बुधबार, मंसिर १२, २०८१

सन्दर्भ: निजामती कर्मचारी दिवस
Siddartha premir insuranceSiddartha premir insurance

कर्मचारी कस्ता-कस्ता ?

काम गर्ने तौरतरिकाको आधारमा हेर्ने हो भने निजामती कर्मचारी तीन किसिमका छन्।
 |  शुक्रबार, भदौ २२, २०८०
nespernesper

जीवनप्रभा लामा

जीवनप्रभा लामा

शुक्रबार, भदौ २२, २०८०

हालैको घटना हो। कमलादीस्थित काठमाडौं महानगरपालिकाको कार्यालयमा एक वृद्ध महिला लौरो टेक्दै आइपुगिन्। उनी जानुपर्ने दोस्रो तलामा रहेछ। लिफ्ट नचलेकोले उनलाई माथि पुग्न सकस भयो। मैले डोर्‍याएर पुर्‍याइदिएँ। माथि जानुअघि उनले 'सहायता कक्ष' लेखेको साइन बोर्ड उल्टो फर्काइदिइन्। किन त्यसो गरेको भन्दा 'कर्मचारीले सोधेको कुरा राम्रोसँग भनिदिँदैनन्, सेवाग्राहीसँग राम्रो व्यवहार गर्दैनन्, सहायता कक्षमात्रै राखेर के काम' भन्ने गुनासो उनको थियो।

triton college

सरकारी कर्मचारीलाई हेर्ने आम सर्वसाधारणको नजरिया कस्तो छ भन्ने एउटा उदाहरण हो यो। २० औं निजामती कर्मचारी दिवस मनाइरहँदा आफ्नो करिब २५ वर्षे कर्मचारी जीवनका केही अनुभव साट्न मन लाग्यो। २०१३ सालमा निजामती सेवा ऐन र नियमावली जारी भएपछि निजामती सेवाले कानुनी आधार र आकारमा अगाडि बढ्ने अवसर प्राप्त गरेको हो। निजामती कर्मचारी दिवस भने २०६१ सालदेखि पूर्व मुख्यसचिव विमल कोइरालाको कार्यकालमा मनाउन सुरु गरिएको हो।

साढे तीन दशकको सेवा अवधिमा मैले थुप्रै किसिमका कर्मचारी देखें र काम गर्ने अवसर पाएँ। कर्मचारीको काम गर्ने तरिका आ-आफ्नै किसिमको हुन्छ। एउटा सामान्य घटना सम्झन्छु। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका एक कर्मचारीले उद्योग स्थापनाको एउटा फाइल अघि बढाउन ढिला गरेका रहेछन्। उनले कामै नगरेका होइनन्, तर 'हेर्नुपर्छ' भनेर राखेका रहेछन्। उद्योगको पुँजी ठूलै परिमाणमा रहेछ। किन रोकेका रहेछन् भनेर बुझ्दा त 'यति धेरै पैसा यसले कहाँबाट ल्यायो, केही गडबड छ' भन्ने लागेको रहेछ उनलाई। जबकि त्यो उनको सरोकारको विषय थिएन। उद्योग खोल्नका लागि सहजीकरण गर्नुपर्नेमा उनले त्यत्तिकै रोकेर राखेका रहेछन्।

विभागमै अर्का एक कर्मचारी थिए असाध्यै दक्ष, निर्णय गर्न सक्ने क्षमता भएका। तर, सेवाग्राहीमैत्री थिएनन्। उनी आफू बस्ने कुर्सीमा नबसेर सोफामा पत्रिका पढेर बस्ने अनि सेवाग्राही आएर सोधे 'उहाँ त हुनुहुन्न, म पनि उहाँलाई नै पर्खिराखेको छु' भन्दा रहेछन्।

स्थायी सरकार भनिने कर्मचारीतन्त्रको गुण-दोष केलाउने हो भने सकारात्मकभन्दा नकारात्मक सूची लामो हुन्छ। यसको अर्थ सबै कर्मचारी यस्तै हुन्छन् भन्ने होइन। धेरैजसो कर्मचारी त कर्तव्य पालनामा सजग, अप्ठ्यारो समयमा पनि काम गर्न तत्पर र सेवाग्राहीमैत्री पनि हुन्छन्।

Metro Mart
vianet

म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा महानिर्देशक हुँदाकै कुरा हो। विभागका सेवाग्राही आम सर्वसाधारणमात्र नभएर सरकारी कार्यालय पनि हुन्थे। तिहारको समय थियो। भोलिपल्टदेखि सरकारी बिदा थियो। ललितपुरबाट मिठाइ पसलहरु अनुमगन गरेर नमुना विश्लेषणका लागि ल्याइएको रहेछ। ५० वटा नमुना ल्याइएको थियो। साँझको ५ बज्न लागिसकेको थियो, म र अर्का एक कर्मचारीमात्र अफिसबाट निस्किन पाएका थिएनौं।

कर्मचारीहरु बिदा लिएर गइसकेका थिए। नमुना विश्लेषण कसरी गर्ने भनेर द्विविधामा परें। एकजना महिला असाध्यै मेहनति र काममा निकै संवेदनशील पनि हुनुहुन्थ्यो। घर पनि नजिकै। उहाँलाई फोन गरेर सहयोग मागें। उहाँ चाडबाडको वास्ता नगरी, कुनै गुनासो नगरी आउनुभयो र  नमुना विश्लेषणको काम गर्नुभयो। हामी दुई जना सिनियर कर्मचारी बसेर उहाँलाई सहयोग गर्यौं र रिपोर्ट तयार गर्यौं। नमुना लिएर आउने प्रहरीहरुले 'भोलि नै परीक्षण प्रतिवेदन ल्याउनु भन्नुभएको छ, आँखैले हेरेर रिपोर्ट बनाइदिनुस्' भनेर पनि दबाब दिनुभएको थियो तर हामीले गैरजिम्मेवार हुन मिल्दैनथ्यो। जनताको स्वास्थ्यको कुरा थियो।

अर्को घटना। भूकम्पभन्दा अगाडिको कुरा हो। काम विशेषले म बेलुका साढे आठ बजेसम्म अफिसमै थिएँ। घर पुग्दा लगभग नौ बजेको थियो। खाना खानमात्रै के लागेकी थिएँ, मुख्यसचिवको फोन आयो। 'सिन्धुपाल्चोकमा ठूलो पहिरो गयो। खानलाई केही छैन। खाद्य संस्थानबाट केही चामल आउँदैछ। त्यो चामल वितरण गर्न हुन्छ कि हुँदैन, मलाई अहिले नै रिपोर्ट चाहियो,' उहाँले निर्देशन दिनुभयो। निजामती कर्मचारीको सबैभन्दा उच्च तहको निर्देशन थियो त्यो। निर्देशन त आयो तर मैले नमुना हेर्ने पनि होइन, रिपोर्टमा हस्ताक्षर गर्न पनि मिल्दैन। त्यसको आफ्नै प्रक्रिया हुन्छ। निश्चित व्यक्तिलाई यसको जिम्मेवारी दिइएको छ। तर म कार्यालय प्रमुख थिएँ। मुख्यसचिवको निर्देशन कार्यान्वयन गर्नु मेरो कर्तव्य थियो।

त्यसपछि मैले दुईजना कर्मचारीलाई बोलाएँ र आफू पनि गएँ। हामी अफिस पुग्दा रातिको १० बजिसकेको थियो। ११ बजेसम्म पर्खिंदा पनि नमुना आइपुगेन। पानी दर्किराखेको थियो। बल्लतल्ल पौने १२ बजेतिर चामलको नमुना आइपुग्यो। आँखाले हेर्दा चामलको गुणस्तर राम्रै लाग्यो। 'मुख्य सचिवज्यू, चामल हेर्दा त राम्रै देखिन्छ' भनेर फोन गरिहालें। सँगै ल्याब टेस्टमा पनि पठाइयो। भोलिपल्ट बिहान हेर्दा केही नमुना न्यून गुणस्तरको पाइयो। उज्यालोमा हेर्दा चिल्सा, कीराहरु भेटियो। कहिलेकाहीँ काम गर्ने सिलसिलामा चाँडै निर्णय पनि गर्नु हुँदैन कि भन्ने कुरा त्यो घटनाले सिकायो।

०००
काम गर्ने तौरतरिकाको आधारमा हेर्ने हो भने निजामती कर्मचारी तीन किसिमका छन्।

पहिलो- कम्फर्ट जोनमा बसेर सजिलोसँग काम गर्न रुचाउने साधारण कर्मचारी। समयमा कार्यालय आउने, समयमा निस्किने, तोकिएको काम गर्ने कर्मचारी यो वर्गमा पर्छन्। यस्ता कर्मचारी सुविधा भएको ठाउँ अर्थात् सुगममा काम गर्न रुचाउँछन्। पाएको सेवासुविधा उपभोग गर्ने अनि गुनासो पनि गरिराख्ने कर्मचारी हुन् यी। धेरैजसो कर्मचारी यही वर्गमा पर्छन्।

दोस्रो वर्गमा पर्छन् अलि प्रो-एक्टिभ र इनोभेटिभ कर्मचारी। योजना बनाएर काम गर्ने, टिम वर्क मन पराउने, सेवाग्राहीलाई प्राथमिकता दिने स्वाभाव यस्ता कर्मचारीको हुन्छ।

तेस्रो वर्गमा पर्छन् अब्बल कर्मचारी। नेतृत्व लिन सक्ने, क्षमतावान, उर्जाशील, निष्ठावान कर्मचारी यो वर्गमा पर्छन्। यी कर्मचारी जागिरे मानसिकताका हुँदैनन्। जुनसुकै समयमा जस्तोसुकै काम गर्न तत्पर हुन्छन्। दिएको जिम्मेवारी समयमै पूरा गर्ने, सेवासुविधामा धेरै गुनासो नगर्ने, टिम बनाउने र त्यसको नेतृत्व लिने प्रवृत्ति यस्ता कर्मचारीको हुन्छ। यस्ता कर्मचारी निकै कम छन्।

०००

पटक-पटकको राजनीतिक परिवर्तनपछि पनि जनताले सेवा प्रवाहमा परिवर्तनको अनुभूति गर्न पाएका छैनन्। कर्मचारी आफैं पनि काममा उत्प्रेरित छैनन्। राम्रो गरौं भन्ने मनसाय भएकाहरू पनि आन्तरिक समस्याको जन्जाल र सबै कर्मचारी खराब हुन्छन् भन्ने आम धारणासँग जुधिरहेका छन्। निजामती कर्मचारी हुनु भाग्यको कुरा हो। जागिर पनि खान पाइने सेवा पनि गर्न पाइने। तर किन धेरैलाई यस्तो लाग्दैन, छक्क पर्छु।

पहिले निजामती कर्मचारीलाई पोशाक दिने चलन थिएन। पछि पोशाक तोकियो र त्यसका लागि वार्षिक एकमुष्ठ रकम दिन थालियो। त्योभन्दा अघि पनि मैलेचाहिँ पोशाकमा ध्यान दिन आग्रह गर्थें। सेवाग्राही बढी आउने कार्यालयमा कर्मचारीको व्यक्तित्व पनि महत्वपूर्ण हुन्छ। खाना मिठो बनाएको छ तर पस्किँदा आकर्षक तरिकाले नपस्किएको जस्तै हो यो भनेको। केही कुरा त वर्जित नै गरेको थिएँ मैले। जिन्स लगाएर नआउनु, चप्पलमा नआउनु भन्थें। पोशाकको व्यवस्था भएपछि मलाई त निकै सजिलो भयो।

एकपल्ट म कामको सिलसिलामा बाहिर गएको बेला सतर्कता केन्द्र आएछ। सतर्कताले हाजिरी, पोशाक सबै अनुगमन गर्छ। कोही कर्मचारी जति भने पनि नटेर्ने प्रवृत्तिका पनि थिए। उनीहरु तोकिएको पोशाक नलगाई आएका रहेछन्। सतर्कताको छड्के आएपछि पालैपालो पोशाक लगाउँदै हाजिर गरेछन्। त्यसरी कार्यालयको छवि बचेछ। पछि मैले उनीहरुलाई सम्झाएँ।

एकपल्ट बिदाको दिन कार्यालयमा तास खेलेको पनि भेट्टाएको थिएँ। शनिबार हाकिम आउँदैनन् भनेर यस्तो गर्ने प्रवृत्ति केही कर्मचारीमा अहिले पनि छ। सधैं एकै किसिमको काम, एउटै रुटिनले दिक्क पनि बनाउँछ, त्यसैले बेला-बेलामा रिफ्रेसमेन्ट पनि चाहिन्छ भन्ने महसुस भयो मलाई पनि। त्यसपछि बेला-बेला पिकनिक जाने, अन्य जमघटहरु गरेर रमाइलो गर्ने काम सुरु गरेकी थिएँ।

सरकारले उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई पुरस्कृत पनि गर्ने गरेको छ। तर यसमा पनि के विकृति छ भने राम्रो काम गर्नेभन्दा हाकिम रिझाउने, चाकडी गर्ने कर्मचारी पुरस्कृत हुन्छन्, राम्रो काम गर्ने सिफारिसमै पर्दैनन्। सिफारिसमा परिहाले पनि उसका लागि बोलिदिने मान्छे नहुँदा पुरस्कारबाट वञ्चित हुन्छन्।

सरकारी कर्मचारीलाई गैरसरकारी स्तरबाट पनि पुरस्कृत गर्ने काम भइरहेको छ। एकाउन्टिबिलिटी ल्याब नेपालले सार्वजनिक प्रशासनको क्षेत्रमा काम गर्दै आएका कर्मचारीको कामको मूल्यांकनका आधारमा उत्कृष्ट पाँच कर्मचारीलाई इन्टेग्रिटी आइकन घोषणा गर्दै आएको छ। मैले पनि यसको निर्णायक मण्डलमा बसेर काम गर्ने मौका पाएकी छु। सेवानिवृत्त भएर कर्मचारीको मूल्यांकन गर्ने ठाउँमा पुगेपछि थाहा भयो- साँच्चै इमान्दार भएर जनताको सेवककै रुपमा काम गर्ने कर्मचारी पनि कति धेरै रहेछन्।

इन्टेग्रिटी आइकनका लागि नोमिनेसन आएपछि एक वर्ष लगाएर कर्मचारीका सेवाग्राहीसँग, सहकर्मीसँग, सिनियर-जुनियरसँग, परिवारसँग, छिमेकीसँग कुराकानी गरेर स्क्रिनिङ गर्दै अन्तिममा पाँच जना छनोट गरिन्छ। इनोभेटिभ काम गर्ने, सेवाग्राहीप्रति उत्तरदायी भएर सजिलै सेवासुविधा दिने, आफूले गर्नुपर्ने काम इमानदारीपूर्वक गर्ने जनसेवक नोमिनेट भएर आउँछन्। त्यसपछि संस्थाले उनीहरुको कामलाई नजिकबाट मूल्यांकन गर्छ र पुरस्कारका लागि छनोट गर्छ। यसलाई सरकारले पनि अपनत्व ग्रहण गरेर अगाडि बढाउन सके कर्मचारीलाई थप प्रोत्साहन मिल्ने थियो। नेपालले इनोभेट गरेको यो काम अहिले १५ वटा देशले गरिरहेका छन्। कतिपय देशमा सरकारसँगै सहकार्य छ भने कतिपयमा ट्रान्सपरेन्सी इन्टरनेशनलजस्ता संस्थाहरुसँगको सहकार्यमा भइरहेको छ।

०००

आम नागरिकको बढ्दो चेतना स्तर र सञ्चारमाध्यमको बढ्दो निगरानीबीच परिवर्तित समयको मागअनुसार कर्मचारीतन्त्रले आफूलाई सुधार्नुको विकल्प अब छैन। केही सुधारहरु देखिएका पनि छन्। समावेशिताले निजामती सेवामा विविधता ल्याएको छ। महिलालगायत विभिन्न सीमान्तकृत समूहको सहभागिता विस्तार भएको छ। फरक कार्यशैलीको सुरूवात भएको छ। फरक सोच, फरक क्षमता र फरक विशेषताको सम्मिश्रणले समग्र निजामती सेवाको ओज बढ्दै गएको छ।

प्रविधि र सामाजिक सञ्जालको बढ्दो प्रयोगले सेवाग्राही लाभान्वित भएका छन्। केही समय अघिसम्म सरकारी कार्यालय सूचना-प्रविधिमा निकै पछाडि थिए। अधिकांश कर्मचारी कम्प्युटर अपरेटरबिना काम गर्नै सक्दैनथे। अहिले अवस्था फेरिएको छ। सूचना-प्रविधिसँग अभ्यस्त युवाको बढ्दो प्रवेशले सरकारी कामकारबाही चुस्त र छरितो हुँदै गएको छ। यसले सेवा प्रवाह, पारदर्शिता र जवाफदेहितामा महत्त्वपूर्ण भूमिका खेलेको छ।

अधिकांश कर्मचारी सामाजिक सञ्जालमा जोडिएका छन्। ट्विटर, फेसबुकलगायत सामाजिक सञ्जालमा प्रकट हुने निराशा, प्रतिक्रिया र जनताको अपेक्षाबारे उनीहरू अवगत छन् र यसले उनीहरूलाई जनताको भावना र अपेक्षाप्रति संवेदनशील र सजग बनाउन बल पुगेको छ।

निजामती सेवामा फरक तरिकाले सोच्ने र काम गर्ने सक्षम युवा वर्गको प्रवेश बढ्दो छ। पछिल्ला वर्षहरूमा विश्व परिवेशको ज्ञान, सोच र केही गरौं भन्ने हुटहुटी भएका युवा कर्मचारी देख्न सकिन्छ। अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट शिक्षा लिएका युवाको प्रवेश पनि निजामती सेवामा बढेको छ। सरकारी सेवाबाटै छात्रवृत्तिमा अन्तर्राष्ट्रिय विश्वविद्यालय पढ्न गएका युवा कर्मचारी पनि छन्। यी सबै कुराहरुले गर्दा नेपालको निजामती सेवाको साख बढ्ने र गर्व गर्न लायकको हुने अपेक्षा गर्न सकिन्छ।
- लामा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी पूर्व महानिर्देशक हुन्।

प्रकाशित: Sep 08, 2023| 07:07 शुक्रबार, भदौ २२, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कानुन बने चल्छ मोटरबोट व्यवसाय

कानुन बने चल्छ मोटरबोट व्यवसाय

पर्यटन क्षेत्रलाई चलायमान बनाउन र आर्थिक गतिविधि बढाउनका लागि महत्वपूर्ण भूमिका खेलेको मोटरबोट व्यवसाय भने आफैँ कानुनको पर्खाइमा छ। स्पष्ट कानुन नहुँदा यसको दर्तादेखि सञ्चालन...
भूगर्भमै सीमित बागलुङका तामाखानी

भूगर्भमै सीमित बागलुङका तामाखानी

दशकौं अगाडि त्यस क्षेत्रका स्थानीय तामाखानीबाटै आत्मनिर्भर भए पनि अहिले पूर्णरुपमा खानी बन्द छन्।