काठमाडौं- अन्तराष्ट्रिय बजारमा नेपाली कफीको माग अत्यधिक भए पनि त्यसअनुसारको उत्पादन तथा बजारिकरण हुन सकेको छैन । पछिल्लो समय गरिएको एक अध्ययनले मुलुकमा अझै पनि ९६ प्रतिशत क्षेत्रफलमा कफी उत्पादनको सम्भावता भएतापनि खेती गर्न नसकिएको जनाएको छ ।
‘ईयू प्रोजेक्टः ट्रेड एण्ड प्राइभेट सेक्टर डेभ्लप्मेन्ट प्रोजेक्ट’को सहयोगमा बोर्डले यस वर्ष गरेको ‘ज्योग्राफीकल इन्डीकेशन सिस्टम (जीआईएस)मा आधारित अध्ययनबाट नेपालभर करिब ११ लाख ९८ हजार ५३५ हेक्टर क्षेत्रफलमा कफी खेती गर्न सकिने देखिन्छ ।
त्यसमध्ये ६१ हजार २२८ हेक्टर क्षेत्रफल कफी खेतीका लागि अति उत्तम देखिएको अध्ययनले जनाएको छ। अति उत्तम क्षेत्रलाई मात्र आधार मान्दा पनि करिब ४ प्रतिशत क्षेत्रमा मात्र अहिले कफी उत्पादन भइरहेको अध्ययनको निश्कर्ष छ।
कफीको गुणस्तरिया उत्पादन हुन नसक्नु, उत्पादनलाई बजारिकराण तथा व्यवसायीकरण गर्न नसक्नु, अन्तर्राष्ट्रिय बजारमा सम्बद्र्धन र प्रवद्र्धन गर्न नसक्नु लगायत कारणले सरोकारवलाहरुले स्वदेशी कफीको उत्पादन बढ्न नसकेको वताउछन्।
बोर्डकोअनुसार हाल कफीको कुल रोपण क्षेत्र दुई हजार ६५० हेक्टर मात्र रहेको छ।
बोर्डले मंसिर १ मा १४ औं राष्ट्रिय कफी दिवस मनाइरहदा आगामी दिनहरूमा स्थानिय तहरूलाई जिम्मेवार र प्राविधिक रूपमा सबल बनाएर हाल रोपण भई रहेको क्षेत्रलाई अझ व्यवसायिक र वृहत बनाउँदै नयाँ जिल्लाहरूको कफी खेती विस्तारलाई अभियानकै रूपमा अगाडी बढाउनु पर्ने बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले जनाएको छ ।
उनकाअनुसार उत्पादन र उत्पादकत्व वृद्धिसँगै नेपालको आफ्नै कफीलाई विशिष्टिकरण गर्न गुणस्तरमा थप सुधार गर्दै लैजानु पनि उतिकै आवश्यक छ। यसका लागि साना किसानहरूको संरक्षण गर्दै कफीमा पनि चिया क्षेत्रको जस्तै ठूलो लगानी आकर्षण गरी ‘इस्टेट फार्मिङ’ लाई जोड दिनु पर्ने देखिन्छ।
‘प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले पनि यहि कुरालाई ध्यानमा राखी गुल्मी, अर्घखाँची, प्युठान, पाल्पा र स्याङ्जा जिल्लाहरूका कफी सम्भावित क्षेत्रलाई सुपर जोनको रूपमा विकास गरी कफीमा व्यवसायिकता बढाउने प्रयास गरिएको छ,’ उनले भनेका छन् ‘साथै, यही पुस र माघ महिनामा बोर्डको आयोजनामा कफी इन्भेस्टमेन्ट फोरमको आयोजना गर्ने योजना बोर्डले अघि सारेको छ।’
उनकाअनुसार उक्त फोरमपछि नेपालका ठूला व्यवसायी र लगानीकर्ताहरूको नजर कफी क्षेत्रमा जाने र ठूला लगानीहरु कफीको उत्पादनतर्फ आकर्षित हुने सरकारले अपेक्षा गरकोे छ।
दश प्रतिशत बढ्यो उत्पादन
मुलुकमा दश प्रतिशतले ग्रीनबिन कफीको उत्पादन बढेको छ। गएको वर्षको तुलनामा यो वर्ष कफीको उत्पादन दश प्रतिशत बढेको हो।
बोर्डकोअनुसार पछिल्लो वर्ष देशभर जम्मा ५१३ टन कफी ग्रीन बिन उत्पादन भएको छ। गएको वर्ष सोही अबधिमा ४७७ टन मात्रै उत्पादन भएको थियो ।
बोर्डले विभिन्न जिल्लाहरूमा बोर्ड तथा तत्कालिन जिल्ला कृषि विकास कार्यालयहरू र गैरसरकारी संस्थाहरूबाट कफीको विस्तारका लागि सञ्चालन गरेको कफी विस्तार कार्यक्रमको प्रभाव स्वरूप कफी रोपण क्षेत्र विस्तार हुदा उत्पादन बढेको कार्यकारी निर्देशक गौतमको भनाइ छ।
उनकाअनुसार हाल कफीको कुल रोपण क्षेत्र २ हजार ६५० हेक्टर पुगेकोछ। विगत ४ वर्षदेखि कफी विस्तार कार्यक्रमले व्यापकता पाएकोले आगामी दिनहरूमा अझ कफीको उत्पादनमा थप वृद्धी हुने अपेक्षा गरिएको छ।
बढ्यो आन्तरिक खपत
भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार ९ करोड ३७ लाख २५ हजार रुपैयाँ बराबरको ८४.२२ टन कफी निर्यात भएको भने ६ करोड ५८ लाख ९१ हजार बराबरको १६३.३८ टन कफी आयात भएको छ।
गत वर्षको तुलनामा कफीको आयात करिब ६४ प्रतिशत बढ्दा निर्यात पनि करिब ११ प्रतिशत घटेको देखिन्छ। उत्पादन बढिरहँदा आयात बढ्नु तर निर्यात घट्नुले नेपालमा उत्पादित कफीको बजार नेपाल भित्रै बढ्दै गएको बोर्ड तथा कफी व्यवसायीहरुको बुझाइ छ।
सरोकारवलाहरुकाअनुसार देशभर क्याफे हाउसहरूको विस्तारले नेपाली कफीको लोकप्रियता बढ्दै गएको छ। उनीहरुले उत्पादनमा अझ वृद्धी गरी निर्यात समेत बढाउदै जानु पर्ने प्रमुख आवश्यकता छ।
कफीको मुल्य निर्धारण
गएको वर्ष झैं यस वर्ष पनि बोर्डले मंसिर १ गतेदेखि लागु हुने गरी कच्चा कफीको मूल्य निर्धारण गरेको छ। बोर्डका कार्यकारी निर्देशक गौतमकाअनुसार यस वर्ष फ्रेस चेरी कफी ग्रेड ‘ए’ अर्गानिक प्रमाणिकरण भएकोलाई प्रतिकिलो ८५ रुपैयाँ तोकेको छ । अर्गानिक प्रमाणिकरण नभएको ग्रेड ‘बी’ लाई प्रतिकिलो ८० रुपैयाँ तोकेको छ ।
त्यस्तै ड्राइ चेरी ग्रेड ‘ए’ को प्रतिकिलो १४०, ग्रेड ‘बी’को १०० र ग्रेड ‘सी’लाई प्रतिकिलो ४० रुपैयाँ निर्धारण गरेको छ। अर्गानिक प्रमाणिकरण भएको पार्चमेन्ट कफीको ग्रेड ‘ए’लाई प्रतिकिलो ४२५ र प्रमाणित नभएको ग्रेड ‘बी’को प्रतिकिलो ४१० रुपैयाँ बोर्डले निर्धारण गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४