वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी पत्रकार जमाल खशोग्जीको हत्याको श्रव्य टेपबारे आफूले नसुन्ने बताएका छन्। त्यो श्रव्य सामग्री निकै 'पीडादायी र हिंसात्मक' भएको उनले बताए।
साउदी अरेबिया सरकारका कटु आलोचक अर्थात् अमेरिकी पत्रिका ‘द वासिङ्टन पोष्ट’ का स्तम्भ लेखक खशोग्जीको गत अक्टोबर २ मा टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा हत्या भएको थियो।
टेप पीडादायी र हिंसात्मक भएको यस टेपको पूरा विवरण आफूलाई प्राप्त भएको ट्रम्पले अमेरिकी टेलिभिजन “फक्स न्यूज”लाई दिएको एक अन्तर्वार्तामा बताएका छन्।
प्रत्यक्ष रुपमा सो टेप नसुने पनि आफूलाई पूरा विवरण प्राप्त भएको उनले बताएका छन्। आगामी दुई दिनमा ट्रम्प प्रशासनले पूरा प्रतिवेदन दिने अर्थात् हत्यामा कसैको प्रत्यक्ष सहभागिता रहेको सो प्रष्ट गरिने ट्रम्पले शनिबार बताएका थिए।
साउदी पत्रकार खशोग्जीको हत्याको विषयमा अमेरिकी अनुसन्धानका विवरणहरू बाहिर आइरहेका छन्। अमेरिकी गुप्तचर निकाय सिआईएको निष्कर्षमा पत्रकार खशोग्जीको हत्या गर्ने निर्देशन साउदी युवराज मोहम्मद बिन सलमान आफैँले दिएका थिए भन्ने विवरण बाहिर आइसकेको छ।
तर ट्रम्पले ती विवरणहरू अपुष्ट भएको बताउँदै आफ्नो देशको एक प्रमुख मित्र साउदी अरेबियालाई गुमाउने पक्षमा नरहेको स्पष्ट गरे। साउदी अरेबियाले खशोग्जीको हत्यामा आफ्ना युवराजको कुनै भूमिका नरहेको बताउँदै आएको छ।
खशोग्जी एक चर्चित पत्रकार थिए। उनले अफगानिस्तानमा सोभियत संघको अतिक्रमणदेखि ओसामा बिन लादेनको उदयसम्मका विषयमा कैयौँ साउदी समाचार संस्थाका लागि समाचार लेखेका थिए।
दशकौँसम्म खशोग्जी साउदी राजपरिवारको निकट रहनु भएको र सरकारको सल्लाहकारका रूपमा पनि उनले काम गरेका थिए। तर पछि उनले राजपरिवारको विश्वास गुमाएका थिए। गत वर्ष उनी अमेरिकामा निर्वासनमा गएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४