शुक्रबार, साउन ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पार्टी कार्यालयमै सभापति देउवालाई नेविसंघले बाटो छेक्यो 

पार्टी कार्यालयमै सभापति देउवालाई नेविसंघले बाटो छेक्यो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन र कार्य समितिको कार्यकाल थपका विषयमा छलफल गर्न बोलाइएको केन्द्रीय समिति बैठकमा भाग लिन पार्टी कार्यालय सानेपा पुगेका सभापति शेरबहादुर देउवासहितका केन्द्रीय सदस्यहरूलाई विद्यार्थी नेताले ढोकामै रोकेका छन् । पार्टीका नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला निकट विद्यार्थी नेताले पार्टी नेतृत्वलाई खबरदारी गरेका हुन् । 

सभापति देउवालाई रोक्नेमा संघका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वपदाधिकारीहरू छन् । उनीहरूले सभापतिसमक्ष ‘टिके प्रथा चाहिँदैन’, ‘संघको वर्तमान कार्यसमितिको म्याद थप गर्ने काम नहोस्’ भन्दै खबरदारी गरेका छन् । 

सभापति देउवा मुख्यालयमा प्रवेश गर्नेबित्तिकै दीपक भट्टराई, मोती भण्डारी, अनिल खनाललगायतले टिकेप्रथाको विरोध गरेका छन् । यस्तै सुशील भट्ट, निरञ्जन थापालगायत संघको वर्तमान कार्यसमितिमा रहेका नेताले महाधिवेशनअघि संघलाई विघटन नगर्न चेतावनी दिएका छन् । वर्तमान कार्य समितिलाई नै तदर्थ समिति बनाएर महाधिवेशन मिति तोक्नुपर्ने माग उनीहरुको छ । भट्ट र थापा नेता कृष्ण सिटौला निकट मानिन्छन् भने भट्टराई, भण्डारी, खनाल पौडेल निकट मानिन्छन् । 



विद्यार्थी नेताहरूले उपसभापति विमलेन्द्र निधि, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्ण सिटौला, केन्द्रीय सदस्य गगन थापालाई पनि रोकेर नेविसंघमा टिके प्रथा अन्त्य गर्न माग गरेका थिए ।

नेपाली कांग्रेसका एक केन्द्रीय सदस्यले संघको वर्तमान समितिलाई तदर्थ समितिमा परिणत गरी महाधिवेशनमा जानुपर्ने बताए । उनले भने, ‘यही समितिलाई काम गर्न दिऊँ।  विधान बनाउनै बाँकी छ । विजय गच्छदार पक्षका मान्छेलाई समेट्न बाँकी छ ।’ स्ववियु चुनावपछि मात्र संघको महाधिवेशन गर्नुपर्ने उनले बताए । स्ववियु चुनाव फागुन अन्तिम वा चैत पहिलो साता हुन्छ ।
पार्टी नेता रामचन्द्र पौडेल भने आफू पक्षका नेताको संयोजकत्वमा तदर्थ समिति बनाउनुपर्ने पक्षमा रहेको ती केन्द्रीय सदस्यले जानकारी दिए ।

नैनसिंह महर नेतृत्वको नेपाल विद्यार्थी संघको दुईवर्षे कार्यकाल गत भदौ २ मा सकिएको थियो। पार्टीले तीन महिना कार्यकाल थप गरी ३ मंसिरसम्मको समयसीमा पुर्‍याएको थियो । संघको विधानअनुसार अब कार्यसमितिको म्याद थप्न मिल्दैन । तर विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतन्त्र कांग्रेसमा विलय भएपछिको अवस्थालाई आधार मानेर र पार्टीले विशेष राजनीतिक निर्णय गरी म्याद थप्न सक्नेछ । विद्यार्थी नेताहरू संघको विधान टुंगोमा पुर्‍याई तत्काल महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने पक्षमा छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।