जनकपुरधाम-भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ रामजानकी विवाहोत्सवमा जन्ती बनेर जनकपुर आउने भएका छन् ।
मुख्यमन्त्री आदित्यनाथ रामजानकी विवाहोत्सवमा साधुसन्तको टोलीसहित जनकपुर आउने कार्यक्रम छ । रामजानकी विवाहोत्सव २६ मंसिरमा हुँदैछ । उनी स्वयंवर कार्यक्रममा सहभागी भएर सोही दिन भारत फर्कनेछन् ।
यसअघि भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंह विवाहोत्सवमा जनकपुर आउने कार्यक्रम तय भए पनि उनले आफ्नो भ्रमण रद्द गरेका छन् । भारतका विभिन्न राज्यमा भइरहेको विधानसभा निर्वाचन र आगामी लोकसभा निर्वाचनको प्रचारमा व्यस्त भएका कारण गृहमन्त्री सिंहको जनकपुर भ्रमण रद्द भएको बताइएको छ ।
भारतीय राजदूत मञ्जिवसिंह पुरीले विवाहोत्सवमा उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ मात्र सहभागी हुने जानकारी गराइसकेका छन् । शुक्रबार जनकपुर पुगेका राजदूत पुरी विवाहोत्सवमा उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ आउने जानकारी गराएको जानकी मन्दिरका छोटे महन्त रामरोशन दासले बताए । राजदूत पुरीले गृहमन्त्री सिंहले जनकपुर भ्रमण रद्द भएको जानकारी गराएको दासको भनाइ छ ।
यसअघि रामजानकी विवाहोत्सवको मौका पारेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने चर्चा चलेको थियो । आफ्नो जनकपुर भ्रमणका क्रममा जयनगर–जनकपुर रेल हस्तान्तरण गरी मोदीले उद्घाटन गर्ने बताइएको थियो ।
आदित्यनाथलाई स्वागत गर्न आतुर
रामजानकी विवाहोत्सवमा उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ जनकपुर आउने निश्चित भएपछि जनकपुरधाममा तयारी तीव्र पारिएको छ । विवाहोत्सव भव्यतापूर्वक सफल बनाउन गृहकार्य थालिएको छोटे महन्त दासले बताए ।
उनले उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई स्वागत गर्न आतुर रहेको बताए । दासका अनुसार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आदित्यनाथलाई स्वागत गर्ने कार्यक्रम छ ।
रामजानकी विवाहोत्सवमा हरेक पाँच वर्षपछि अयोध्याबाट औपचारिक रुपमा जन्ती जनकपुर आउने गरेको छ । २०६१ सालमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको पहलमा प्रथम पटक अयोध्याबाट औपचारिक रुपमा जन्ती आउने परम्परा सुरु भएको दासले बताए ।
पहिलोपटक जन्ती आएको बेला नेपाल सरकारले विवाहोत्सव मनाउन साढे दुई करोड आर्थिक सहयोग गरेको थियो । यसपछि पहिलो पटक विवाहोत्सवमा प्रदेश सरकारले ५० लाख आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
लाखौं श्रद्धालु सहभागी हुने विवाहोत्सव जस्तो धार्मिक कार्यक्रम आयोजना गर्न ५० लाख रकम ज्यादै न्यून रहेको छोटे महन्त दास बताउँछन् । विवाहोत्सवलाई राष्ट्रिय पर्वको रुपमा मनाउन सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।
रेल हस्तान्तरणको सम्भावना टरेको छैन
भारतीय प्रधानमन्त्री मोदी र गृहमन्त्री सिंह दुबै जनकपुर नआउने भएपछि नवनिर्मित ब्रोडगेजमा सञ्चालन गर्न रेल हस्तान्तरणको सम्भावना अझै नटरेको साइट इन्जिनियर विनोद ओझाले बताएका छन् ।
‘विवाहोत्सवमा रेल सञ्चालन गर्न समस्या छैन,’ नेपाल समयसँग कुरा गर्दै ओझाले भने, ‘रेल सञ्चालनको निश्चित मिति तय भइसकेको छैन् । तर, विवाहपञ्चमीको अवसर पारेर सञ्चालन गर्ने सोच बनाइँदैछ ।’
भारतसँग ‘वेट लिज’ मा लिएर रेल चलाउने तयारी भइरहेको र डिसेम्बर २०१८ भित्र रेल चल्ने ओझाले बताए । लिज अवधिभर प्राविधिक टोली भारतबाटै आउने र नेपाली कर्मचारी तालिम पाइसकेपछि उनीहरु फर्किने ओझाले जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४