जनकपुरधाम-नेपाली कांग्रेसका कार्यकर्ताहरुले गुटउपगुटको राजनीति बन्द गर्न शीर्ष नेताहरुलार्ई सुझाव दिएका छन् । केन्द्रीय नेताहरुबीच भइरहेको गुटगत राजनीतिका कारण पार्टीभित्र समस्या देखिएको भन्दै कार्यकर्ताहरुले एकजुट भएर अगाडी बढ्न आग्रह गरेका छन् ।
आगामी महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रस्तावको मस्यौदा सम्बन्धमा सुझाव संकलनका लागि आइतबार जनकपुरमा आयोजना गरिएको प्रदेश स्तरीय कार्यशाला गोष्ठीमा कार्यकर्ताहरुले यस्ता सुझाव दिएका हुन् ।
पार्टीभित्रको गुटबन्दीका कारण निर्णय प्रक्रियाहरु अगाडी बढ्न नसकेको अवस्थामा केन्द्रका नेताहरुले आफ्ना कमजोरी सुधार गर्नुपर्ने अहिलेको आवश्यक्ता रहेको उनीहरुको सुझाव थियो ।
प्रदेश २ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, सांसद, पूर्व सांसद, स्थानीय तहका प्रमुख, महासमिति तथा महाधिवेशन प्रतिनिधि, जिल्ला सभापतिसहित करिब तीन सयको सहभागितामा सम्पन्न गोष्ठीमा विभिन्न चार समूह बनाएर सुझाव लिइएको थियो ।
‘नेता कार्यकर्ताहरुको धेरै जोड पार्टी भित्रको गुटबन्दी अंत्य गर्नतर्फ देखियो,’ गोष्ठीमा सहभागी नेपाली कांग्रेसका नेता नेपाल समयलाई भने,‘विपक्षीसँग सामना गर्न हामी तयार छौं । तर केन्द्रीय नेताहरुले गुटबन्दी अन्त्य गर्नु पर्यो । उहाँहरुले सुझाव दिनु भएको छ ।’
तीन तहका निर्वाचनमा नेपाली कांग्रेसले पराजय हुनु परेपनि आफूहरु निराश नरहेको भन्दै सहभागीहरुले शीर्ष नेताहरु सच्चिए सुधार गर्ने पर्याप्त संभावना रहेको बताएका छन्। केन्द्रीय सरकारको पछिल्लो गतिविधि अधिनायकवादतर्फ उन्मुख भइरहेपनि पार्टी नेतृत्व सशक्त रुपमा प्रतिवाद गर्न नसकेको उनीहरुले गुनासा पोखेका छन् ।
‘सरकारको गलत गतिविधिको विरोध गर्ने प्रयास भइरहेको छ, तर जनताको अपेक्षा अनुसार विरोध हुन नसक्दा कांग्रेस कमजोर प्रतिपक्षको रुपमा देखिएको छ,’ सहभागीहरुको भनाइ उदृत गर्दै विरहीले भने,‘ एकजुट भएर पार्टी अगाडी बढ्नु पर्ने प्रदेश २ का नेता कार्यकर्ताहरुको भावना देखिएको छ ।’
संघीय सरकारले प्रदेश तथा स्थानीय सरकारलाई हेला गरिरहेको भन्दै पार्टीले यसको कडा रुपमा विरोध गर्नुपर्ने सहभागीहरुले सुझाव दिएका छन् । नेपाली कांग्रेसले संविधान कार्यान्वयनको स्वामित्व ग्रहण गर्दै गम्भीर छलफलका साथ संविधान संशोधनतर्फ समेत ध्यान दिनुपर्ने खाँचो रहेको उनीहरुले बताएका छन् । प्रदेश २ को भेलामा सन्तुलित र यथार्थवादी सुझावहरु आएको विरहीले बताए ।
भेलामा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आउने बताइएपनि उनी अनुपस्थित थिए । केन्द्रीय सदस्य डा.डिला संग्रौलाका प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रदेश २ का ८ जिल्ला मध्ये ६ जिल्लाका पार्टी सभापतिहरुको सहभागिता रहेको थियो । भेलामा सर्लाही र पर्सा जिल्ला सभापति अनुपस्थित थिए । मध्यान्ह १२ बजे शुरु भएको कायक्रम साँझ ६ बजे सम्म चलेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४