ महिना कुनै चलचित्रमा काम गरेनन्।
उनको स्टारडमलाई पक्का जमाउनको लागि नासिर हुसैनको निर्देशनमा बनेको अर्को चलचित्र ‘दिल देके देखो’ ले गर्यो। सन् १९५९ मा आएको उक्त चलचित्रले शम्मी कपुर वास्तविक कलाकार हुन् भन्ने साबित गरिदियो र यसरी उनी स्थापित भए। उनले ४० वर्षको उमेरपछि प्रमुख भूमिका खेल्न छोडेका थिए। यस्तो गर्ने आफ्नै पाराका उनी एक्ला स्टार पनि हुन्।
पर्दाकी नायिकासँग वास्तविक रोमान्स
चलचित्रहरुमा शम्मीले आफ्नी नायिकाहरुसँग गरेका रोमान्सको आफ्नै कथा छ। एउटा डकुमेन्ट्रीमा नायक रणवीर कपुर आफ्ना पिता ऋषि कपुरको भनाइलाई उद्धृत गर्दै भन्छन्, ‘रोमान्स गर्नु छ भने शम्मी कपुरसँग सिक। वास्तवमा जब उनी चलचित्रकी नायिकाको अगाडि उभिन्थे लाग्थ्यो- उनी वास्तवमा प्रेम नै गरिरहेका छन्।’
शम्मी कपुर आफ्नो करियरमा नयाँ अभिनेत्रीहरुसँग काम गर्नको लागि चर्चित रहे। चलचित्र तुमसा नहीँ देखाकी अभिनेत्री अमिता, मुजरिमकी रागिनी, दिल देके देखोकी आशा पारेख, कश्मीरकी कलीकी शर्मिला टैगोर र प्रोफेसरमा कल्पना। यी सबै नायिकाहरुले आफ्नो करियर शम्मी कपुरसँग सुरु गरेकी थिइन्।
दुई विवाह र प्रेम प्रसंग
शम्मीको सफलताका बीच १९६५ मा उनकी श्रीमती गीता चिकेनपक्स रोगले बिरामी भइन् र उनको मृत्यु हुन गयो। उक्त घटना उनका लागि कुनै दुर्घटनाभन्दा कम थिएन। शम्मी भन्थे- जब म सफलताको आकाशमाथि थिएँ, त्यतिबेलै भगवानले त्यसमा ब्रेक लगाइदिए।
गीताको मृत्युपछि नायिका मुमताजसँग उनको प्रेमको निकै चर्चा थियो। मुमताजले धेरै पछि एक अन्तर्वार्तामा भनेकी छन्, शम्मी मसँग विवाह गर्न चाहन्थे। यसै करण उनको दाइ राज कपुरले चलचित्र जोकरमा मलाई मौका दिएनन्। उनी घरकी महिलालाई चलचित्रमा काम गर्न दिने पक्षमा थिएनन्। तर म बडो मेहनतले बनाएको आफ्नो काम छोड्ने पक्षमा थिइनँ। यता शम्मीलाई पनि आफ्नो दुबै बच्चाको लागि पत्नी चाहिएको थियो।
अभिनेत्री नूतन र उनको प्रेम प्रसंगको कारण नै नूतनकी आमा शोभना समर्थले नूतनलाई पढ्नको लागि यूरोप पठाइदिएकी थिइन्। शम्मीले नूतनलाई सधैं आफ्नो चाइल्डहुड गर्लफ्रेड भन्थे। त्यसपछि उनलाई मधुबाला एकदमै मन परेकी थिइन् तर त्यतिबेला मधुवाला र दिलीप कुमार प्रेममा थिए।
दोस्रो विवाहको कथा
त्यसपछि शम्मीको अफेयर बीना रमानीसँग चल्यो। तर त्यो सम्बन्ध पनि धेरै दिन टिकेन। त्यसपछि राजकपूरकी पत्नी कृष्णा कपुरले भावनगर राज परिवारकी नीला देवीसँग उनको विवाहको कुरा चलाइन्।
भावनगरको राज परिवार, राज कपुरको मित्र परिवारमध्ये थियो र थिएटरका मालिक भएका कारण परिवारमा शम्मीको आउजाउ थियो। तर बिहेको कुरा थियो त्यही भएर नीलासँग शम्मीले स्वयं कुरा गर्न चाहेका थिए।
नीला देवीले एक अन्तर्वार्तामा भनेकी छन्, 'त्यतिबेला ल्यान्डलाइनको जमाना थियो। शम्मीले अबेर राति फोन गरेका थिए। मेरो घरकाहरुले उनलाई धेरै राति भयो भोलि कुरा गर्न भन्दा पनि उनले पुनः फोन घुमाएका थिए। त्यसपछि हाम्रो कुरा भयो। उनले आफ्नो बारेमा मलाई सबै बताए। विवाह र प्रेम प्रसंगहरुको बारेमा पनि बताएका थिए। उनले भनेका थिए- तिमी आफ्नो घरमा कुरा गरेर भन र ब्रेकफास्ट गर्नको लागि मेरो घर आउ, त्यो पनि सधैंको लागि। यसरी पहिलो दिन नै उनीहरुको कुरा बिहान पाँच बजेसम्म भएको थियो। त्ययसपछि उनीहरु विवाह बन्धनमा बाँधिए।
शम्मी कपुरको अर्को चलचित्र सन् १९६१ मा आएको ‘जंगली’ पनि सुपरहिट साबित भयो। यसको ‘याहू...कोई मुझे जंगली कहे, कहता रहे...’ गीत सदावहार छ। यसमा उनीसँग नायिका सायरा बानो थिइन्, जसको यो पहिलो चलचित्र थियो।
जब शम्मीले आफ्नो करियरको दोस्रो पारी सुरुवात गरे, १९७५ मा उनको चलचित्र जमीरमा भने उनी सायरा वानोका पिता बनेका थिए। यद्यपि सन् १९६१ देखि १९७१ सम्म उनका लगातार चलचित्र हिट भए। जसमा प्रोफेसर, ब्लफ मास्टर, कश्मीर की कली, राजकुमार, जानवर, तीसरी मंजिल, एन इभनिङ इन पेरिस, ब्रह्मचारी, प्रिन्स, तुमसे अच्छा कौन है र अन्दाज सामेल छन्।
शम्मीले त्यसपछि आफ्नो दोस्रो पारीको सुरुवात गरे। उनले क्यारेक्टर रोल भएको चलचित्र सन् १९७५ मा बीआर फिल्म्सको ‘जमिर’ चलचित्रबाट गरेका थिए। त्यसपछि प्रेम रोग, परवरिश, हिरो र विधाताजस्ता राम्रो चलचित्रहरुमा उनले काम गरे।
इन्टरनेटलाई भारतमा ल्याउने सुरुवाती व्यक्ति
शम्मी कपुरले अध्यात्मको बाटो पनि रोजे र उत्तराखण्डको एक धर्मगुरुसँग लामो समय व्यतित गरे। तर उनको जीवनमा ठूलो परिवर्तन १९८८ मा इन्टरनेट आएसँगै भयो। उनी भारतमा एप्पल कम्प्युटर र इन्टरनेट प्रयोग गर्ने पहिलो व्यक्ति थिए।
लामो समय बिरामी रहेका शम्मीले आफ्नो जीवनको अन्तिम आठ वर्ष ह्विलचेयरमा व्यतित गरेका थिए। तर उनमा जिउने उत्साह सधैं कायम रह्यो। उनले अन्त्यसम्म पनि चलचित्रमा काम गरे। निधनभन्दा केही दिन अगाडिमात्रै इम्तियाज अलीको फिल्म कस्टारमा उनी रणवीर कपुरलाई गुरु मन्त्र दिँदै गरेको देखिएका थिए।
रक्सी–सिगरेट र तीव्र गतिमा ड्राइभिङका शौखिन
रक्सी–सिगरेटसँगै शम्मीलाई तीव्र गतिमा ड्राइभिङ गर्न मन पर्थ्यो। उनी यी तीनै चिजका शौखिन थिए। सन् २०११ मा शम्मीको निधन भयो। शम्मीलाई आफ्नो करियरमा डान्सिङ स्टार, रिबेल अभिनेता, भारतीय सिनेमाको एल्विस प्रिसले, याहू स्टार र द गेम चेन्जरजस्तो नामले समेत चिनिएको थियो। उनलाई पहिलो पटक चलचित्र प्रोफेसरको लागि १९६३ मा फिल्मफेयर पुरस्कारको लागि नामांकित गरिए पनि उनलाई उक्त सम्मान १९६८ मा ब्रह्मचारीको लागि प्रदान गरिएको थियो।
विधातामा सपोर्टिङ एक्टरको लागि उनलाई दोस्रो पटक फिल्म फेयर अवार्ड प्रदान गरिएको थियो। उनलाई कहिल्यै पनि जिम्मेवार एक्टरको रुपमा हेरिएन। उनी सधैं एक लाउड एक्टरको रुपमा चिनिए।
- बीबीसी हिन्दीको सहयोगमा