काठमाडौं- संस्कृत भन्नेबित्तिकै धेरैको सोचाइ छ- यो मृत भाषा हो र यो कर्मकाण्डी भाषा हो । तर संस्कृत अधिकांश भाषाको जननी हो, अमेरिकी अन्तरिक्ष संस्था नासाका अनुसार संसारकै स्पष्ट भाषा हो, जर्मनीको १४ विश्वविद्यालयमा संस्कृत भाषाको अध्ययनअध्यापन हुन्छ, यस भाषाको शब्दकोशमा १०२ अर्ब ७८ करोड ५० लाख शब्द छन् भन्ने जानकारी थोरैलाई मात्र हुनुपर्छ । एउटा हात्तीलाई जनाउन मात्रै एक सयवटाभन्दा बढी शब्दहरू रहेबाट पनि यो भाषामा अथाह शब्द रहेको पुष्टि हुन्छ ।
पछिल्लो समयमा नेपालमा संस्कृत भाषाको पठनपाठन घट्दै गए पनि विदेशमा यसतर्फ आकर्षण बढिरहेको छ । खासगरी युरोप र अमेरिकी मुलुकका विद्वान्हरूले यस भाषा र तिनमा रहेका ज्ञानप्रति देखाएको अभिरुचिले संस्कृत सबैले जान्नुपर्छ भन्ने सन्देश दिएको छ । क्याम्ब्रिज युनिभर्सिटीका ब्रिटिस विद्वान् नर्मन डाँ भन्छन्, ‘आयुर्वेदको मूल नै संस्कृत हो । अहिले यसबारे गहन अनुसन्धान भइरहेको छ । वेद, भागवत् गीतामा उल्लिखित कतिपय सन्दर्भहरू वैज्ञानिक रूपमा सूक्ष्म अनुसन्धान हुन जरुरी छ ।’ उनले संस्कृत फेसनका रूपमा नभई गहन र गम्भीर अध्ययन भएमात्र सहज हुने बताए ।
सेन्ट जेम्स विद्यालयमा संस्कृत विषयको अध्यापन गराउँदै आएकी विदुषी हेलेन हार्परले बेलायतका ५० भन्दा विद्यालयमा संस्कृत पठनपाठन भइरहेको जानकारी दिइन् । संस्कृत भाषा अध्ययनमा विद्यार्थी आकर्षण भइरहे पनि पढाउने शिक्षाकको कमी रहेको उनको अनुभव छ ।
संस्कृतभित्रको ज्ञानलाई विश्वव्यापीकरण गर्ने अवधारणासहित क्याम्ब्रिज युनिभर्सिटीले विश्वका सयभन्दा बढी देशमा एउटै विषय संस्कृत र अंग्रेजी भाषामा पठनपाठन गराउँदै आएको छ । युनिभर्सिटीका पाठ्यक्रम नेपालका गुरुकुलहरूमा पनि पठनपाठन भइरहेको छ । हाल देवघाट, पोखरा, काठमाडौंको उत्तरबाहिनी गुरुकुल, काभ्रेको जनागाल गुरुकुल, हिन्दु विद्यापीठ नेपाल, डिएभी सुशील केडिया स्कुलले क्याम्ब्रिजको पाठ्यक्रम पठनपाठन गरिरहेका छन् ।
देवघाट, पोखरा, काठमाडौंको उत्तरबाहिनी गुरुकुल, काभ्रेको जनागाल गुरुकुल, हिन्दु विद्यापीठ नेपाल, डिएभी सुशील केडिया स्कुलले क्याम्ब्रिजको पाठ्यक्रम पठनपाठन
जयतु संस्कृतम्, राष्ट्रिय गुरुकुल शिक्षा परिषद्, हिन्दु विद्यापीठ नेपाल र सनातन वैदिन ज्ञानविज्ञान केन्द्रले राजधानीमा आयोजना गरेको कार्यक्रममा क्याम्ब्रिज सेन्ट जेम्सका नर्मन डाँ र हेलेन हार्परले पश्चिमी देशमा संस्कृत भाषाको प्रवद्र्धनका लागि भइरहेको प्रयासबारे आआफ्ना धारणा राखेका थिए ।
उनीहरूका अनुसार क्याम्ब्रिजअन्तर्गतका विद्यालयमा प्राथामिक तथा माध्यमिक तहका विद्यार्थीलाई संस्कृत भाषाको ज्ञानमा जोड दिने गरिएको छ । पञ्चतन्त्र, हितोपदेश, महाभारत, रामायणका कथा सुनाएर ती ग्रन्थका श्लोक वाचन गर्न सिकाउने गरिएको हार्परले बताइन् । त्यस्तै संस्कृतका श्लोक घोकाइमा भन्दा ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले पठनपाठन गराउँदै आएको जानकारी उनले दिइन् ।
कार्यक्रमको मुख्य अभिप्राय नेपालमा संस्कृत अध्ययन गराउने संस्थालाई अन्तर्राष्टिय स्तरसँग जोड्नु रहेको जयतु संस्कृतम्का महासचिव डा. नवराज कट्टेलले बताए । हिन्दु विद्यापीठका चिन्तामणि योगीका अनुसार यस वर्ष नेपालका १० वटा गुरुकुल विद्यार्थी क्याम्ब्रिजको परीक्षामा सहभागी हुनेछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४