काठमाडौं-दसैं, तिहार, छठ वा अन्य चलनचल्तीका पर्वमा सरकारी बिदा दिने परम्परा त थाहा भएको हो । तर नेपालमा पहिलोपटक हरिबोधनी एकादशीका अवसरमा सरकारी बिदा घोषणा भएको छ । केही समयपहिले २ नं प्रदेश सरकारले घोषणा गरेको सरकारी बिदा विवादमा परेको थियो। प्रदेश सरकारले बिदा घोषणा गरे पनि केन्द्र सरकारसँग अबाद्ध भएका कार्यालयहरुले बिदा दिएका थिएनन् । तर राजधानीको एक नगरपालिकाका प्रमुखले हरिबोधनी एकादशीमा नगरपालिकाभित्र सरकारी बिदा घोाषणा गरेका छन् ।
चाँगुनारायण नगरपालिकाले हरिबोधनी एकादशीमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरपालिकाले आफ्नो नगरक्षेत्रभित्रका सरकारी कार्यालय, स्वास्थ्य संस्थाहरु, सहकारी, शैक्षिक संस्थालगायतलाई सार्वजनिक बिदाको निर्णय गरेको चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए ।
विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर चार नारायणमध्येको जेठो नारायण भएको र हरिबोधनी एकादशीमा चाँगुनारायणको महत्त्व बढिरहेको भन्दै नगरपालिकाले सार्वजनिक बिदा दिएको नगर प्रमुख मिश्रले बताए । हरिबोधनी एकादशीमा चाँगुनारायण मन्दिरमा ठूलो मेला लाग्छ ।
ठूलो एकादशीको अवसर पारी नगरपालिका प्रमुख मिश्रको नेतृत्वमा प्रदेशसभा सदस्य सरस्वती बाटीसहित टोलीले चाँगुनारायण मन्दिर परिसर अनुगमन गरेको छ । एकादशीको दिन ठूलो संख्यामा भक्तजनको आवागमन हुने उक्त स्थानको सरसफाइ, पार्किङ, भक्तजनका लागि आवश्यक स्वास्थ्य सेवा एवं सहज दर्शनको तयारीबारे टोलीले अनुगमन गरेको हो ।
दूधौलीमा पनि बिदा
हरिबोधनी एकादशी तथा तुलसी विवाहको दिन यही मङ्सिर ३ गते दूधौली नगरपालिकाले पनि सार्वजनिक बिदा दिएको छ । उक्त नगरपालिकामा दनुवार समुदायको बाहुल्यता रहेको र सो समुदायले यस दिनलाई हरिबोधनी अर्थात बड्की एकादशीका रुपमा विशेष पर्व मनाउने भएकाले सार्वजनिक बिदा दिइएको नगर प्रमुख धनश्याम राउतले जानकारी दिए ।
दनुवार समुदायले मात्र नभइ नगर क्षेत्रमा बसोवास गर्ने अन्य समुदायले पनि हरिबोधनी एकादशीलाई पर्वका रुपमा मनाउने गरेकाले बिदा दिइएको हो। नेपाल सरकारबाटै लोपन्मुख जातिमा सूचीकृत सो समुदायको धर्म जगेर्ना गर्नु स्थानीय सरकारको दायित्व भएको बताइएको छ । यसअघि दनुवार समुदायले हरिबोधनी एकादशीमा बिदाको माग गर्दै आएका थिए । स्थानीय सरकारले सार्वजनिक बिदा दिन पाउने प्रावधान भए पनि सिन्धुलीमा यो पहिलो बिदा हो ।
नगरपालिकामा बसोवास गर्ने बहुसङ्ख्यक आदिवासी दनुवार जातीको विशेष पर्व भएको र नगरकार्यपालिकाको बैठकबाट निर्णय गरी सार्वजनिक बिदा दिइएको प्रवक्ता रितेश राउतले जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४